समाज असुरक्षित भएको अनुभूति



पछिल्लो समय नेपाली समाज असुरक्षित बन्दै गएको अनुभूति गरिएको छ। हरेक दिनजसो बालिका बलात्कारजस्तो निकृष्ट अपराध बढिरहँदा सभ्य समाजको परिकल्पना गर्नु पटाक्षेप बन्न पुगेको छ। बलात्कारका घटना वृद्धि हुनुमा अशिक्षा र चेतनाको अभावलाई दोष दिँदै आए पनि शिक्षित र सभ्य मानिएकाबाटै पनि बालिकादेखि किशोरीहरू बलात्कारको चपेटामा पर्दै आएका छन्।

बिहान घाँस काटेर फर्किएकी पर्साको पटेर्वासुगौली गाउँपालिकाकी १० वर्षीया बालिका बलात्कारको सिकार भइन्। बाबुले खोजी गर्दै जाँदा उखुबारीमा अचेत छोरीलाई विक्षिप्त अवस्थामा फेला पारे। अत्यधिक रक्तश्राव भएपछि पीडित बालिकाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार गरिएको छ। घटनामा संलग्न भएको आरोपमा पोखरिया नगरपालिका–४ का २० वर्षीय सुनिल साह तुराहा र ३५ वर्षीय मनोज साह तुराहालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पर्साको घटना एउटा दृष्टान्त मात्रै हो। नेपाली समाजमा सामूहिक बलात्कारजस्तो निकृष्ट घटनाको शृङ्खला चलिरहेको छ।

बोली फुटेर सुखद बाल्यकाल नभोग्दै दानवीय सिकार बन्नुपरेका बालिकाको विदारक घटना असुरक्षित समाजका परिणति हुन्। यस्ता घटनाले नेपाली समाज कति असुरक्षित बन्दै गएको छ र मानवीय संवेदनाको पराकाष्ठा नाघिरहेको छ भन्ने देखाउँछ। डर र त्रासका कारण बलात्कारमा परेकी युवतीले आफू बलात्कृत भएको घटनासमेत परिवार र प्रहरीसमक्ष बताउन नसक्ने अवस्थाले असुरक्षित समाजलाई नै प्रतिबिम्बित गर्छ। पीडितमाथि कतिसम्म अन्याय हुन्छ भन्ने कुरा बलात्कारका घटनामा कतिपय अवस्थामा प्रहरीले उजुरीसमेत लिन नमानेको प्रसंगले पुष्टि गर्छ।

हरेक दिनजसो बलात्कारका घटना राष्ट्रिय मूलधारका अखबारहरूमा प्रकाशित भइरहेका हुन्छन्। यस्तो आपराधिक घटना बढ्दै गएपछि सिंगो समाज नै चिन्तित र असुरक्षित हुन थालेको छ। यस्ता घटनाका कारण सिंगो मुलुकलाई नै भयभीत पार्ने गरी दानवीय प्रवृत्ति हाबी भइरहेको छ। तर, यस्तो निकृष्ट अपराधलाई निरुत्साहित गर्न सरोकारवाला निकायले संवेदनशीलता नदेखाउनु विडम्बनाको कुरा हो।

दिनहुँ यस्ता आपराधिक घटनामा बढोत्तरी हुँदा राज्यले न्यूनीकरण गर्नेसम्बन्धमा ठोस नीति अख्तियार गर्न ढिलाइ गर्नुहुँदैन। न्याय, मानवअधिकार र मानवीय संवेदनाजस्ता विषय नै संकटमा पर्दै गएपछि अपराधले नै प्रश्रय पाइरहेको छ। सञ्चारमाध्यममा प्रकाशित र प्रसारित घटनाहरू विश्लेषण गर्दा बलात्कारका घटनामा न्यूनीकरण आउन नसकेको देखिन्छ। पछिल्लो समय अपराधका स्वरूपहरू भयावह बन्दै आइरहेका छन्। मानव सभ्यतामाथि प्रश्न उठ्ने गरी घटना एकपछि अर्को गरी शृङ्खलाबद्धरूपमा अखबारमा आइरहेका छन्।

बलात्कारको घटना बालहिंसाको निकृष्ट नमुना बनिरहँदा यो गम्भीर सामाजिक मुद्दाका रूपमा उठ्नुपर्छ। बोली नै नफुटेकी बालिका बलात्कार भएका धेरै घटना छन्। पशुलाई ज्ञान नभएकै कारण अज्ञानी भनिएको हो। सबै पशुहरू अज्ञानी छैनन्, पशुले पनि संवेदना गुमाउँदैनन्। तर, मानिसमा मानवीयता हराएपछि आपराधिक कार्य हुने गर्दछन्। बलात्कारजस्तो जघन्य अपराध गर्नेलाई दण्ड दिन कानुनमै परिमार्जन गरिनुपर्ने आवाज त्यसै उठेका होइनन्। बालबालिका र महिलालाई सम्मानजनक दृष्टिकोणले नहेरेसम्म आपराधिक घटना न्यूनीकरण हुन गाह्रो छ। यस्ता हिंसाविरुद्ध निरन्तररूपमा समाजमा जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता देखिएको छ।

