बैतडीमा अझै सामाजिक सुरक्षाभत्ता वितरण भएन



विनोद सिंह विष्ट
बैतडी । चालु आर्थिक बर्षको ८ महिना बितिसक्दा समेत बैतडीका ४ वटा स्थानीय तहले अझै पनि सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेका छैनन् ।

जिल्लाको मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेका हो । चालु आर्थिक बर्षको ८ महिना बितिसक्दा समेत सामाजिक सुरक्षाभत्ता नपाएको भन्दै नागरिक निराश भएका छन् ।

सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षाभत्ता समयमा नपाउँदा आफूहरुलाई निकै दुःख लागेको दोगडाकेदार गाउँपालिका ६ का हरिसिंह ऐरीले बताउनुभयो । सामाजिक सुरक्षाभत्ताबाटै गुजारा गर्दै आएको हुँ उहाँले भन्नुभयो“ क वर्गको शारीरिक अपांगता भएको हुँ,मैले ८ महिनासम्म सामाजिक सुरक्षाभत्ता नपाउँदा निकै समस्या भएको छ”

यस्तै सुर्नया गाउँपालिकाले पनि अहिले सम्म सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेको छैन् । अर्थमन्त्रालयले सामाजिक सुरक्षाभत्ताका लागि आवश्यक रकम निकासा नगर्दा सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीले जानकारी दिनुभयो ।

यस्तै मेलौली नगरपालिकाले पनि बजेट निकासा नहुँदा विकास बजेटबाट तत्कालका लागि सामाजिक सुरक्षाभत्ता वितरण गर्ने तयारी गरेको नगरप्रमुख कृष्णसिंह नायकले बताउनुभयो । शिवनाथ गाउँपालिकाले पनि चालु आर्थिक बर्षको ८ महिना सम्म सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेको जनाएको छ ।

सामाजिक सुरक्षाभत्ताका बारेमा व्यापक गुनासो आएकाले विकास बजेटबाटै सामाजिक सुरक्षाभत्ता वितरण तयारी भएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले भने विकास बजेटवाट पहिलो चौमासिकको सामाजिक सुरक्षाभत्ता वितरण गरिसकेका छन् ।
नागरिकको व्यापक जनगुनासो पश्चात सामाजिक सुरक्षाभत्ता वितरण गर्न बाँकी रहेका स्थानिय तहहरुले विकास बजेटवाट वितरण गर्ने तयारी थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्