बिना कारण लगानीकर्ताले ६७ अर्ब गुमाए



नेपाल समाचारपत्र
काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारप्रति आफ्नो नकरात्मक टिप्पणी नभएको भनेर प्रष्टीकरण दिए पनि पुँजी बजार सम्हालिन सकेको छैन। साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ। सोमबार नेप्से परिसूचक १६ दशमलव ६९ अंकले घटेर १२८७ दशमलव ६४ अंकको बिन्दूमा पुगेको हो।

अघिल्लो दिन ४१ दशमलव ५६ अंकले घटेर बन्द भएको बजार सोमबार कारोबार शुरू भएदेखि बढ्न शुरू गरेको थियो। आइतबार भएको गिरावटप्रति अर्थमन्त्रीलाई दोष थोपरिएको र यसप्रति अर्थमन्त्रीले प्रष्टीकरण दिएको चर्चा हुँदै गर्दा सोमबार नेप्सेमा केही सुधार हुने संकेत देखिएको थियो। तर, त्यो संकेत आधा घण्टाभन्दा बढी समय टिकेन परिणाम स्वरुप जति अंकले बढेको हो बन्द हुने बेलासम्म करिब त्यति नै अंकले घट्न पुगेको छ। सोमबारको गिरावटसँगै नेप्से परिसूचक वर्षको सबैभन्दा न्यून बिन्दुूमा आउनुका साथै लगानीकर्ताले करिब २० वर्ष रुपियाँ गुमाएका छन्। आइतबार एकैदिन ४७ अर्ब नोक्सानी व्यर्होरेका लगानीकर्ताले सोमबार थप २० अर्ब गरी दुई दिनमा ६७ अर्ब रुपियाँभन्दा नोक्सान भएको छ।

शेयर बजारको स्वभाव नै घटबढ हुने भए पनि अहिले घट्नुमा कुनै उल्लेख्य कारण नदेखिए परिसूचक निरन्तर ओरालो लाग्दै गएको सन्दर्भमा शेयर बजारमा लगानी गर्ने उपयुक्त समय भएको लगानीकर्ताहरू बताउने गरेका छन्। प्रँथमिक शेयर मूल्यमा दोस्रो बजारको शेयर मूल्य आएको हुँदा बजारमा होल्ड गर्न सक्ने लगानीकर्ताले लाभांश सुनिश्चित गर्ने बेलासम्म धैर्यता गर्नसके बजारबाट शेयर उठाउनुपर्ने शेयर लगानीकर्ताको सुधmाव छ।

बजार निरन्तर ओरालो लागेपछि कारोबार रकममा पनि गिरावट देखिएको छ। १ सय ५३ वटा कम्पनीको ९ लाख ७७ हजार ४७ कित्ता शेयर ५ हजार २ सय ५६ पटक खरिद बिक्री हुँदा ३९ करोड ५२ लाख १७ हजार चार सय ३५ रुपियाँ बराबरको कारोबार भएको छ।

व्यापार र होटलबाहेक कारोबार भएका सबै समूहको उपसूचक ओरालो लागेको छ। व्यापार समूह ६ दशमलव ८५ अंक र होटल समूह २ दशमलव ४८ अंकले बढे पनि अन्य उपसमूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा बढी बीमा समूहको उपसूचक १ सय १९ दशमलव २१ अंकले घटेको छ। उत्पादन समूह ४६ दशमलव ४७, जलविद्युत् समूह ४५ दशमलव ४, लघुवित्त समूह ४३ दशमलव ७६, अन्य समूह १० दशमलव १९ अंकले घटेको छ।

त्यसैगरी बैंकिङ समूह ९ दशमलव ८७ , विकास बैंक समूह ११ दशमलव ४ अंकले घटेको छ। सोमबार सबैभन्दा धेरै सूर्योदय लघुवित्तका शेयरधनीले प्रतिकित्ता ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन्।
त्यस्तै विशाल बजारका लगानीकर्ताले ४ दशमलव ८, पूर्णिमा विकास बैंकका लगानीकर्ताले ३ प्रतिशतले कमाएका छन्। सबैभन्दा बढी गुमाउनेमा भने हिमालयन डिस्टिलरीका शेयरधनीले ९ दशमलव ७४ प्रतिशत र मञ्जुश्री फाइनान्स, अपि पावर कम्पनी, ग्लोबल आईएमई लघुवित्त र एभरेस्ट इन्स्योरेन्सका शेयरधनीले ७ प्रतिशतभन्दा गुमाएका छन्।

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ३६ लाख ७३ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै बढी कारोबार गर्ने कम्पनीमा स्टान्डर्ड चार्टर्ड बैंक १ करोड ७५ लाख ७८ हजार र ग्लोबल आईएमई बैंकको १ करोड ३७ लाख ५३ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्