महिनावारी हुनु पाप होइन स्वस्थ महिलाको प्रतीक हो



भगवती तिमल्सिना
महिलाको शरीरको विकाससँगै किशोरावस्थामा हुने शारीरिक परिवर्तन र महिनावारीलाई पहिलोपटक किशोरीहरू पूर्वजानकारी नहुँदा निकै आत्तिने गर्दछन्। अझ शारीरिक परिवर्तनसँगै भएको महिनावारी चक्रको समय कतिपयलाई पहिलोपटक अनौठो लाग्ने, नैराश्यता हुने, शरीर भारी हुने, पेट दुख्ने, हातगोडा करकरी खाने, टाउको दुख्ने, वाक–वाक लाग्ने जस्ता समस्या हुन्छन्। यस्तो अवस्थामा परिवारको साथ र सान्त्वनाको आवश्यकता पर्दछ।
नेपालको सन्र्दभमा अझै पनि शहरमा भन्दा ग्रामीण भेगमा महिनावारीलाई छुन नहुने, जन्मदाता बाबु, भाइको अनुहार हेर्न नहुने, छुट्टै घर या गोठमा अँध्यारो कुनामा ७ दिनसम्म बस्नुपर्ने परम्परा कायमै छ। यसले किशोरीमा निकै डर, त्रास, भय, हुनुका साथै नैराश्यता पलाउने गर्दछ। नियमित चक्रलाई धार्मिक, सामाजिक परम्पराका नाममा गरिने विभेदले कतिपय अवस्थामा छाउपडीमा बसेका किशोरीको अकालमा ज्यानै जानेसम्मका घटनाहरू हुने गरेका छन्।
यस्तो अवस्थामा पोषिलो खानेकुरा खानै नहुने, सरसफाइ गर्न नहुने, कपालसम्म कोर्न नहुने, नुहाउन पनि कसैले नदेख्ने गरी राति नै धारा पँधेरामा गएर नुहाउने र लुगा धुने गर्नुपर्ने बाध्यताका कारण कतिपय महिलामा मानसिक र शारीरिक समस्यासमेत उत्पन्न हुने गर्दछ। महिनावारीका समयमा सफा बस्नुपर्नेमा झन् गाईगोठमा पशुलाई झैं राखिन्छ, छाउगोठमा राखिन्छ। खानपानमा सुक्खा खानेकुरा मात्र दिइन्छ।
दही, दूध, घ्यू, फलफूल जस्ता ग्रामीण भेगमा उपलब्ध हुने पोषिलो खानेकुरा खान त परै जाओस् छुनसम्म हुन्न। फलफूलको बोट छुन हुन्न यस्ता परम्परागत व्यवस्था अझै पनि कतिपय ठाउँमा कायमै छ। दही, दूध छुन र खानै हुन्न तर गोबर भकारो सोर्न, गोठालो जान, घाँस काट्न भने तीनै किशोरीलाई लगाइन्छ। बास बस्न घरमा नहुने, बाबु–दाजुलाई हेर्न नहुने, सूर्योदय हेर्न नहुने अनि यी सबैलाई छलेर कामचाहिँ सबै गर्न हुने भन्ने परम्पराको सुधारका लागि सामाजिक सोचमा परिवर्तनको खाँचो छ।
यसो नगर्दा कतिपय युवती रजस्वला भएकै बेला बलात्कृत हुने, यस्ता पीपासुको पन्जामा परेर प्रतिकार गर्न खोज्दा हत्यासमेत हुने गरेका घटना बढ्दो क्रममा छ। यसलाई रोक्न कानुनीरूपमै छुई प्रथाको अन्त्य गरिनुपर्छ र किशोरीको समानरूपमा बाच्न पाउने अधिकारको रक्षा गर्ने दायित्व राज्यले बोध गर्नुपर्छ। महिलालाई गर्भदेखि नै गरिने अपहेलनाको अन्त्यका लागि समाजको परिवर्तनकारी कडा कानुनी व्यवस्था हुनुपर्छ।
महिनावारी हुँदा कतिपयलाई तल्लो पेट दुख्ने, स्तन दुख्ने, ढाड दुख्ने, हात खुट्टा करकर खाने, कसैलाई बेचैन, तनाव हुने, टाउको दुख्ने पनि हुन सक्छ। सामान्य अवस्थामा पहिलो दिनदेखि ७ दिनसम्म रगत बग्नु समान्य हो तर कसैकसैलाई त्योभन्दा बढी हुन गएमा उपचार गराउनुपर्छ। यदि २ घण्टामा नै प्याड फेर्नुपर्ने अवस्था भयो भने यस्ता अवस्थामा असामान्य रगत बगेको मानिन्छ।
विकसित मुलुकमा महिनावारी भनेको सामान्यरूपमा लिइसकेको अवस्थामा नेपाल जस्ता मुलुकमा भने निकै अपवित्र भन्ने संज्ञा दिनुले महिला हरेक पलमा पछाडि पारिएको छ। महिनावारी भएकाले छुन नहुने, पकाउन नहुने, पानी ल्याउन नहुने, पुरुषको अनुहार देख्नसम्म नहुने जस्ता प्रतिबन्धित सामाजिक संस्कारका कारण महिलामा मानसिक समस्याले निकै ठूलो जरा गाडेको छ। खानपान र सरसफाइ नहुँदा शारीरिकरूपमा कमजोर हुनुका साथै अन्य संक्रमणको सम्भावना बढेर गएको छ। सानै उमेरमा पोषणको अभावले कूपोषण हुने, महिनावारी भएका बेला खानपानको व्यवस्था नगरी काम मात्र गराउँदा, मुर्छा पर्ने, बेहोस हुने, सानै उमेरमा आङ खस्ने जस्ता समस्यासमेत हुने गरेको विज्ञहरूको ठम्याई रहेको छ।

