वातावरणीय प्रदूषण न्यूनीकरणमा जोड देऊ



स्वच्छ वातावरण उपभोग गर्न पाउनु नागरिकको अधिकार हो । तर विकास निर्माणसँगै बढेको प्रदूषणको कारण नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । स्वस्थ जीवनका लागि स्वस्थ हावापानी, खाद्यान्नलगायतका विषयमा सरकारले विशेष ध्यान दिनुपर्छ । सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने हुन्छ । धुवाँ–धूलोका कारण राजधानी काठमाडौंमा पैदल यात्रा गर्नसमेत कठिनाइ छ । हरेक नागरिकले माक्स नलगाई बाटोमा निर्धक्कसाथ हिँड्न सक्ने अवस्था छैन । सडक निर्माण वा विस्तारको क्रममा बर्षौ अघि भत्किाइएका सडक निर्माण हुन सकेका छैनन् । निश्चित समयावधिभित्र सम्पन्न गरिसक्नुपर्ने सडक निर्माणमा निर्माण व्यवसायीयहरूले ढिलासुस्ती गर्दा पनि कुनै कानुनी कारबाही हुन सकेको छैन ।

राजधानी काठमाडौंमा यति धेरै समस्या छन् कि भनिसाध्य छैन । सडकमा धूलो त्यत्तिकै छ । सवारीसाधनबाट अत्यधिकरूपमा फ्याँक्ने धुवाँले कुइरीमण्डल नै हुने गर्छ । सडकका नाला व्यवस्थित छैनन् । ढल जथाभावी फुटेर दुर्घन्ध हुने गरेको छ । फोहोरका डुंगुर जथाभावी देखिन्छन् । राजधानीमा बहने नदीहरूमा पानी बग्दैन, लेदो मात्र बहन्छ । शहरीकरणको नाममा मानिसले वातावरण नै ध्वस्त बनाएका छन् । यति हुँदा पनि सरकारले नागरिकले उपभोग गर्न पाउनुपर्ने स्वस्थ वातावरणको सृजना गर्न सकेको छैन । वातावरणलाई स्वच्छ राख्नको लागि नीति निर्माण भए पनि व्यावहारिकरूपमा कार्यान्वयन हुन सकेको छैन । जसको कारण अझै वातावरण बिगार्ने गलत क्रियाकलाप रोकिएका छैनन् । राजधानी काठमाडौं अत्यास लाग्दो भइसकेको छ । जताततै जाम, धुवाँ–धूलोका कारण रोगको संक्रमण पनि बढ्दै गएको छ ।

सरकारले बिग्रँदो वातावरणलाई सुधार गर्नका लागि भएका नीति–नियमलाई कडाइपूर्वक कार्यान्वयन गर्ने र थप आवश्यक नीति निर्माण गर्न ढिलाइ गर्नुहुँदैन । समस्याको चाङ पन्छाउँदै नागरिकले निर्धक्क भएर हिँडडुल गर्न सक्ने वातावरण सृजना गर्नुपर्छ । विकास निर्माणको कार्यमा एकीकृत योजना बनाएर सरकारी निकायबीच समन्वय हुन आवश्यक छ । सडक निर्माण गरेलगत्तै विभिन्न बहानामा भत्काउने कार्य रोक्नको लागि सरकारी निकायले समन्वय गरी काम गर्नुपर्छ । वातावरणलाई प्रदूषण बनाउनेहरूमाथि सरकार कडाइपूर्वक प्रस्तुत हुनुपर्छ । सरकारले विकास निर्माणको काम अगाडि बढाउँदा वातावरणीय पक्षलाई पनि ध्यान दिनुपर्ने आवश्यकता छ । साथै वातावरणलाई स्वच्छ बनाउनका लागि नागरिकहरूले पनि आफ्नो दायित्व पूरा गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्