“विगतको गल्ती दोहोर्याउँदैनौं” सुशासन र विकास अबका मुख्य एजेन्डा भएको नेताहरूको दाबी



गंगा बराल, काठमाडौं
राजनीतिक दलका प्रमुख नेताहरूले अब सुशासन र विकासमा आफूहरूको ध्यान केन्द्रित हुने बताएका छन्।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा दलका नेताहरूले विगतमा गरेका गल्ती र कमजोरीलाई सच्याएर नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, शेरबहादुर देउवा र पुष्पकमल दाहालले विगतमा जस्तै दलहरूबीच एकता र सहमति कायम हुनेमा जोड दिएका थिए। बैठकको शुरूमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले दोस्रो संविधानसभाबाट जनचाहनाबमोजिम संविधान बनाउन सकेकोमा जनताका साथै राजनीतिक नेतृत्वसमेत बधाईको पात्र भएको बताउनुभयो।

एमाले अध्यक्षसमेत रहनुभएका केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले विपक्षीलाई पनि सँगसँगै लिएर जानुपर्ने र विपक्षीले पनि पुरानो मानसिकताभन्दा माथि उठेर सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। नेपालले प्रधानमन्त्री ओलीको प्रशंसासँगै केही आशंका र आइपरेका खतराबारे पनि सचेत रहन ध्यानाकर्षण गर्नुभयो।

कांग्र्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले असहज अवस्थामा पनि निर्वाचन गराएकामा खुसी लागेको बताउनुभयो।

प्रधानमन्त्री ओलीलाई बधाई दिँदै उहाँले ओलीले अन्तिम समयमा आउँदा पनि यो सरकारले चुनाव गराउँदैन भनेर आलोचना गरिरहेकोमा दुखेसो व्यक्त गर्नुभयो।

पूर्वप्रधानमन्त्री देउवाले सधैं विरोध गर्ने आफूहरूको मानसिकता नभएको भन्दै सरकारलाई सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो।वर्तमान सरकारले संविधान संशोधन गर्छु भनेर अघि बढेकामा खुसी लागेको बताउँदै देउवाले संविधान संशोधन राष्ट्रहितको विपक्षमा छैन भन्नेमा आफू ढुक्क भएको बताउनुभयो। यसअघिको देउवा सरकारले संविधान संशोधन गर्ने तयारी गर्दा संविधान संशोधन राष्ट्रघाती भएको भन्दै एमालेलगायत अन्य विरोध गरेका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले संघर्ष र बलिदानका कारण अहिलेको उपलब्धि हासिल गरेकाले यसलाई बचाइराख्न चुनौती भएको बताउनुभयो।

उहाँले राजनीति, कर्मचारी, सुरक्षा, राज्य व्यवस्थामा खराब भावना जागेकाले यसको मुहानैदेखि स्वच्छ बनाए मात्र भविष्यमा आशावादी हुन सकिने बताउनुभयो। उहाँले भन्नुभयो– ‘अब आन्दोलन र संघर्ष गर्नुपर्ने दिन सकिएको छ, परिवर्तनलाई संस्थागत गर्दै जनताको चाहनालाई सम्बोधन गर्नुपर्ने दायित्व वाम गठबन्धनको काँधमा आएको छ।’
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संविधान जारी गर्दा मधेसमा आन्दोलन भएको र सबैले संविधानलाई अस्वीकार गरेको बताउनुभयो। महतोले हिन्दीमा बोल्नुभएको थियो।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारप्रति जनताको विश्वास बढ्न नसकेको र जुनसुकै सरकार आए पनि जनताले विश्वास गर्न नसकेको बताउनुभयो। सांसद दुर्गा पौडेल, राजेन्द्रप्रसाद लिङ्देन र प्रेम सुवालले पनि बोल्नुभएको थियो। त्यस्तै राष्ट्रियसभाको बैठकमा गणेशप्रसाद तिमिल्सिना, राधेश्याम अधिकारी, दिननाथ शर्मा, वृशेषचन्द्र लाल र शर्मिला कुमारीले बोल्नुभएको कार्यव्यवस्था महाशाखाका सह–सचिव मुरारी महतले जानकारी दिनुभयो।

सभामुख र अध्यक्षको निर्वाचन मिति तोकियो
प्रतिनिधिसभाको सभामुख र राष्ट्रियसभाको अध्यक्षका लागि निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ। संघीय संसद् सचिवालयले मंगलबार दिउँसो दुवै सदनका लागि निर्वाचन मिति तोकेको हो।

सभामुखको निर्वाचन २६ गते शनिबार र अध्यक्षको निर्वाचन ३० गते हुँदै छ। सभामुखका लागि शुक्रबार १० बजेदेखि १ बजेसम्म संसद् सचिवालयमा निवेदन दिनुपर्नेछ। उम्मेदवारको नामावली सचिवालयले साढे १ बजे प्रकाशित गर्नेछ। शनिबार १ बजे बस्ने सभामुखको निर्वाचन हुनेछ।

त्यस्तै राष्ट्रियसभाको अध्यक्षका लागि २८ गते सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा निवेदन दिनुपर्नेछ। उम्मेदवारको नामावली सचिवालयले साढे १ बजे प्रकाशित गर्नेछ। ३० गते दिउँसो १ बस्ने बैठकले अध्यक्ष चयन गर्नेछ। संविधानमा संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र अध्यक्षको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ।

मस्यौदा समिति गठन
प्रतिनिधिसभा नियमावली बनाउन दुवै सदनमा मस्यौदा समिति गठन गरेको छ। प्रतिनिधिसभाले कृष्णभक्त पोखरेल, जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडु, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, मीनबहादुर विश्वकर्मा, मीनेन्द्र रिजाल, रवीन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, बिन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव रहेको समिति गठन गरेको छ।

त्यसैगरी राष्ट्रियसभाको नियमावली मस्यौदा समिति गठनका लागि खिमलाल भट्टराईले प्रस्ताव पेस गर्नुभएको थियो। भट्टराईको प्रस्तावलाई कांग्रेसका प्रकाश पन्थ र माओवादीका कालिबहादुर मल्लले समर्थन गर्नुभएको थियो। राष्ट्रियसभामा गणेशप्रसाद तिमिल्सिना, परशुराम मेघी गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), सुरेन्द्रराज पाण्डे, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, जीवन बुढा, वृशेषचन्द्र लाल र प्रमिला कुमारी रहेको ९ सदस्यीय समिति गठन गरेको छ।

संविधानको धारा १०४ मा ‘संघीय संसद्को प्रत्येक सदनले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिहरूको गठन, काम कारबाही र कुनै सदन वा समितिको कार्यविधि नियमित बनाउने छ।’ भनिएको छ। दुवै समितिले सभा प्रमुखको सामान्य निर्देशनमा रही १ महिनाभित्रमा कार्यविधि बनाइसक्न समयसीमा तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्