महिनावारी भनेको के हो ?

महिला किशोरावस्थामा प्रवेश भएदेखि गर्भधारण नभएसम्म हरेक महिना गुप्ताङ्गबाट रगत बग्ने गर्छ। यो क्रम २ देखि ७ दिनसम्म हुन्छ र आफैं रोकिन्छ।

किन महिनावारी भनिएको हो ? 

महिनामा एकपटक रगत बग्ने भएकाले यसलाई महिनावारी (रजस्वला हुनु, पर सर्नु, नछुने हुनु, छुई हुनु जस्ता) शब्दमा उच्चारण गरिन्छ। महिनावारी हुने भनेको एउटा चक्र हो। यो चक्र व्यक्तिअनुसार २१ देखि ३५ दिनमा हुने गर्दछ। डिम्बाशयको डिम्ब (अण्डा) परिपक्व भएपछि केटीको पहिलो महिनावारी हुन्छ। महिनावारी सामान्यतया शरीरको विकाससँगै हुने गति हो। यो ८ वर्षदेखि १९ वर्षको उमेरमा शुरु भई ४५ वर्षदेखि ५५ वर्षसम्म हुने चिकित्सा विज्ञानले पहिचान गरेको छ।

महिनावारी शुरु भएपछि एक प्रकारको सेतो पानी गुप्ताङ्ग (योनी) बाट बग्न सक्छ। यो सामान्य हो तर यो गह्नाउने वा योनी वरिपरि चिलाउने वा पोल्ने भएमा यसको उपचार गर्नुपर्छ। महिनावारी हुँदा यौनाङ्गको सरसफाइ राम्रोसँग भएन भने यस्तो समस्या हुने गर्दछ।
महिनावारी प्राकृतिक र स्वाभाविक प्रक्रिया हो र स्वस्थ अवस्थाको पहिचान पनि हो तर यसको बारेमा सही जानकारी नहुँदा पहिलोपटक महिनावरी हुँदा धेरै किशोरी आत्तिने गर्छन् र केहीले रोग लाग्यो भन्ने पनि सोच्छन्। त्यसैले बालिकालाई घरमा, स्कुलमा महिनावारी शुरु हुनुभन्दा अघि नै यसको बारेमा जानकारी दिनुपर्छ। केही समुदायमा आमा, दिदी, फुपू, हजुरआमाहरूले महिनावारीको बारेमा जानकारी दिने, कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा सिकाउने गर्छन्। कतिपय अवस्थामा बुबा, दाइ, शिक्षक–शिक्षिकाहरूले पनि यसबारे सिकाउने र व्यवस्थापन गर्ने गरेको पाइन्छ।

महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरूः पोषणयुक्त खानेकुरा

 

