बैठकको एजेण्डा ? बर्थ डे !



‘बालुवाटार’ भन्ने वित्तिकै जो कोहीको मानसपटलमा मुलुकका प्रधानमन्त्री र उनको सरकारी निवास स्मरण हुन्छ। सो निवास छिर्ने सौभाग्य नपाए पनि धेरैलाई सो ठाउँ मुखाग्र छ। सञ्चार माध्यमले हरेक दिन जसो सो ठाउँको नाम दोहोर्याउने गरेपछि विर्सिने कुरा पनि भएन।

पार्टीको बैठक, अनेकथरि भेटघाट र अन्य धेरै काम कार्वाही त्यहिबाट हुने भएपछि बालुवाटार मुलुकको ‘हट स्पट’ भएको छ। अहिले त बर्थडे पनि त्यहिबाट मनाउने थालिएको छ। केही साता अघि प्रधानमन्त्री ओलीले त्यही केक काटेर आफ्नो वर्थडे मनाएका थिए। हिजो मंगलबार फेरी आफ्नै पार्टीका बरिष्ठ नेता नेपालको वर्थडे निकै तामझामका साथ मनाएको देखियो।

धरहराको दुरविन त्यता सोझ्याउँदा त ओली र नेपाल धमाधम केक पो काटिरहेका रहेछन्। पार्टी स्थायी कमिटिको बैठक अघि यी बरिष्ठद्धय त केटाकेटीले झै एक आपसमा केक पो खुवाउन थाले त। अर्का वरिष्ठ नेता खनाल पनि के कम, उनले पनि नेपाललाई फूलको बुके दिदै ‘ह्याप्पी बर्थडे कम्रेड’ भन्न भ्याए। अन्य नेताले पनि कम्रेडलाई आलोपालो ‘वर्थडे विस’ गदै केक खाएपछि मात्रै बैठक शुरू भयो।

बालुवाटारमा शुरू भएको खुशीयाली बाढ्ने यस्तो कल्चर जनताको घर दैलोमा चाहिँ कहिले शुरू हुने हो भन्ने धरहरालाई लाग्या छ। की जनताले चाहिँ त्यस्तो समाचार सुनेर हेरेर नै सँधै चित्त बुझाउनुपर्ने हो ? यो विषय छिटै स्थायी कमिटिको एजेण्डा पो बन्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्