फास्ट ट्रइक निर्माणमा स्थानीयको अवरोध



सुरेश तामाङ, ललितपुर

काठमाडौंसँग मधेस जोड्ने द्रुत मार्ग (फास्ट ट्रइक) आयोजनामा स्थानीयले अवरोध सिर्जना गरेका छन्। ललितपुरमा जिल्लाको खोकनामा स्थानीयले मुजब्जाको विषयलाई लिएर अवरोध सिर्जना गरेका हुन्। पुरातात्त्विक र ऐतिहासिक सम्पदा जगेर्न गर्नुपर्ने, खेतीयोग्य जग्गाको उचित मुअब्जा पाउनुपर्नेलगायतका माग राख्दै शुरुदेखि नै स्थानीयले फास्ट ट्रइकको ट्रइकसम्म खोल्ने काममा अवरोध गर्दै आएका छन्।

स्थानीयले माग राख्दै दर्जनौंपटक ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रधानमन्त्रीको कार्यालय, राष्ट्रपतिको कार्यालय, क्षेत्रीय प्रशासक समक्ष धाइसकेका छन्। स्थानीयको अवरोधकै कारण फास्ट ट्रइकको ललितपुरतर्फको डुकुछाप–बुङमती–खोकना खण्डको ८ किलोमिटर ट्रइक खोल्ने कार्य अगाडि बढ्न सकेको छैन।

आफ्नो माग सम्बोधन नभएसम्म फास्ट ट्रइक निर्माणको काम अगाडि बढाउन नदिने पक्षमा स्थानीय देखिएका छन्। फास्ट ट्रइक निर्माणका लागि नेपाली सेनाको एक टुकुडी गएको १८ गते क्याम्पसमेत खडा गरिरहेको छ। मेजरको नेतृत्वमा ललितपुर महानगरपालिक–२१ खोकनाको खुडोल फाँटमा सेनाले क्याम्प खडा गरेको हो।

‘समस्या समाधान गर्न लागिरहेका छौं’

गोकुल भण्डारी
प्रवक्ता, नेपाली सेना

वडा कार्यालयमा २१ गतेदेखि ट्रइक खोल्ने काम थाल्छौं भनेर क्याम्पमा २ वटा डोजरसहित सेना तयार भएर बसेपछि स्थानीयले माग पूरा गर्नुपर्ने सर्त अगाडि सारेर अवरोध सिर्जना गरेका छन्। जनसरोकार समिति खोकनाका अध्यक्ष नेपाल डंगोलले भन्नुभयो– ‘हामीले हाम्रो पूरा नभएसम्म ट्रइक ओपन गर्न नदिने भनेर लागेका छौं, हाम्रो माग पूरा गरिदिनुपर्यो, हामी फास्ट ट्रइकको विरोधी होइनौं।’ आफूहरूको माग पूरा नभई एक्कासी आएर सडक निर्माणको काम अगाडि बढाएपछि अवरोध गरेको उहाँले बताउनुभयो।

सेनाले प्याराग्लाइडिङ गर्ने जग्गा खोकनामा रहे पनि स्थानीय कृष्णहरि डंगोललगायत तीन जनाको जग्गामा नेपाली सेनाले क्याम्प खडा गरेको आरोप स्थानीयले लगाएका छन्। नेपाली सेनासँग सरोकार समितिले पटक–पटक वार्ता गरे पनि सहमति जुट्न सकेको छैन। समिति र सेनाबीच माघ दोस्रो साता भएको सहमतिअनुसार बांगोटिंगो नबनाई सीधा बाटो बनाउने, मुअब्जा नबुझेकालाई चलनचल्तीकै दरमा मुअब्जा दिने, सडक ५० मिटर कायम गर्ने भनिएको थियो। तर, सेनाले ५० मिटरबाहेक फेरि ८ मिटर अधिग्रहण गर्नुपर्ने कुरा आएपछि आफूहरूले आपत्ति जनाएको समितिका अध्यक्ष डंगोलले बताउनुभयो। उहाँले सहमतिअनुसार काम नभएको आरोप लगाउनुभयो।

स्मार्ट सिटी, हाइटेन्सन लाइन, बाहिरी चक्रपथ, बाग्मती करिडोर, फास्ट ट्रइक जस्ता राम्रा आयोजना यस भेगमा बन्न लागेकोमा खुसी रहेको भन्दै योजना बनाउँदा सामाजिक, आर्थिक, सांस्कृतिक, पुरातात्त्विक, स्थानीयको फाइदालगायतका विषयलाई समेटेर एकीकृत ढंगले जानुपर्ने माग स्थानीयको छ। तर, यस्ता खाले योजनाले खोकना बासीको आदिवासी सांस्कृति, ऐतिहासिक, पुरातात्त्विक क्षेत्र, सामाजिक र आर्थिकरूपमा विस्थापित हुने डरले स्थानीयले निरन्तर विरोध गर्दै आएका छन्।

फास्ट ट्रइकको योजनाअनुसार खोकनाबासीको मात्रै ७ सय ३९ कित्ता खेतीयोग्य भूमि अधिग्रहण गर्नुपर्नेछ भने हालसम्म २ सय कित्ताको मुअब्जा वितरण भइसकेको जिल्ला प्रशासन कार्यालय ललितपुरले बताएको छ। वडा अध्यक्ष रवीन्द्र महर्जनले क्याम्पसम्म पुग्न सडक खोल्ने क्रममा स्थानीयको विरोध भएको बताउनुभयो। तत्काल काम रोकेर सेनाको आफ्नै जग्गामा क्याम्प सार्न पहल भइरहेको उहाँले बताउनुभयो।

‘खोकनाबासीले केही माग गर्नुभएको छ। त्यस क्षेत्रमा मन्दिर पनि रहेको छ। केही पुराना घर पनि छन्। स्थानीयले फास्ट ट्रइक निर्माणको क्रममा परेको जग्गाको मुअब्जा कमी भएको गुनासो गर्नुभएको छ। हामीले समस्या समाधान गर्नका लागि पटक–पटक छलफल गरेका छौं’, नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भन्नुभयो– ‘राष्ट्रिय गौरवका आयोजना भएकाले उहाँहरूले पनि बुझ्नुहुन्छ भन्ने हाम्रो विश्वास छ। हामी स्थानीयको जायज मागको सम्बोधन गरेर अगाडि बढ्न गृहकार्यमा जुटेका छौं। स्थानीय जनप्रतिनिधि, सरोकारवाला व्यक्ति र हामी बसेर समस्या समाधानका लागि लाग्छौं। केही दिनभित्र नै समस्या समाधान गरेर हामी काम अगाडि बढाउँछौं।’

प्रतिक्रिया दिनुहोस्