महिनावारी भएको बेला शरीरबाट रगत बग्छ। त्यसैले बगेको रगतको क्षतिपूर्ति गर्न र शरीलाई बलियो बनाउन पौष्टिक खाना सागसब्जी, तरकारी, फलफूल दूध, दही, गेडागुडी, कोदो, फापर प्रसस्त मात्रामा खानुपर्छ। टुसा उमारेको गेडागुडी, चाकु, फलामको भाँडामा पकाएको दाल, गहत आदिको प्रयोगले किशोरीलाई स्वस्थ बनाउँछ। यसले रक्त अल्पताबाट बचाउँछ।

व्यक्तिगत सरसफाइ

 

महिनावारी भएको बेला सरसफाइमा विशेष ध्यान दिनु आवश्यक हुन्छ। सरसफाइ भएन भने गह्नाउने सेतोपानी बग्ने, योनी चिलाउने, पिसाब पोल्ने तथा संक्रमण हुन सक्छ। सफाइको कमीले यौनाङ्गमा घाउ भई हिँड्न गाह्रो हुने हुन्छ। यस्तो अवस्थामा यौनाङ्गलाई ओभानो राख्ने र पटक–पटक सरसफाइ गरी सुख्खा राख्नुपर्छ। चिसो राख्दा संक्रमणका साथै छाला खुइलिने (पाच्छने) र हिँड्नै गाह्रो हुने हुन्छ। यस्तो हुन नदिनका लागि लामो पैदल यात्रामा हिँड्दा यौनाङ्ग ओभानो राख्ने, प्याड फेरिरहने र सफा गरिरहने गर्नुपर्छ।
यौनाङ्ग सफा पानीले धुनुपर्छ। रगत लतपतिएको छ भने मनतातो पानी र साबुनले सफा गर्नुपर्छ। यो बेला पानीमा फिटकिरी हालेर पनि यौनाङ्ग सफा गर्न सकिन्छ।
महिनावारी भएको बेला नुहाउनु हुँदैन, कपाल कोर्नु हुँदैन भन्ने गलत परम्परालाई मान्नु हुन्न। महिनावारी भएको बेलामा अरू बेलामा भन्दा अझ बढी सफा रहनुपर्छ र सामान्य अवस्थामा जस्तै नुहाउनुपर्छ।

महिनावारी हुँदा बगेको रगतको व्यवस्थापन कसरी गर्ने ?

 

महिनावारी हुँदा रगतलाई जथाभावी बाहिर लाग्न, चुहिन नदिन कसैले सुती घरेलु कपडाको टुक्रा त कसैले बजारमा पाइने प्याडहरू प्रयोग गर्ने गर्दछन्। महिनावरी हुँदा घरमा भएका सामान र घरेलु, सुतीको कपडाले घरेलु प्याड आफैंले बनाउन पनि सकिन्छ। यो सजिलो, सस्तो र धोएर घाममा सुकाएर बारम्बार प्रयोग पनि गर्न सकिन्छ।

यस्तो अवस्थामा के गर्ने ?

 

तल्लो पेटमा हलुका मालिस गर्ने।
रबरको थैलो वा बोतलमा तातो पानी राखेर कपडामा बेरेर सेक्ने। रबरको थैला नभए ढुंगा या इँटा तताएर कपडामा बेरेर पनि सेक्न सकिन्छ।
ऐंसेलुको पात, तीतेपाती र अदुवाको धूलो राखी तातोपानी पिउने। यस्तो बेलामा चिया, कफी कम खानुपर्छ।
यदि धेरै रगत बगेमा स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ।
दूध, दही, फलफूल, सागपात, गेडागुडीको झोल खाने।
धेरै दिनसम्म धेरै मात्रामा रगत बगेको अवस्थाबाहेक सामान्य अवस्थामा घरका हलुका काम गर्न सकिन्छ।

महिनावारीसम्बन्धी समाजको धारणा कस्तो छ ?

 

