सशस्त्रमा तीन प्रतियोगिता अर्को साताबाट



नेपाल समाचारपत्र
काठमाडौं
सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिले आगामी साताबाट ३ प्रतियोगिता आयोजना गर्ने भएको छ। फागुन २७ गतेदेखि १४औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुनेछ। योसँगैं १०औं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता र सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता पनि आयोजना हुनेछन्। समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा उक्त प्रतियोगिताबारे जानकारी गराउनुभएको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमअनुसार सञ्चालन हुने र चैत २ गतेसम्म चल्ने उक्त तीनवटै प्रतियोगिताका कूल पुरस्कार राशि १७ लाख ६० हजार रुपियाँ रहेको छ। १० इभेन्टस् समावेश भएको ब्याडमिन्टनको कूल पुरस्कार राशि ७ लाख १० हजार रुपियाँ रहेको छ। १३ इभेन्ट्स समावेश लनटेनिसको कूल पुरस्कार राशि ५ लाख ९५  हजार रुपियाँ रहेको छ। यसैगरी ४ लाख ५५ हजार रुपियाँ कूल पुरस्कार राशि महिला भलिबलका लागि छुट्टयाइएको छ।
भलिबलमा पहिलो हुने टोलीले २ लाख ५० हजार र उपविजेता टोलीले १ लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार रुपियाँ प्राप्त गर्नेछन्। त्यस्तै ब्याडमिन्टनतर्फ पुरुष एकलमा पहिलो हुनेले ६० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुने दुईले समान १२ हजार ५ सय नगद हासिल गर्नेछन्। क्वाटरफाइनलमा पुग्ने प्रत्येकलाई ५ हजार रुपियाँ दिइने पनि पत्रकार सम्मेलनमा जानकारी गरायो। महिला एकलमा पहिलो हुनेल ५० हजार, दोस्रोले २५ हजार रुपियाँ र तेस्रो हुनेले साढे १२ हजार रुपियाँ हात पार्नेछन्।
ब्याडमिन्टनतर्फ पुरुष डबल्समा पहिलो हुनेले ६० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुने दुई जोडीले २५ हजार नगदमा बाँडेर लिनेछन्। महिला डबल्सतर्फ पहिलोलाई ४० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुने दुई जोडीलाई २० हजार रुपियाँमा दामासाही गरेर दिइनेछ।
यसैगरी लनटेनिसतर्फ पुरुष एकलमा पहिलो हुनेले ६० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार तथा क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपियाँ प्राप्त गर्ने छन्। महिला एकलमा पहिलो हुनेले ६० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १० हजार रुपियँँका दरले दुई खेलाडीले पुरस्कार प्राप्त गर्नेछन्।
सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले नेपाल एपीएफ क्लबका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा महत्त्वपूर्ण उपलब्धी हासिल गर्नुका साथै देश र संगठनको इज्जत प्रतिष्ठा बढाएको उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्