डोटीका स्वास्थ्य संस्था १४ दिनदेखि ठप्प



विमल विष्ट, डोटी । जिल्लामै नबसी सरकारी चिकित्सकहरुले कुटपीटको बिरोध गर्दै १४ दिनदेखि जिल्ला अस्पताल डोटी लगायत स्वास्थ्य संस्था ठप्प पारेका छन् ।

फागुन ६ गते जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर जितेन्द्र सिंह माथि कुटपीट गरेको बिरोधमा अस्पतालका मेडिकल सुपरिटेन्डेन सहित चिकित्सहरुले दोषीलाई कार्वाही नभएसम्म काम गर्ने बाताबरण नभएको भन्दै जिल्ला छाडेका छन् ।

जिल्लाका डाक्टरहरुलाई सरकारी चिकित्सक संघको असुरक्षाको कारण देखाउदै जिल्ला छाड्न भन्दै काठमाण्डौ आउन निर्देशन दिईएको थियो । जिल्ला छाडी गएका डाक्टरहरुलाई स्वास्थ्य मन्त्रालयले एक महिनाको काज दिएर मन्त्रालयमै हाजिरी गराइरहेको छ ।

चिकित्सक नै नभएपछि डोटीमा उपचार सेवा १४ दिन देखी ठप्प छ । उपचारका लागि सयौं बिरामीहरु आउने जिल्ला अस्पताल डोटीमा अहिले उपचार नपाएर रित्तै फर्कन थालेका छन् ।

चिकित्सकहरुको माग न्यायोचित भएपनि लामो दिनसम्म उपचार कार्यमा नफर्केको प्रति भने जिल्लामा असन्तुष्टी बढ्दै गएको छ । जिल्लातहमा सर्वपक्षिय बैठकले काममा फर्कन चिकित्सकहरुसंग यस अघि नै अनुरोध गरेपनि उनीहरु फर्कन मानेका छैनन् । डाक्टरहरुले भने झै जिल्लामा काम गर्ने बाताबरण नरहेको आरोपको भने प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले आक्रामक रुपमा खण्डन गर्नु भएको छ ।

‘डाक्टरहरुको काम गर्ने मनसाय नभएको हो कि ? सुरक्षा नै नभएको हो भन्ने कुरा महत्वपूर्ण छ’, प्रजिअ खत्रीले सरकारी चिकित्सक संघप्रति प्रश्न गर्दै भन्नु भयो –‘यहा“ त असुरक्षा भयो भनेर डाक्टरहरु काठमाण्डौ झिकाइए । काठमाण्डौमै त्यस्ता कयौं घटना भइरहेका छन्, त्यहा“का असुरक्षित डाक्टरलाई चिकित्सक संघले कहा“ लगेर सुरक्षित राख्ने गरेको छ त ?’ ।

स्थानिय प्रशासनले दोषीलाई हिरासतमा लिएर मुद्दाको अनुसन्धान गरिरहेकोले मन्त्रालयले पनि कर्मचारीहरुको मात्रै कुरा नसुनेर जिल्लाका बिरामीहरुको उपचार सेवामा पनि ध्यान दिनु पर्ने प्रजीअ खत्रीले बताउनु भयो । उता जिल्ला स्वास्थ्य प्रमुख शतिस विष्टले पनि उपचार नपाएर बिरामीहरु छट्पटिरहेका बेला डाक्टरहरुले जिल्लामै फर्कन उचित हुने प्रतिकृया दिनु भएको छ । ‘कुटपीटमा परेका डाक्टरमाथि उल्टै लाञ्छना लगाउने काम हुन थालेपछि उहा“हरुले जिल्ला छाड्नु भएको हो’, विष्टले भन्नु भयो –‘तर कार्वाहीको प्रकृया अघि बढीरहेको अवस्थामा मन्त्रालयमै काजमा बसेर पनि हुन्न ।

उहा“हरुले बिरामीलाई सम्झेर पनि फर्कनु पर्छ ।’ कुटपिटमा संलग्न भएको आरोपमा दिपायल सिलगढी नगरपालिका–७ का हिक्मतसिंह विष्ट, बिजय विष्ट, टेकबहादुर विष्ट र दिपायल सिलगढी–६ का अरुण महत प्रहरीको हिरासतमा छन् । उनीहरुमाथि सार्वजनिक अपराध मुद्दा चलाइएको प्रहरीले जनाएको छ । उनीहरुले डाक्टर जितेन्द्र सिंहलाई सांघातिक आक्रमण गरेको आरोप छ ।

जिल्ला अस्पताल डोटीमा १४ दिन देखी आकस्मीक बाहेकका सबै सेवा ठप्प छन् । पोष्टमार्टम, ल्याब परिक्षण, भिडियो एक्सरे पनि नहु“दा सामान्य रोगका लागि बिरामीहरुले उपचारका लागि अन्यत्र जानु पर्ने भएको छ । चिकित्सकहरुले सेवा ठप्प पारी जिल्ला छोडेपछि पोष्टमार्टमका लागि शब बोकेर डडेल्धुरा पठाउनु पर्ने बाध्यता रहेको जनस्वास्थ्य प्रमुख शतिष विष्टले बताउनु भयो । डाक्टरको अभावमा जिल्लामा घटेका घटनाहरुको बारेमा अनुसन्धान गर्न समेत समस्या भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक शिबबहादुर सिंहले पोष्र्टमार्टम संगै अन्य अनुसन्धान गर्नमा समेत समस्या भईरहेको दुखेसो पोख्नु भयो । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर बिवस पराजुली, डाक्टर जितेन्द्र सिंह र सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डाक्टर राजकुमार बिश्वकर्माले जिल्ला छोडेका छन् ।

जिल्ला अस्पतालमा निक साइमन नामक संस्थामार्फत काम गरिरहेका डाक्टर गिरिश अवस्थी पनि जिल्लामा छैनन् । चिकित्सक संघकै निर्णय अनुसार जिल्ला बाहिर रहन भनिएपनि डाक्टर अवस्थीलाई तत्कालै ड्य्टीमा खटाउन लागिएको निक साइमनका कार्यकक्रम संयोजक प्रशान्त शाहीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्