महिनावारीसम्बन्धी समुदायअनुसार फरक–फरक धारणा पाइन्छन्। महिलाले प्रत्येक महिनावारीमा छाउपडी बस्ने, मन्दिर जान नहुने, भान्छामा जान नहुने, धारापानी छुन नहुने, बोटबिरुवा छुन नहुने, दूध, दही खान नहुने र यदि छोइयो वा नबारे पाप लाग्ने जस्ता विभिन्न प्रकारका मान्यताहरू छन्। तर, नेपालका कतिपय समुदायले महिनावारी भएको बेलामा बार्दैनन् र कुनै समस्या पनि भएको छैन। महिनावारी पापको परिणाम हो, महिनावारी भएको बेलामा शरीर फोहोर र अशुद्ध हुन्छ भन्ने कुरा सत्य होइन। महिनावारी हुनु भनेको पूर्ण महिला हुनुको प्रतीक हो, जसले महिलालाई आमा बन्न सक्ने क्षमताको संकेत गर्दछ। यो बेलामा दूध र दूधजन्य परिकारहरू, सागसब्जी खान, भान्छामा जान र खाना बनाउन, सधैं सुत्ने कोठा र खाटमा सुत्न, बोटबिरुवा छुनका साथै खेल्न, पढ्न, लेख्न सकिन्छ। शारीरिक प्रक्रयालाई धार्मिक या सामाजिक नाममा गलत परिभाषा र व्यवहार गर्दा किशोरीको समानरूपमा खेल्न, खान, हिँड्न पाउने नैसर्गिक अधिकारमाथि प्रतिबन्ध लगाउने कार्यको अन्त्यका लागि कानुनी र सामाजिकरूपमै सुधारको खाँचो छ।
(स्रोत सामाग्रीः महिला प्रजनन अधिकार कार्यक्रम वातावरणीय कृषि तथा विकास केन्द्र (केड)।
घरेलु प्याड कसरी बनाउने ?
नरम, सोस्ने र छिटो सुक्ने कपडाहरू सुतीको धोती, मलमलको कपडा, सिरकको खोल आदि संकलन गर्ने।
४ बित्ता लम्बाइ र ३ बित्ता चौडाइको टुक्रा (रुमाल) बनाउने।
टुक्रा बनाएको कपडा साबुन पानीले राम्ररी धोएर घाममा सुकाउने।
टुक्रा कपडालाई पट्याउने (रगत सोस्नका लागि)।
रगत सोसिएर कट्टुमा लाग्न नदिने गरी मध्यभागको दुवैतिरको साइड काटेर मिलाउने। यस्तो गरेर कम्तीमा पनि ४ देखि ५ वटा बनाएर तयारी अवस्थामा राख्ने र चिसो हुनासाथ फेर्ने।
प्रयोग गर्ने तरिका
काटेको टुक्रा मिलाएर कट्टुमा राख्ने र छेउमा निस्केको भागलाई दोबारेर नसर्ने बनाउने। यसो गर्नाले कट्टुमा रगत लत्पतिँदैन र सफा हुन्छ।
त्यसपछि तल्लो भागमा मिलाएर पोलिथन राख्ने र त्यसमाथि कपडाको प्याड राख्ने।
झर्न, सर्न नदिन बलियो हुप सियोले अगाडि–पछाडि दुई छेउमा अड्काउन सकिन्छ तर कहिलेकाहीं पिन खुलेर घोच्न सक्ने सम्भावना भने हुन्छ। यसबाट सुरक्षा अपनाउनका
लागि प्याडमा तुना या टाँक
राख्न सकिन्छ।
यस्तो अवस्थामा लामो कम्मरसम्म पुग्ने कट्टु इलास्टिक खुकुलो नभएको लगाउनुपर्छ।
स्वास्थ्यलाई ध्यानमा राखी यस्तो प्याड ४ देखि ६ घण्टाको फरकमा आवश्यकताअनुसार फेरिरहनुपर्छ। यसो नगरे संक्रमण हुने प्रवल सम्भावना हुन्छ।

घरेलुरूपमा तयार पारेको प्याड एकपटक प्रयोग गरिसकेपछि राम्रोसँग खोलेर सफा पानी र साबुनले धोएर घाममा सुकाउनुपर्छ।

सुकिसकेपछि राम्ररी पट्याएर अर्कोपटकको प्रयोगका लागि ओभानो र सफा ठाउँमा सुरक्षितरूपमा राख्नुपर्छ।
महिनावारी हुँदा कतिपयलाई तल्लो पेट दुख्ने, स्तन दुख्ने, ढाड दुख्ने, हात खुट्टा करकर खाने, कसैलाई बेचैन, तनाव हुने, टाउको दुख्ने पनि हुन सक्छ। सामान्य अवस्थामा पहिलो दिनदेखि ७ दिनसम्म रगत बग्नु समान्य हो तर कसैकसैलाई त्योभन्दा बढी हुन गएमा उपचार गराउनुपर्छ। यदि २ घण्टामा नै प्याड फेर्नुपर्ने अवस्था भयो भने यस्ता अवस्थामा असामान्य रगत बगेको मानिन्छ।

प्रतिक्रिया दिनुहोस्