स्कुललाई अक्षयकोष



पर्वतको कुस्मा नगरपालिका–१४ आर्थर डाडाँखर्कस्थित पञ्चकोशी माविलाई चौरासी पूजाको अवसर पारेर एक दम्पतीले २ लाख नगद सहयोग गरेका छन्।

आर्थर डाडाँखर्क मेथेडाडाँ घर भई पोखरा बस्दै आउनुभएका ओमप्रसाद गुरुङ र हितकुमारी गुरुङले बिहीबार चौरासी पूजामा विद्यालयलाई २ लाख रुपियाँ नगद सहयोग गर्नुभएको हो। विद्यालयमा भूतपूर्व विद्यार्थीले शैक्षिक र भौतिक विकासका लागि ५ करोड संकलन गर्ने लक्ष्य राखेर अभियान शुरु गरेका छन्।

गुरुङ दम्पतीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्मालाई चौरासी पूजाकै अवसरमा नगद हस्तान्तरण गर्नुभएको हो। बौद्ध संस्कृतिअनुसार पञ्चकोशी समाज पोखरामा उहाँको चौरासी पूजा सम्पन्न भएको छ। चौरासी पूजाका अवसरमा विद्यालयको शैक्षिक र भौतिक विकास होस् भन्ने उद्देश्यले सहयोग गरिएको गुरुङका कान्छा छोरा मनोज गुरुङले बताए। उनले विद्यालयका लागि भूतपूर्व विद्यार्थीले अक्षयकोष बनाउन ५ करोड उठाउने लक्ष्यलाई सहयोग पुर्याउन उक्त सहयोग गरिएको जानकारी दिए।

पञ्चकोशी माविमा भूतपूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट आर्थिक सहयोग अभियान चलाइरहेका छन्। अहिलेसम्म झण्डै ३० लाख रुपियाँ संकलन गरी २० लाख रुपियाँको ब्याजबाट एक जना शिक्षकलाई तलब खुवाउँदै आइएको छ भने गाउँमै मन्टेश्वरी विधिबाट शिक्षा दिन शिक्षकलाई तालिम, कक्षाकोठा व्यवस्थापनको काम पनि भूतपूर्व विद्यार्थीले गर्दै आएका छन्। दुर्गम गाउँमा शहरमा महँगो शुल्क तिरेर दिइने स्तरमै मन्टेश्वरी कक्षा सञ्चालन भइरहेको छ। भूतपूर्व विद्यार्थीले विभिन्न कार्यक्रम र अभियानमार्फत ५ करोड उठाउने लक्ष्यसहित काम भइरहेको भूतपूर्व विद्यार्थी मञ्चकी उपाध्यक्ष बबिता शर्माले बताइन्।

विद्यालयका लागि एक महिना पहिले कादुरी संस्थाका प्राविधिक प्रमुख नारायण गुरुङले १ लाख रुपियाँ बराबरका फर्निचर सहयोग गर्नुभएको छ।
चौरासी पूजाकै अवसरमा आर्थर बड्गाउँमा निर्माणाधीन पञ्चासे आमा समूहको भवनमा मुख्य प्रवेशद्वार बनाउन लाग्ने सम्पूर्ण खर्चसमेत उहाँको परिवारले बेहोर्ने घोषणा पनि गरिएको छ। यसै गरी पोखराको रामघाट गुम्बालाई १ लाख ५ हजार, आनि गुम्बालाई ४० हजार, बाह्रबीसे पैङीलामा परिवारलाई ५० हजार, पञ्चकोशी आर्थरडाडाँखर्क समाज पोखरालाई २५ हजार, पञ्चकोशी आर्थरडाडाँखर्क महिला समूहलाई १० हजार, साङनाङ दोर्जे छोलिङ गुम्बा डाडाँखर्क गुम्बालाई १० हजार, भाइ समाज पोखरालाई १० हजार, स्वर्गीय हर्कबहादुर गुरुङ अक्षयकोषलाई ५ हजार सहयोग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्