– सागर सुन्दास, भरतपुर

विकलांग व्यक्ति उत्पादनशील
नागरिक बन्न सक्छन्
अपाङ्गता भएका व्यक्तिका लागि उचित अवसर प्रदान गर्न सकिए उनीहरू समाजका लागि उत्तिकै उत्पादनशील नागरिक बन्न सक्छन्। नेपालमा कुल जनसंख्याको १३ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन्। तीमध्ये थोरै मात्र आत्मनिर्भर बन्न सकेका छन्। धेरैजसो अवसरको पर्खाइमै छन्। समाज र राज्यले खडा गरेको अवरोधका कारण नै उनीहरूले अवसर पाउन नसकेका हुन्। अपाङ्गता हुनु दोष होइन, न त उनीहरू दयाका पात्र मात्रै हुन्। परिवार, समाज र राज्यले अपाङ्गता भएकालाई बोझका रूपमा ठान्ने मानसिकताकै कारण अपाङ्गताको स्थितिमा खासै सुधार हुन नसकेको हो।

एक्काइसौँ शताब्दीमा प्रवेश गरिसक्दा पनि नेपाली समाजको मानसिकता र चरित्रमा भने खासै सुधार हुन सकेको छैन। समाज समृद्धितर्फ अघि बढेको भनिए पनि समाज अझै रुढिवादी नै छ। राज्य परम्परावादी र अनुदार छ। यस्तो अवस्थामा परिवार मात्र अपवाद हुन सक्दैन। अपाङ्गता
व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म सभ्य समाजको परिकल्पना नै गर्न सकिँदैन।

नेपालको संविधानले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरेको छ। राज्यले ऐन कानुन र संविधानबाट अपाङ्गता हुनेहरूप्रति देखिने गरी विभेद नगरे पनि विभेदको बाटोचाहिँ सिर्जना गरेको छ। समाज वा राज्यले नै खडा गरेका अवरोधबाट अपाङ्गता भएका व्यक्तिको अवसर खोसिएको सत्य आत्मसात् गर्न नसक्दा समस्या झनै बढेर गएको छ। अपाङ्गता भएका व्यक्तिलाई सामान्य अवसर दिलाउन सक्ने हो भने पनि उनीहरू सहजरूपमा अन्य नागरिकसरह जीवनयापन गर्न सक्ने थिए। शारीरिकरूपमा कमजोर रहे पनि अपाङ्गता भएका व्यक्ति मानसिकरूपमा क्षमतावान् हुन सक्छन् भन्ने दृष्टान्त अपाङ्गता भएका केही प्रतिभाले प्रमाणित गरेका छन्। अपाङ्गता भएका व्यक्तिलाई कैयन अप्ठ्यारा र समस्या छन्। तर उनीहरू मनमा उत्साह बोकेर सपाङ्गसरह काम गर्न सक्ने आँट र ऊर्जा देखाउने गर्छन्।

कतिपय अवस्थामा सपाङ्गको तुलनामा अपाङ्ग हुनेले कुशल ढंगबाट काम गर्दै आएका अनेकौँ उदाहरण पनि छन्। दृष्टिविहीन र बहिरा व्यक्तिहरूले समाजमा सपाङ्सरह काम गरेर देखाएका छन्।
अपाङ्गता भएका व्यक्तिरुका लागि दयाका रूपमा मासिक भत्ता उपलब्ध गराउनु मात्र राज्यको दायित्व हुन सक्दैन। सर्वप्रथम त उनीहरूप्रति सकारात्मक दृष्टिले हेर्न सक्नुपर्छ। अपाङ्गता भएका व्यक्तिले कसैले दयामाया र कल्याण गरुन् भन्ने मात्र चाहँदैनन्, उनीहरूले नागरिकसरह व्यवहार गरुन् र राज्यले प्रदान गर्ने हरेक अवसर पनि दिऊन् भन्ने चाहन्छन्। आत्मनिर्भर र आत्मसम्मानका लागि विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरेर अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जनका लागि सहयोग पुर्याउन सकिन्छ।

पछिल्लो समय राज्यले केही कल्याणकारी अवधारणा ल्याए पनि त्यो पर्याप्त छैन। राज्यले समाजलाई चेतनशील बनाएर अधिकारमुखी अवधारणामा अपाङ्ताको विषयलाई सम्बोधन गर्नुपर्ने काम अझै बाँकी नै छन्। स्थानीय निकायमा जनप्रतिनिधिले काम गर्न थालिसकेपछि वडा–वडामा रहेका अपाङ्गता भएका व्यक्तिका लागि कसरी अवसर प्रदान गर्ने भन्ने विषयमा छलफल हुनु जरुरी भइसकेको छ। स्थानीय निकायले निर्णय गर्ने हरेक प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित हुनुपर्छ। संविधानले निर्देश गरेबमोजिम अपाङ्गता भएका व्यक्तिले उठाएका मुद्दाहरूलाई स्थानीय निकायले सम्बोधन गर्नु जरुरी देखिएको छ।
– सुरेन्द्र कार्की, चितवन

प्रतिक्रिया दिनुहोस्