अर्थमन्त्रीको अभिव्यक्तिले शेयर बजारमा हलचल, नेप्से वर्षकै न्यून, लगानीकर्ताले एकै दिन ४७ अर्ब गुमाए



हेमन्त जोशी, काठमाडौं

नीति निर्माता र लगानीकर्ताबीचको जुहारी विगतदेखि हुँदै आएको छ। नीति निर्माताका अभिव्यक्ति कहिलेकाहीँ लगानीकर्ताका निम्ति निक्कै महँगो सावित हुने गरेको छ। यसैक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाको शेयरको लगानी अनुत्पादक रहेको अभिव्यक्तिपछि आइतबार पुँजी बजारमा उच्च गिरावट आएको शेयर लगानीकर्ताको आरोप छ।

आइतबार पुँजीबजार ४१ दशमलव ५६ अंकले ओरालो लागेपछि एकै दिन शेयर बजारका लगानीकर्ताले ४७ अर्ब रुपियाँ गुमाएका छन्। अघिल्लो साता समग्रमा ४० अंकले घटेको बजार साताको पहिलो दिन नै उक्त अंकले घटेको हो। ५० अंकभन्दा धेरै घटेको भए पनि कारोबार बन्द हुने बेला सुधार भएर ४१ अंकको गिरावटमा रोकिएको हो।

नेप्सेमा कारोबार शुरू भएदेखि नै तीव्र गतिले ओरालो लाग्दै जाँदा वर्षको सबैभन्दा न्यून विन्दु १३ सय ४ दशमलव ४३ अंकमा नेप्से झरेको छ। यस दिन कारोबार भएका १ सय ५१ वटा कम्पनीमध्ये दुई कम्पनीका शेयरधनीले मात्र नाफा कमाएका छन्। सूर्योदय लघुवित्त र स्वदेशी लघुवित्तबाहेक अन्य सबै कम्पनीको शेयर मूल्य ओरालो लागेको हो।
अर्थतन्त्रका जानकारका रूपमा परिचित खतिवडा अर्थमन्त्रीमा नियुक्त भएपछि उनका विगतका नीति र व्यहारका कारण पुँजी बजारका लगानीकर्ता त्रसित हुँदै आएका थिए। कतै उनले पुँजी बजारमा अंकुश लगाउने त होइननु भन्ने त्रास भइरहेका बेला अर्थमन्त्रीको पुँजीप्रति नकरात्मक दृष्टिकोण सार्वजनिक भएको र त्यसैका कारण बजारमा गिरावट भएको लगानीकर्ताको आरोप छ।

पुँजीबजार अनुत्पादक क्ष्ँेत्र हो भन्ने अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्ति पुँजी बजार घट्नुको कारण रहेको भन्दै शेयर लगानीकर्ता संघ नेपालले विरोध जनाएको छ। अर्थमन्त्री खतिवडा शेयर बजार, सवारीसाधन र घरजग्गा कारोबारका विषयमा बढी अनुदार नीति अवलम्बन गर्ने व्यक्तिका रूपमा चिनिन्छन्। खतिवडाले ती तीनवटा क्षेत्रमा विदेशी लगानी बन्देज गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो। अर्थमन्त्रीमाथि शेयर बजार ध्वस्त बनाउने खोजेको आरोपका विषयमा अर्थमन्त्री खतिवडासँग पटक–पटक सम्पर्क गर्न खोजे पनि उहाँ सम्पर्कमा आउनु भएन।

संघले अर्थमन्त्रीबाट पुँजीबजारलाई निरुत्साहित तुल्याउने वातावरण सिर्जना गर्नु र त्यस्तो अभिव्यक्ति दिइनु दुर्भाग्यपूर्ण र निन्दनीय रहेको जनाएको छ। यस विषषमा संघका अध्यक्ष उत्तम अर्यालले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो–‘राज्यको जिम्मेबार निकायमा बसेको व्यक्तिले बजारमा हस्तक्षेप हुने खालको अभिव्यक्ति दिन नहुँदै।’ उहाँले भन्नुभयो–‘शेयर बजारमा गिरावट आउनुको शतप्रतिशत कारण अर्थमन्त्रीको धारणा हो। कुनै कम्पनीको शेयर मूल्यमा थपघट हुनु स्वभाविक प्रक्रिया हो। तर, जिम्मेवार निकायमा रहेको व्यक्तिले पुँजी बजारको निरन्तर प्रक्रियामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हाम्रो धारणा हो।’
सरकारले शेयर बजारप्रति अनुदार नीति लिने हो भने त्यही अनुरूपका नीति नियम बनाउनुपर्ने अन्यथा स्वतन्त्र बजार व्यवस्थामा विभिन्न किसिमका अभिव्यक्ति दिएर हस्तक्षेप गर्न नहुने अर्यालको भनाइ छ।

