उत्तर र दक्षिण कोरियाका नेताबीच वार्ता हुने



सोल, (एजेन्सी)
आगामी महिना आयोजना हुने उत्तर र दक्षिण कोरियाको शिखर सम्मेलनमा दुवै देशका नेताद्वयबीच भेटवार्ता हुन लागेको मंगलबार प्योङयाङको भ्रमणमा रहेका सोलका वरिष्ठ सरकारी दूतले बताएका छन्।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले पनि आफू विवादास्पद आणविक हतियार कार्यक्रमबाट मुक्त हुनका लागि संयुक्त राज्य अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएको ती दूतले जनाएका छन्।

उत्तर कोरियाको आणविक महत्त्वाकाङ्क्षा बन्द गर्नका लागि बिगतमा पनि विभिन्न कार्यक्रम बनाइएका थिए। तर उत्तरले आफ्नो प्रतिबद्धता पूरा गर्न असफल रहेका थियो। एक दशकभन्दा लामो समयपछि उत्तर र दक्षिण कोरियाका नेताबीच हुन लागेको यो पहिलो बैठक हो।

युद्ध विराम जारी रहेको सिमानास्थित अत्यन्तै कडा सुरक्षा प्रबन्ध रहेको पान्मुन्जोम गाउँमा ती नेताहरूबीच भेटघाट हुन लागेको हो। साथै यी दुई राष्ट्रबीच हटलाइन शुरू गर्ने पनि सहमति भएको छ। प्योङयाङ भ्रमणबाट फर्केका दक्षिण कोरियाली अधिकारीहरूले किम जोङ उनले यदि आफ्नो सत्ताको सुरक्षाको ग्यारेन्टी दिइने हो भने आफू आणविक हातहतियार कार्यक्रम त्याग्नेबारे वार्ता गर्न तयार रहेको जनाएको बताएका छन्।

साथै किमले कूटनीतिक पहल जारी रहुन्जेल क्षप्यास्त्रहरू प्रक्षेपण नगरिने पनि बचन दिएका छन्। यसअघि नै अमेरिकाले यदि उत्तर कोरिया निशस्त्रीकरणबारे छलफल गर्न तयार भएको खण्डमा मात्र त्यससँग वार्ता गरिने बताएको थियो।

यसैबीच अमेरिकाले उत्तर र दक्षिणकोरियाबीच सुधार भइरहेको सम्बन्धप्रति सावधानीपूर्वक आशावादी रहेको पनि जनाएको छ। दक्षिण कोरियामा हालै सम्पन्न हिउँदे ओलम्पिक्सदेखि उत्तर र दक्षिणबीचको सम्बन्ध न्यानो हुँदै गएको हो। आणविक र क्षेप्यास्त्र परीक्षणकै कारण उत्तर कोरियामाथि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले नाकाबन्दी लगाउँदै आएको छ।

सोमबार किम जोङ उनसँग उत्तर कोरियाका गुप्तचर सेवा प्रमुख सुह हून र राष्ट्रिय सुरक्षा सल्लाहकार चुँग इउइ– योंगलगायतका उत्तर कोरियाका वरिष्ठ अधिकारीहरूले रात्रिभोज गरेका थिए। यस ऐतिहासिक उत्तर कोरियाली टोली मंगलबार बिहान सोल फर्केको दक्षिण कोरियाली समाचार निकाय योन्हापले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्