काठेखोला अब सुन्तला गाउँ



सिर्जना पन्त, वागलुङ । बागलुङका कयौँ गाउँपालिका तथा नगरपालिकाहरुमा बर्षेनी पाखा, बारी एवं खेतहरुलाई फाल्दै नयाँ सडक खन्ने गरिएको छ । सडक निर्माण गरिएपनि त्यसलाई बाह्मास चल्न सक्ने बनाउन कसैको ध्यान गएको देखिदैँन । नयाँ बनेका सडकलाई स्तरोन्नती नगर्दा घर छेउको बाटोमा धुलोले गर्दा स्थानीयबासीहरुले नै सास्ती खेप्नुपर्ने अवस्था छ ।

अझै बढि विद्यार्थीहरु तथा सर्वसाधारणहरु मर्कामा पर्ने गरेका छन् । त्यसैले सडक निर्माणको पाटो एकातिर रहिरहदा काठेखोला गाउँपालिकाले भने उत्पादनशिल क्षेत्रलाई जोड दिएको छ । प्रायजसो स्थानीय तहहरुले सडक निर्माणमा बढी प्राथमिकता दिएको देखिन्छ । काठेखोला गाउँपालिकाको वडा नम्बर १, २, ४, ६ र ७ मा १६ वटा ब्लक निर्माण गरी सुन्तला खेतीलाई विस्तार गरी जोन बनाउने तयारी थालिएको छ । गाउँपालिकाको झण्डै ३ हजार रोपनी क्षेत्रफलमा सुन्तला खेती विस्तार गर्ने लक्ष्य राखिएको छ ।

सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेका स्थानहरुमा क्षेत्रफल विस्तार गरी स्थानीय कृषकहरुको आर्थिक आम्दानी उकास्न यस्तो अभियान थालिएको हो । गाउँपालिकाको वडा नम्बर १, २, ४ र ७ मा एक एक वटा र ६ नम्बर वडामा १३ वटा बल्क निर्माण गरेर सुन्तला खेती विस्तार गर्न लागिएको छ । यसका लागि गाउँमा रहेका अन्य रुखहरुलाई कटान गरेर सुन्तलाका बिरुवा मात्र राख्ने गरी अभियान नै सुरुवात गरिएको छ ।

अबको केही बर्षमा सुन्तला गाउँका रुपमा परिचित गराउने गरी अन्य विभिन्न किसिमका रुखहरु कटान गर्न थालिसकिएको काठेखोला गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष युक्तप्रसाद कंडेलले बताउनुभयो । उहाले वडा नम्बर ६ बाट मात्रै यस बर्ष १ करोड ३ लाखको सुन्तला बिक्रि वितरण भएको बताउनुभयो । उहाले सबै रुखलाई कटान गरी सुन्तला रोपेपछि आम्दानी अर्को बर्ष नै दोब्बर हुने विश्वास व्यक्त गर्नुभयो । अहिले सुन्तलाको बोट वरपर रहेको रुखहरु कटान गरेपछि मात्रै त्यसले उत्पादन पनि बढि दिने वडाध्यक्ष कँडेलले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत कृषि ब्लक बनाउने अभियान सुरुवात गरिएको हो । गाउँपालिकाको अन्य क्षेत्रमा भन्दा बढि बिहुँमा सुन्तला खेती राम्रो उत्पादन हुने भएकाले पनि अन्य पेशा भन्दा बढी सुन्तला खेती तर्फ नै ध्यान दिएको बताइएको छ । पछिल्लो समय युवाहरुको बैदेशिक रोजगारको मोह पनि बढिरहेको छ । यसलाई न्युनिकरण गर्नका लागि पनि यो अभियान महत्वपुर्ण रुपमा मानिएको छ । रुख काट्ने बेलामा केही कृषकहरुको गुनासो आएपनि केही बर्ष पछि उनै कृषकहरुले धन्यवाद दिने गरी दीर्घकालिन योजना बनाएर अघि बढेको बताइन्छ ।