‘तीनखम्बे अर्थनीतिका पक्ष्ँपाती अर्थमन्त्रीबाट पुँजीबजारको बारेमा नकारात्मक टिप्पणी धारा प्रवाह रूपमा आउनु, तरलता समाधानमा कुनै चासो नदेखाउनु र सरकारको पुँजी बजारप्रतिको धारणा के हो भन्ने प्रस्ट नपार्नुले १६ खर्ब रुपियाँ बराबरको पुँजीबजारलाई अर्थमन्त्रीले निरुत्साहित तुल्याएको’ संघले जनाएको छ।

संघले बजार सुधारका लागि अनलाइन कारोबार प्रणाली, शेयर कर्जा रकममा वृद्धि तथा वित्तीय संस्थालाई शेयर कारोबार गर्ने ब्रोकर कम्पनीको अनुमतिपत्र दिनुपर्नेलगायतका माग राखेको छ।

आईपीओको मूल्यमा झर्दै दोस्रो बजारको मूल्य
काठमाडौं, (नेस)
पुँजी बजारमा आएको गिरावटसँगै अधिकांश वाणिज्य बैंकको दोस्रो बजारको शेयर मूल्य आरोलो लाग्दै गएको छ। जसका कारण प्राथमिक शेयर मूल्य र दोस्रो बजारबीचको मूल्यमा निकै कम अन्तर छ।

आइतबारको कारोबारअनुसार ३ वटा वाणिज्य बैंकको शेयर मूल्य २ सय रुपियाँभन्दा कम छ। सिभिल बैंकको प्रतिकित्ता शेयर मूल्य १ सय ५५ रुपियाँ, जनता बैंकको १ सय ६५ रुपियाँ र सेञ्चुरी बैंकको १ सय ७९ रुपियाँ रहेको छ। ९ वटा वाणिज्य बैंकको प्रतिकित्ता शेयर मूल्य २ सयदेखि ३ सयको बीचमा छ।
केही जलविद्युत् कम्पनीको पनि दोस्रो बजारको शेयर मूल्य प्राथमिक मूल्यको हाराहारीमा छ। नेसनल हाइड्रोपावर कम्पनीको प्रतिकित्ता शेयर मुल्य १ सय २ रुपियाँ, रिडी हाइड्रोपावर कम्पनीको १ सय ३० रुपियाँ, सिनर्जी पावरको १ सय ३५ रुपियाँ, अरूण भ्यालीको १ सय ७२ रुपियाँ र नेपाल हाइड्रोको १ सय ९६ रुपियाँ रहेको छ।

बजार व्यवस्थित गर्न बोर्डको नयाँ योजना
काठमाडौं, (नेस)
नेपाल धितोपत्र बोर्डले सेयर बजार घट्ने र बढ्ने निरन्तर र स्वभाविक प्रक्रिया भए पनि त्यसको व्यवस्थापनका लागि केही योजनाहरू ल्याउने तयारी गरिरहेको जनाएको छ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले सेयर बजार अर्थशास्त्रको माग र आपूर्तिको सिद्धान्तमा आधारित हुने भएकाले बढ्ने र घट्ने प्रक्रिया स्वाभाविक रहेको बताउनुभयो। तर कारोबार प्रक्रिया र बजार व्यवस्थालाई थप सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन बोर्डले केही योजना ल्याउन लागेको गिरीको भनाइ छ।

बोर्डले केही समयभित्रै अनलाइन कारोबार शुरू गर्ने, बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारको अनुमति दिने तथा गैरआवासीय नेपाली संघ (एनआरएन) मार्फत लगानी भित्त्याउने गरी व्यवस्था गर्नेलगायतका कार्यक्रम ल्याउने तयारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्