कामले गति नलिँदै कालोपत्रेको म्याद गुज्रियो



रामधन राई, खोटाङ
मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङ र भोजपुर जोड्ने दिक्तेल–चखेवा सडकखण्ड कालोपत्रको कामले गति नलिँदै सम्झौताको म्याद गुज्रिएको छ। जिल्ला सदरमुकाम दिक्तेल बजारदेखि भोजपुरसँगको सिमानामा पर्ने चखेवा भञ्ज्याङ सडक कालोपत्रेको कामले गति नलिँदै सम्झौता मिति सकिएको हो।

ठेकेदार कम्पनी रमण गोल्डेन गुड जेबीले एक अर्ब ९ करोड १९ लाखको लागतमा दुई वर्षभित्र कालोपत्रेको काम सम्पन्न गर्ने गरी २०७२ सालमा सडक विभागसँग सम्झौता गरेका थिए। ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण राष्ट्रिय गौरबको सडक कालोपत्रेको कामले तीव्रता लिन नसकेको स्थानीयको गुनासो छ।

सरकारले घरजग्गाको मुआब्जा दिने व्यवस्था नहुनका साथै दक्ष तथा सीपयुक्त जनशक्तिको अभाव, भूकम्पको प्रभावलगायतका समस्याले गर्दा कामलाई तीव्रता दिन नसकिएको निर्माण कम्पनीले जनाएको छ। टेलिफोन तथा विद्युत्को पोल नसारेको, सडक किनारका घर–टहरा नभत्काइदिएकाले काममा ढिलाइ भएको बताउने कम्पनीले कालोपत्रेको लागि आवश्यक गुणस्तरीय निर्माण सामग्री नपाइनाले पनि काममा अवरोध भएको जनाएका छन्। हाल सव बेसको काम भइरहेको सडक कालोपत्रे प्रक्रियाको लागि सबैखाले कामदारको अभाव रहेको कम्पनीका साइड इन्चार्ज साङगे शेर्पाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्