कलाकार संघको सम्मान र सभा



नेपाल चलचित्र कलाकार संघले १६औं वार्षिक साधारणसभाको अवसरमा विभिन्न कलाकर्मी तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ।राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार एक समारोह आयोजना गर्दै संघले ख्यातिप्राप्त हास्यव्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार–२०७४ बाट सम्मानित गरेको छ। मह जोडीलाई प्रमुख अतिथि जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले १ लाख ११ हजार १ सय ११ रुपियाँ र ताम्रपत्रसहित पुरस्कृत गरेका हुन्। त्यसै गरी अभिनेता आरपी पन्तलाई ५१ हजार १ सय ११ रुपियाँसहित नेपाल चलचित्र कलाकार संघ शान्ति मास्के राष्ट्रिय पुरस्कार–२०७४ बाट पुरस्कृत गरिएको छ। पन्तले पुरस्कारबापत पाएको रकम कलाकार कल्याणकारी कोषलाई प्रदान गरेका छन्।

नृत्य निर्देशक वसन्त श्रेष्ठ र निर्माण नियन्त्रक गेहेन्द्रप्रसाद धिमाललाई नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान–२०७४ बाट सम्मान गरिएको कार्यक्रममा तुलसी गिरी ‘भावुक’, गीता अधिकारी र आरके सुवेदीलाई नेपाल चलचित्र कलाकार संघ चलचित्र पत्रकारिता सम्मान–२०७४ बाट सम्मानित गरिएको छ। त्यसै गरी नायिका दीपिका प्रसाईंलाई नेपाल चलचित्र कलाकार संघ नवप्रतिभा प्रोत्साहन सम्मान–२०७४ प्रदान गरिएको कार्यक्रममा कलाकार संघका लागि विशेष योगदान पुर्याएबापत निर्देशक निर्देशक राजेन्द्र सलभ, अभिनेता जय श्रेष्ठ, अधिवक्ता शम्भु निरौला र कलाकार प्रकाश धिताललाई नेपाल चलचित्र कलाकार संघ सेवा सम्मान–२०७४ बाट सम्मान गरियो। पुरस्कार तथा सम्मान जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति संगीतकार शम्भुजित बासकोटाले प्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले नेपाली चलचित्र क्षेत्रमा उल्लेख्य योगदानसँगै सामाजिक कार्यमा समेत योगदान गर्दै आएको मह जोडीलाई पुस्कार प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले चलचित्रको विकास र विस्तारमा कलाकारको महत्त्वपूर्ण भूमिका हुने चर्चा गर्दै नेपाली कलाकारले विदेशमा गएरसमेत आफ्नो कला प्रस्तुत गर्दा खुसी लागे पनि कतिपय कलाकार विदेशमै बसिदिनुचाहिँ राष्ट्रलाई माया गर्नेहरुका लागि नराम्रो पक्ष भएको बताए।

पुरस्कृत अभिनेता मदनकृष्ण श्रेष्ठले आफूहरूलाई संघले पुरस्कृत गरेर अझ जिम्मेवारी थपिदिएको चर्चा गर्दै कलाकार संघले गरेको सामाजिक कार्यको स्मरणसमेत गरे। त्यस्तै संघका अध्यक्ष रामकेशर बोगटीले पुरस्कृत एवं सम्मानित कलाकर्मीको चर्चा गर्दै संघले एक वर्षभरि गरेको विभिन्न कार्यक्रम र भावी योजनाबारे जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्