माटोमा अम्लियपन अत्याधिक बढ्यो



दुर्गाप्रसाद शर्मा
पर्वत । किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै गएको पाइएको छ । फलेवास नगरपालिकाले गराएको माटो परीक्षण शिविरमा आएको नमुना जाँचबाट यस्तो देखिएको हो ।
वर्षमा तीन बाली हुने जमिनको माटो बढी बिग्रिएको प्राविधिकको भनाइ छ । फलेवासका ११ वटै वडाको माटो परीक्षण गर्दा सिँचाइयुक्त जमिनको माटो बढी कमजोर हुँदै गएको प्राविधिकहरुले बताएका छन् । यस क्षेत्रको माटोमा अधिक मात्रामा अम्लीयपन रहेको परीक्षणबाट पत्ता लागेको छ । परीक्षणका क्रममा पोटास, फस्पोरस र अम्लीयपन बढी रहेको पाइएको नगरपालिकाले जनाएको छ । प्रांगारिक मलको मात्रा निकै कम पाइएकाले मात्रा बढाउन प्राविधिकहरुले किसानलाई सुझाएका छन् ।
माटोमा अम्लीयपन र क्षारीय तत्त्व बढेमा बालीनालीले प्राप्त गर्ने तत्त्वको कमी हुने र माटोको सूक्ष्म तत्त्व गुम्ने कृषि प्राविधिकहरुले जनाए । किसानले अव्यवस्थित रुपमा रासायनिक मलको प्रयोग गरेका कारण माटोले उत्पादकत्व गुमाउँंदै गएको माटो परीक्षण प्रयोगशाला पोखराका प्राविधिक टुकबहादुर थापाले बताए । ‘यहाँको नमुना जाँच गरिएको धेरैजसोको माटोमा ६५ प्रतिशत अम्लीयपन र ५.६ प्रतिशत क्षारीयपन देखिएको छ,’ उनले भने, ‘प्रांगारिक मलको मात्रा निकै कम ७.३ प्रतिशत छ । यो खेतीयोग्य जमिनका लागि दुर्भाग्य हो ।’ उनका अनुसार नाइट्रोजनको अवस्था ८०.८ प्रतिशत कम छ । फस्फोरसको मात्रा ५१.४ प्रतिशत भेटिएको उनले बताए । ‘फस्पोरसको यो मात्रा अधिक हो । यसले बालीनालीलाई राम्रो गर्दैन,’ उनले भने । माटोको उत्पादन क्षमता कायम राख्दै उत्पादन बढाउन नियमित माटो परीक्षण गराउँदै चुन र प्रांगारिक मलको प्रयोग बढाउन कृषि प्राविधिकहरुले सुझाएका छन्।

‘अव्यवस्थित रासायनिक मल र सिफारिस नगरिएका विषादीले माटो बिग्रिएको हो,’ वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भने, ‘जसको असरले अम्लीय र क्षारीय तत्त्व बढ्छ । उत्पादनमा विस्तारै कमी आउँछ ।’ अम्लीय र क्षारीयपन बढ्दा मानिसलाई ग्यास्ट्रिकको समस्या जस्तैगरी माटोमा असर गर्ने प्राविधिकहरु बताउँछन  । ‘प्रांगारिक, जैविक मल र नियमित चुनको प्रयोग गर्दा विस्तारै माटोको गुणस्तर बढ्छ,’ प्राविधिक थापाले भने ।
फलेवासमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै जोन इकाइ कार्यक्रम सञ्चालनमा छ । मकै जोनले फलेवासका २, ३, ४, ५, ७ र ८ वडा (साबिकका ६ गाविस) मा मकै खेती प्रवद्र्धन गर्दै आएको छ । नगरपालिकाकै पाङराङ, कुर्घा, लिमीठाना र ठानामौलामा सुन्तलाको पकेट क्षेत्र बनाएर सुन्तलाको उत्पादन बढाउने कार्यक्रम पनि सञ्चालनमा छ । माटोको परीक्षण नहुँदा मकै जोन र सुन्तला पकेट क्षेत्रका कृषकहरुले अपेक्षित उत्पादन नभएको गुनासो गरेपछि नगरपालिकाले माटो जाँचको शिविर आयोजना गरेको हो ।
शिविरमा नगरपालिकाका ११ वटै वडाका तीन सय किसानले माटो परीक्षण गराएका प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाले बताए । पोखराको क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोगमा सबै वडामा तीनदिने शिविर सञ्चालन भएको हो ।
नगर क्षेत्रका किसानहरु माटो परीक्षण शिविरमा निकै उत्साहित भएको नगरपालिकाका कृषि अधिकृत नारायण पौडेलले बताए । कृषकलाई माटो परीक्षणसँगै उत्पादकत्व वृद्धि गर्ने घरेलु उपायबारे पनि परामर्श दिइएको छ ।

माटो परीक्षणका क्रममा प्राविधिकले दिएको सल्लाह र प्रतिवेदन अनुसार कुन स्थानमा कस्ता बाली लगाउँदा फाइदा हुन्छ त्यहीअनुरुप योजना बनाउने तयारी नगरपालिकाले गरेको नगरप्रमुख पदमपाणि शर्माले बताए । ‘योजनाबद्ध कृषि उत्पादन गर्न पनि यो शिविरले एउटा मार्ग कोर्नेछ,’ उनले भने, ‘अब रिपोर्टका आधारमा बाली विस्तार गर्न किसानहरुसँग सल्लाह गरिन्छ । निर्वाहमुखी कृषिलाई विस्थापित गरेर व्यवसायोन्मुख हुने प्रयासमा जुट्ने हो ।’ यसपछि सम्भावना हेरेर तरकारी, खाद्यन्नबाली, मकै, दलहन, तेलहनका लागि कृषकहरुलाई बीउ वितरण गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्