यसै बर्ष मात्रै वडा नम्बर ६ मा मात्रै ६ हजार बढी सुन्तलाका बिरुवाहरु थप गर्ने लक्ष्य राखिएको छ । सबै वडामा एक लाख भन्दा बढि विरुवा लगाउने लक्ष्य राखिएको छ । त्यसका लागि बिरुवामा ५० प्रतिशत र अन्य मेसिन तथा सामग्रीहरुमा ७५ प्रतिशत अनुदान दिने वडा कार्यालयले बताएको छ । अहिले रुख काट्ने मेसिन वडाले नै खरिद गरेर धमाधम रुख काट्न थालिएको छ ।

यस वडामा मात्रै ६ सय घरधुरीले सुन्तला उत्पादनलाई बृद्धि गर्ने वडाध्यक्ष कँडेलले बताउनुभयो । ‘एउटा काठको रुख हुर्काउन ३० बर्ष लाग्छ, र त्यसको मुल्याङकन गर्दा ५ हजारको मात्रै आम्दानी लिन सकिन्छ, तर सुन्तलाको बोट ५ बर्षमा फलाएर आम्दानी गर्न सकिन्छ ।’ कँडेलले भन्नुभयो । अन्नबालीका हिसाबमा पनि सुन्तलाले कयौँ गुना बढी आम्दानी गर्न सक्ने बताउदैँ झन्झटिलो नहुने र सजिलै आम्दानी गर्न सकिने भएपछि यसलाई प्राथमिकता दिएको कँडेलले बताउनुभयो ।

‘गाउँमा घरहरु पनि खाली हुन थाले, बाँझो बारीमा एक दिन दुःख गरे पुग्ने भएकाले पनि धेरै फाईदा देखेर हामी यो अभियानमा लागेऊँ, यसमा विदेशबाट फर्केकाले पनि साथ दिएका छन् ।’ कँडेलले भन्नुभयो । जापान गएर फर्केका बिहुँका धनपति निउरेले अर्काको देशमा गएर १८ घण्टा काम गर्नुभन्दा आफ्नै ठाउँमा गरेको मेहनतले बढि प्रतिफल दिने गरेको बताउनुभयो ।

अहिले वडा कार्यालयले नै सुन्तला खेती विस्तारमा साथ दिएकाले खुशी लागेको भन्दै अझै क्षेत्रफल र बोट विस्तार गर्ने बताउनुभयो । निउरेको सुन्तलाको बोटले बर्षेनी डेढ लाख भन्दा बढीको आम्दानी दिने गरेको छ ।

त्यस क्षेत्रमा ५ लाख भन्दा बढीको सुन्तला बिक्रि गर्ने कृषकहरु पनि छन् । निउरे जस्तै सोही गाउँका बालानन्द कँडेल पनि उस्तै मख्ख हुनुहुन्छ । सुन्तला नभएर सुन फल्ने विश्वासका साथ सबै कृषकहरु एकजुट भएर आ–आफ्नो क्षेत्रमा पर्ने रुखलाई कटान गरी सुन्तलाको विरुवा रोप्ने अभियानमा लागेको बताउनुभयो । युवा कृषक प्रकाश निउरेले आफु जस्ता युवाहरुलाई यो अभियान प्रभावकारी हुने देखिएपछि यसमा साथ दिएर अगाडी बढेको बताउनुभयो ।

उहाले बिहुँबाट सयौँ मानिसहरु विदेशी भुमीमा गएर काम गरिरहेकाले उनीहरुलाई यो अभियानले फर्काउन समेत दबाब सिर्जना हुने विश्वास लिएको बताउनुभयो । वडा नम्बर–६ की दलित महिला सदस्य सम्झना बोहोराले सुन्तला खेतीलाई विस्तार गर्दा महिलाहरुको आर्थिक स्तर बृद्धिमा मद्धत पुग्ने बताउनुभयो ।

विपन्न तथा पिछडिएका बर्गहरुलाई आर्थिक उपार्जनको राम्रो माध्यम बन्ने भएकाले सबै यसमा अगाडी बढ्नुपर्ने उहाले बताउनुभयो । यस्तै अर्की महिला सदस्य जमुनादेवी कँडेलले केही बर्षमा नै गाउँको मुहार फेर्ने गरी लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्