मुसलमानविरुद्ध हिंसापछि श्रीलंकामा संकटकालको घोषणा



कोलोम्बो, (एजेन्सी)
श्रीलंकामा मस्जिद तथा मुसलमानहरूको पसलमा शृंखलाबद्ध आक्रमण भएपछि त्यहाँको मन्त्रिपरिषद्ले देशमा संकटकालको घोषणा गरेको छ।

कैंडी शहरका केही इलाकामा कफ्र्यु लगाएको छ। कैंडीमा बौद्ध धर्म मान्ने सिंहालीहरूले मुसलमानहरूको पसलहरूमा आक्रमण गरी आगजनी गरेको समाचार आएको थियो। एउटा जलेको भवनबाट एक मुस्लिमको लास बरामद भएपछि श्रीलंकामा प्रहरीले बदलाको कारबाही हुन सक्ने आशंका गरेको छ। एक हप्ताअगाडि ट्राफिक रेड लाइटमा झगडा भएको घटनालाई लिएर केही मुसलमानले बोद्ध युवकलाई कुटपिट गरेका थिए। त्यहीबेलादेखि बौद्ध र मुस्लिम समुदायबीच तनावको स्थिति बनेको हो।

गत हप्ता श्रीलंकाको पूर्वीशहर अमपारामा मुस्लिम विरोधी हिंसा भएको थियो। श्रीलंकामा सन् २०१२ देखि नै साम्प्रदायिक तनावको स्थिति बनेको छ। त्यहाँका कट्टरपन्थी बौद्ध संगठन (बीबीएस) उक्त तनाव फैलाउनमा जिम्मेवार मानिन्छ।

केही कट्टरपन्थी बौद्ध समूहले मुसलमानहरूमाथि जबरजस्ती धर्म परिवर्तन गराउने र बौद्ध मठलाई नोक्सान पुर्याएको आरोप लगाएका छन्। गत दुई महिनाभित्र गालमा मुसलमानहरूको स्वामित्वमा रहेका कम्पनी तथा मस्जिदहरूमा आक्रमणका २० भन्दा धेरै घटना भइसकेका छन्। सन् २०१४ मा कट्टरपन्थी बौद्ध गुटले तीन मुसलमानको हत्या गरेका थिए। त्यसपछि गालमा दंगा भड्केको थियो। सन् २०१३ मा राजधानी कोलम्बोमा बौद्ध गुरुहरूकै नेतृत्वमा एक भिडले एउटा लुगा पसलमा आक्रमण गरेको थियो। उक्त कपडाको पसल एक मुस्लिमको थियो र आक्रमणमा कम्तीमा ७ जना घाइते भएका थिए। श्रीलंकाको आवादी २ करोड १० रहेको छ र त्यसमा ७० प्रतिशत बौद्ध र ९ प्रतिशत मुसलमान रहेका छन्। सन् २००९ मा सेनाको हातबाट तमिल विद्रोहीको हारपछि श्रीलंकाका मुस्लिम समुदाय सत्ताबाट टाढै बसेका छन्।

तर हालैका वर्षमा मुस्लिम समुदायविरुद्ध धर्मको नाममा हिंसाका घटनाहरू बढेको छ। यस हिंसाका लागि बौद्ध गुरुहरूलाई जिम्मेवार ठहर्याइएको छ। बौद्ध धर्मलाई विश्वमा शान्ति र अहिंसाको प्रतीकका रूपमा हेर्ने गरिन्छ। अहिंसाप्रति बौद्ध मान्यताले उसलाई अन्य धर्मभन्दा फरक बनाएको छ। यद्यपि हालैका वर्षमा मुसलमानविरुद्ध बौद्धले हिंसाको सहारा लिनुलाई अनौठो मानिएको छ।

श्रीलंकामा मुसलमानहरूको मुस्लिम परम्पराअन्तर्गत मांसाहार वा पाल्तु पशुहरूको हत्या गर्नु बौद्ध समुदायका लागि एक विवादको मुद्दा रहेको छ। श्रीलंकामा कट्टरपन्थी बौद्धले बोडु बला सेना पनि राखेका छन्। यो सिंहाली बौद्ध राष्ट्रवादी संगठन हो। यो संगठनले मुलमानविरुद्ध जुलुस निकाल्ने गरेको छ।

उनीहरू मुसलमानविरुद्ध सीधै कारबाहीको कुरा गर्छन् र मुसलमानहरूले चलाएका कारोबारको बहिष्कार गर्न भनिरहेका हुन्छन्। उक्त संगठनलाई मुसलमानको बढ्दो आवादीलाई लिएर पनि गुनासो रहेको छ।

प्रतिक्रिया दिनुहोस्