फर्काइँदै छ चोरीका मूर्ति



काठमाडौं, (नेस)
नेपालबाट हराएका २ प्राचीन मूर्ति अमेरिकाको न्युयोर्कस्थित एक संग्रहालयमा भेटिएपछि सो मुलुकले नेपाललाई हस्तान्तरण गर्ने घोषणा गरेको छ। काठमाडौंको यट्खा टोलको पूर्णकदको भगवान् बुद्धको मूर्ति र ललितपुर पाटनको टंगलहिटीको उमा महेश्वरको मूर्ति चोरी भएर अमेरिका पुगेको पुष्टी भएपछि त्यहाँको संग्राहलयले नेपाललाई हस्तान्तरण गर्ने भएको हो। न्युयोर्कको मेट्रोपोलिटन कला संग्रहालयले नेपाललाई मूर्ति पठाउन सहयोग गर्ने भएको न्युयोर्क नेपाली दूतावासले जनाएको छ।

दूतावासका कन्सुल जनरल मधुकुमार मरासिनी र संग्रहालयका अध्यक्ष ड्यानियल विसले यससम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर गर्नुभएको बताइएको छ। सन् १९८० को आसपासमा ती मूर्ति चोरी भएका थिए। बुद्धको मूर्ति ११ देखि १२औं शताब्दी र उमा महेश्वरको मूर्ति १२ देखि १३औं शताब्दीमा निर्माण भएको जानकारहरू बताउँछन्।

दुवै मूर्ति दाताले संग्रहालयलाई उपलब्ध गराएपछि संग्रहालयमा प्रदर्शनीमा राखिएको थियो। ती मूर्ति चोरी भएर आफ्नो मुलुक भित्रिएको जानकारी पाएपछि संग्रहालयले प्रदर्शनीबाट हटाइसकेको नेपाली दूतावासले जनाएको छ। सो दूतावासका अनुसार भन्सार र कार्गाेको प्रक्रिया पूरा गरेर अर्को महिनाभित्र नेपाल ल्याइँदै छ।

प्रतिक्रिया दिनुहोस्