दोलखामा पुनर्निर्माण तीव्र, अनुदान पाउन कठिन



चिरञ्जीवी मास्के, दोलखा

दोलखा शैलुङ्गेश्वर गाउँपालिका–८ शैलुङका भूकम्पपीडित कमलबहादुर बस्नेतले घर बनाएको ३ महिना भयो। तर, लाभग्राहीमा नाम नभएको र गुनासो सुनवाइमा समेत नाम नआएकाले उनले पुनर्निर्माणपछि पनि अनुदान रकम भने पाउन सकेका छैनन्।

अर्का भूकम्पपीडित दोलखा विगु गाउँपालिका–४ सिंगटीका जगत्बहादुर खत्रीले घर बनाएको २ वर्ष बितिसकेको छ। पहिलो र दोस्रो किस्ता अनुदान रकम लिएका खत्रीले तेस्रो किस्ता रकम भने पाउन सकेका छैनन्। आफूले पहिलो र दोस्रो किस्ता रकम लिदा त्यहीं घर देखाएको भए पनि अहिले तेस्रो किस्ता लिने बेला भू–क्षयको जोखिममा रहेको ठाउँमा घर बनाएको भनेर रोकिदिएको खत्रीले गुनासो गरे।

दोलखा जिल्लामा अहिले पुनर्निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको भए पनि विभिन्न कारणले अनुदानको दोस्रो र तेस्रो किस्ता रकम लिन भने कठिनाई भइरहेको भूकम्पपीडितले गुनासो गरेका छन्। ‘हामीले सरकारी मापदण्डअनुसार नै घर निर्माण गरेका छौं। तर, अहिले सरकारले अनुदान रकम दिने बेलामा विभिन्न बहाना बनाएर रोकिरहेको छ।’ –सिंगटीका जगत्बहादुर खत्रीले भने।

पुनर्निर्माणको काममा तीव्रता

सागर आचार्य
प्रमुख राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखा

भूकम्पीय आवास पुनर्निर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाइबाट प्राप्त तथ्यांकअनुसार दोलखा जिल्लामा सर्वेक्षणबाट पहिचान भएको ५१ हजार ९ सय ४० र गुनासो सुनवाइबाट थप भएको १० हजार ८ सय ९३ गरी ६२ हजार ८ सय ३३ भूकम्पपीडित रहेका छन्। त्यसमा ५८ हजार १ सय २० जनाले अनुदान सम्झौता गरेकोमा प्रथम किस्ता ५६ हजार १ सय २३ (नेपाल सरकारबाट ५४ हजार २ सय २१ र गैससमार्फत १ हजार ९ सय ८२), दोस्रो किस्ता ३१ हजार ६ सय ६ (नेपाल सरकारबाट २९ हजार ७ सय ६९ र गैससमार्फत १ हजार ८ सय ३७) तथा तेस्रो किस्ता ११ हजार ८ सय ७९ (नेपाल सरकारबाट १० हजार ३ सय १६ र गैससमार्फत १ हजार ५ सय ६३) जना भूकम्पपीडितले अनुदान रकम प्राप्त गरेको भूकम्पीय आवास पुनर्निर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाइका टीका जोशीले जानकारी दिएका छन्।

दोलखा कालिञ्चोक गाउँपालिका–३ बाबरेका सुरेन्द्र प्रधान सरकारले तत्काल दोस्रो किस्ता अनुदान सम्झौता नगरे रकम प्राप्त गर्न नसक्ने सूचना जारी गरेपछि अधिकांश भूकम्पपीडितले हतारमा घर निर्माण गरेर अनुदान रकम लिएको उल्लेख गर्दै दोस्रो किस्ता लिएका कतिपयले तेस्रो किस्ता पाउन कठिन हुने बताउँछन्। हतारमा सरकारी मापदण्डअनुसार भूकम्प प्रतिरोधी घर बन्न सकेको छैन’, प्रधानले भने– ‘जसको कारण प्राविधिकले राम्रोसँग जाँच गर्ने हो भने धेरैले तेस्रो किस्ता रकम नपाउने अवस्था हुन सक्छ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाका प्रमुख सागर आचार्य दोलखा जिल्लामा अन्य भूकम्प प्रभावित जिल्लाको तुलनामा पुनर्निर्माणको काम तीव्र ढंगले अगाडि बढिरहेको बताउँछन्। गत वर्ष दोलखा जिल्लामा १० हजार घर मात्र पुनर्निर्माण भएकोमा यो वर्ष ३० हजारभन्दा बढी घर पुनर्निर्माण भइरहेको आचार्यले बताए।

जिल्लामा प्राविधिकको खासै अभाव नरहेको र पुनर्निर्माण भएका घरहरू सरकारी मापदण्डअनुसारकै रहेकाले पछि समस्या नआउने आचार्यको भनाइ छ। कतिपय गाउँपालिकाहरूमा दक्ष जनशक्तिको अभावका कारणले भने घर निर्माणमा केही कठिनाइ रहेको र बैंकहरूमा अनुदान रकम लिने भूकम्प पीडितको भीड बढी भएकाले केही समस्या रहेको आर्चायले बताए।

घर निर्माण भएर पनि अनुदान रकम पाउन नसकेको बारेमा खासै गुनासो नआएको उल्लेख गर्दै आचार्यले केहीको हकमा प्राविधिक या अन्य विविध समस्याले रकम लिन कठिनाइ रहेको भए पनि अधिकांश भूकम्पपीडितले सरकारी मापदण्डअनुसार घर बनाएर प्राविधिक जाँचपास भएपछि सजिलै अनुदान रकम पाएको बताए।

प्रतिक्रिया दिनुहोस्