सार्कलाई गतिशील बनाउन जोड दिँदै फर्किए अब्बासी



नेपाल समाचारपत्र
काठमाडौं
क्षेत्रीय सहकार्यका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई गतिशील र प्रभावकारी बनाउन जोड दिँदै पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी स्वदेश फर्कनुभएको छ।

अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र सार्क सचिवालयका अधिकारीसँगको भेटवार्तामा यही प्रसंग दोहोर्याउनुभएको छ। सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तामा पनि उहाँले सार्कलाई सबल र सक्षम बनाउन जरुरी रहेको बताउनुभएको थियो।

राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटवार्तामा २ देशबीचको सम्बन्ध, आपसी हित र चासोका बारेमा छलफल भएको बताइए पनि सार्कको विषयले प्राथमिकता पाएको थियो। क्षेत्रीय सहकार्य र समृद्धिका लागि सार्कलाई सक्रिय बनाउने बारेमा उहाँहरूबीच छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो।
‘कुनै मुलुकको आन्तरिक कारणले सार्कका गतिविधि प्रभावित बन्नुहुँदैन, क्षेत्रीय समृद्धिका लागि सार्क अपरिहार्य छ’ –राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै अधिकारीले भन्नुभयो। प्रधानमन्त्री ओली र अर्का पूर्वप्रधानमन्त्री दाहालसँगको भेटवार्तामा अब्बासीले द्विपक्षीय आर्थिक र व्यापारमा सहकार्य गर्न सकिने पक्षबारेमा समेत छलफल गर्नुभएको बताइएको छ। खास गरी चीनले अघि बढाएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ बाट नेपालले अधिकतम लाभ लिन सक्ने अब्बासीको भनाइ रहेको थियो।

राष्ट्रपतिसँगको भेटवार्तापछि अब्बासीले काठमाडौंस्थित सार्क सचिवालयको समेत भ्रमण गर्नुभएको छ। सचिवालयका महासचिव अम्जाद हुसियान वी सियाल र सदस्य मुलुकका क्षेत्रीय निर्देशकहरूसँगको भेटवार्तामा आफ्नो मुलुक १९औं सम्मेलनका लागि प्रतिवद्ध रहेको बताउनुभयो। क्षेत्रीय सहकार्यका लागि सार्कको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिँदै अब्बासी सचिवालय कर्मचारीलाई हौसला प्रदान गर्नुभएको थियो। सचिवालय परिसरमा उहाँले वृक्षरोपणसमेत गर्नुभएको छ।

काठमाडौंमा सन् १९८७ मा नेपालमा सचिवालय स्थापना भएयता सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकारप्रमुखले विभिन्न समयमा सचिवालयको भ्रमण गर्दै आएका छन्। सन् २००९ मा श्रीलंकाका तत्कालीन राष्ट्रपति महेन्द्रा राजापाक्षले सचिवालयको भ्रमण गरेपछि अब्बासीले सचिवालयको भ्रमण गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्