जिम्बावेको विशाल लक्ष्यमा नेपाल पराजित



नेपाल समाचारपत्र
काठमाडौं
नेपालको आईसीसी विश्वकप क्रिकेट छनोट चरणमा शुरूआत राम्रो हुन सकेन। जिम्बावेले ३ सय ८१ रनको विशाल लक्ष्य दिएपछि नै नेपालका लागि हार बेहोर्नेबाहेक अर्को विकल्प बचेन। एक त घरेलु मैदान अर्को वान डेमा लामो समय खेलेको अनुभव बटुलिसकेको जिम्बावेसँग नेपालले कुनै चमत्कार देखाउन सकेन। नेपाल जिम्बावेसँग स्वाभाविकरूपमा ब्याटिङ र बलिङमा पछाडि रह्यो। नेपालले पारस खड्कालाई गुमाएपछि नै कति रनले हार्ने त्यसका लागि मात्रै संघर्ष गर्नुपर्यो।

त्यसो त १ सय १६ रनको फराकिलो हार बेहोरेको नेपालले ५० ओभर खेलेको थियो। नेपालले ८ विकेटको नोक्सानीमा २ सय ६४ रन बनाएको थियो। ओपनरमा ज्ञानेन्द्र मल्ल र दिलीप नाथले ब्याटिङ सम्हालेका थिए। उनीहरूको जोडी अघिल्ला खेलमा झैं छिट्टै टुट्यो। चताराको बलमा दिलीप २ रन बनाएर आउट भएपछि चौथो ओभरमा कप्तान पारस क्रिजमा आएर विस्फोटक ब्याटिङ गरे। पारसले लगातार चौका प्रहार गरेर नेपाललाई आशा जगाए। तर उनी लामो समयसम्म टिक्न नसक्नु नेपालको दुर्भाग्य बन्यो। उनी ४० रन बनाएर सिकन्दर राजाको बलमा बोल्ड भएपछि नेपालका लागि जित्ने ढोका विस्तारै बन्द हुन थाल्यो। पारसले ३७ बलमा ८ चौका प्रहार गरेका थिए।

पछि आएका ब्याटसम्यानलाई जिम्बावेका बलरले दबाबमा राखेर बलिङ गर्न थाले। दीपेन्द्र सिंह ऐरी पनि २३ रनमै पवेलियन फर्केसँगै ज्ञानेन्द्र पनि आउट भए। ज्ञानेन्द्रले ३ चौकाको सहयोगमा ३२ रनको योगदान दिएका थिए। यतिबेलासम्म नेपालले २५ ओभरमा ४ विकेट गुमाएर १ सय १० रन बनाएको थियो। यसको मतलब नेपालले बाँकी २५ ओभरमा २ सय ७१ रन जोड्नुपर्ने कठिन समीकरण बन्न पुग्यो। लगभग नेपालले जिम्बावेसामु आधा ओभरसम्म पुग्दा हार्ने छनक देखाइसकेको थियो। नेपालले जित्ने भनेको चमत्कार नै हुनुपर्ने थियो। तर अघिल्ला प्रतियोगितामा झै यहाँ केही पनि चमत्कार भएन।

यद्यपि शरद् भेषवाकर र आरिफ शेखले अर्धशतक बनाएर नेपाली ब्याटिङ उठाउन खोजे। तर त्यो अर्धशतकले नेपाल जित्ने कुनै संकेत भने हुन सकेन। केबल नेपालले हारको रनअन्तरलाई मात्रै कम बनाउन सहयोगी भएको थियो। शरद्ले ४८ बलमा ५२ रन र आरिफले ५९ बलमा ५० रन जोडेका थिए। शरद्ले १ छक्का र ६ चौका प्रहार गरे भने आरिफले ५ चौका प्रहार गरेका थिए। शरद्ले हानेको छक्का नेपाली ब्याटिङमा भएको एक मात्र छक्का सावित भएको थियो।

यसअघि नेपाली बलरले जिम्बावेका अनुभवी ब्याटसम्यानलाई अंकुश लगाउन सकेनन्। यसैले पनि जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ८० रन बनाएको थियो। जसमा दुई ब्याटसम्यानले नेपालका लागि समस्या ल्याएका थिए। ब्रेन्डान टेलरले १ सय रन र सिकन्दर राजाले १ सय २३ रन बनाएका थिए। नेपाली बलरलाई खास गरी राजाले सबैभन्दा बढी चल्न दिएनन्। अल राउन्डर राजाले ९ छक्का र ४ चौका हानेका थिए।

नेपाली बलरमा सबैभन्दा बढी सोमपालको बलमा ६ छक्का हिर्काइएको थियो। ललित नारायण राजवंशीको यो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय थियो। जसमा उनले १० ओभरमा ६२ रन दिएर १ विकेट लिए। विश्वस्तरीयका खेलाडी रहेको जिम्बावेविरुद्ध सन्दीप लामिछानेले ६४ रन दिएर एक विकेट हात पारे। वसन्तले ६९ रन दिएर दुई विकेट लिँदा सोमपालले अन्तमा दुई विकेट लिएर महँगो बलिङमा मलहम लगाए। उनले ८ ओभरमा ८२ रन खर्चेका थिए। नेपालले दोस्रो खेल बिहीबार स्कटल्यान्डसँग खेल्नेछ। स्कटल्यान्डले हिजो अफगानिस्तानलाई हराएको थियो।

प्रतिक्रिया दिनुहोस्