पाकिस्तानी प्रधानमन्त्री अाज नेपाल आउँदै



काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने नेपाल भ्रमणका लागि आज आउँदैछन् । ३० सदस्यीय प्रतिनिधिमण्डलसहित अब्बासी अाज अपरान्ह सवा तीन बजे नेपाल आउन लागेका हुन् ।

पाकिस्तानी प्रधानमन्त्रीको आकस्मिकरुपमा हुन लागेको नेपाल आगमनलाई कुटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । अब्बासीले नेपालमा १० बिताउने घण्टालाई राजनीतिक भेटघाटमा उपयोग गर्ने बताइएको छ ।

निजी विमानबाट नेपाल आउन लागेका अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गर्नेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी सीधै होटल याक एण्ड यतीमा जानेछन् । त्यसपछि सैनिकमञ्च टुँडिखेल पुग्नेछन् त्यहाँ उनको सम्मानमा नेपाली सेनाको टोलीले ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ । साँझ साढे ५ बजे गार्ड अफ अनरको समय निर्धारण गरिएको सैनिक स्रोतले जानकारी दिएको छ ।

उक्त सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागीता रहनेछ ।यसअघि विशिष्ट अतिथिलाई त्रिभुवन विमानस्थलभित्रै गार्ड अफ अनर प्रदान गरिन्थ्यो ।

टुँडिखेलबाट अब्बासी होटल याक एण्ड यती फर्किने छन् । उनको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोही होटलमा रात्रीभोजको आयोजना गरेका छन् । रात्रीभोजसँगै ओली र अब्बासीबीच भेटवार्तासमेत हुनेछ । भेटवार्ताको समय एक घण्टा निर्धारण गरिएको छ ।
भेटमा अब्बासीले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइ दिने र द्विपक्षीय हितका विषयमा छलफल हुने प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ ।

नेपालस्थित पाकिस्तानी दूतावासले जारी गरेको विज्ञप्तिमा पनि प्रधानमन्त्री अब्बासीले नेपालमा प्रजातान्त्रिक प्रक्रियाबाट नयाँ सरकार बनेको र केपी शर्मा ओली नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइ दिने उल्लेख गरिएको छ । दूतावासको विज्ञप्तिअनुसार भेटवार्तामा आगामी सार्क सम्मेलन आयोजनाका विषयमा पनि छलफल हुने उल्लेख छ ।

२०७१ मंसिरमा नेपालमा सार्क सम्मेलन आयोजना भएपछि अर्को सम्मेलन पाकिस्तानमा आयोजना गर्ने निर्णय भएको थियो । तर, भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण सम्मेनल अन्तिम समयमा स्थगित गरिएको थियो । पाकिस्तान आगामी सार्क सम्मेलन आयोजक राष्ट्र भएकाले त्यसलाई आयोजना गर्न नेपालको सहयोगको अपेक्षा गरेको अनुमान गरिएको छ । यस्तै गत वर्ष नेपालबाट बेपत्ता बनाइएका पाकिस्तानी पूर्वकर्णेलको विषयलाई पनि अब्बासीले उठाउने अनुमान गरिएको छ ।

साथै द्विपक्षीय व्यापार, पर्यटन, शिक्षा, रक्षालगायतका विषयमा पनि ओलीसँगको भेटमा छलफल हुने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले मंगलबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि उनी स्वदेश फर्किनेछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्री बाहेक अन्य नेताहरुसँग अब्बासीको भेटवार्ता तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्