‘कर्मचारी अभावका कारण काम प्रभावकारी भएन’



धनवीर दाहाल, रुकुम । कर्णाली प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बिमला के.सीले कर्णाली प्रदेशलाई समृद्ध बनाउनका लागी सरकार प्रतिबद्ध भएको बताउनुभएको छ ।

प्रदेश मन्त्रालयमा कर्मचारीको अभावका कारण प्रदेश सरकारले प्रभाकारी रुपमा काम अगाडि बढाउन नसकेको भएपनि सो समस्या तत्काल समाधान गरिने मन्त्री के.सीको भनाई छ ।

बुधबार रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा प्रेस चौतारी र प्रेस सेन्टर रुकुम पश्चिमले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री केसीले प्रदेशमा रहेका बिभिन्न मन्त्रालयहरुमा आवश्यक परेका कर्मचारीहरुको एक तिहाई पनि उपस्थिती नभएकोले कर्मचारी आपुर्तिका लागि केन्द्र सरकारसँग माग गरिएको जानकारी दिनुभयो । मन्त्री केसीले विभिन्न बिधेयकहरुको अभावका कारण पनि प्रदेश संसदले काम गर्न नसकेको गुनासो गर्नुभयो ।

प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कानुन निर्माण गर्न कानुन अधिकृत नहुदाँ पनि कानुनी जटिलता खड्किएको मन्त्री के.सीको भनाई छ । उहाँले संघीय व्यवस्थाको सुरुवाती चरणमा भएका कारण यतिबेला अभावका बिचबाट पनि काम गर्नै पर्ने बाध्य भएको बताउनुभयो । प्रदेश सभाको पहिलो बैठकबाट कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्रमा केन्द्रित रहेर २१ बुदेँ निर्णय समेत गरेर काम थालिएको बताउदै मन्त्री केसीले अगामी आर्थिक बर्षको बजेट असार १ गते नै आउने जानकारी दिनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा मन्त्री केसीका साथै कर्णली प्रदेश सभा सदस्यद्धय रातो कामी र देवी ओली तथा ५ नं प्रदेश सभा सदस्य आशा स्वर्णकारको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितीका संयोजक राजकुमार शर्मा, नेकपा एमालेका जिल्ला अध्यक्ष बिमलकुमार पुन, माओबादी केन्द्रका पोलिटव्युरो सदस्य बसन्त गौतम लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्