आर्मी र एपीएफलाई उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले चौथो एनएसटी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा शनिबार उपाधि जितेका छन्।

आर्मीले पुरुषतर्फ र एपीएफले महिलातर्फको उपाधि जितेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिलातर्फको फाइनल खेलमा एपीएफले चिर परिचित प्रतिद्वन्द्वी शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–२ सेटमा स्तब्ध बनायो। निकै प्रतिस्पर्धात्मक खेलमा लगातार २ सेट हारेर पनि उत्कृष्ट पुनरागमन गर्दै विभागीय टोलीले उपाधिमाथि कब्जा जमायो। एपीएफले न्यु डायमन्डलाई १६–२५, १६–२५, २५–१४, २५–१३ र १५–९ मा पाखा लगाएको थियो।

एपीएफको जितमा सरस्वती चौधरीले स्पाइकबाट २३, ब्लकमा दुई र सर्भिसबाट एक अंक जोडिन्। यसैगरी नेबिका चौधरीले स्पाइकबाट १६ अंक बटुलिन। न्यु डायमन्डकी प्रतिभा मालीले स्पाइकबाट ३० तथा सर्भिसबाट तीन अंक जोडे पनि उपाधि दिलाउन सकिनन्। तेस्रो स्थान भने नेपाल पुलिस क्लबले हासिल गर्यो। आर्मीलाई २५–२३, २२–२५, २४–२६, २५–१२, १५–१३ को पाँच सेटमा हराएर पुलिसले तेस्रो स्थान पक्का गरेको थियो। एपीएफले १ लाख ५० हजार, न्यु डायमन्डले १ लाख रुपियाँ र पुलिसले ६० हजार नगद पुरस्कार प्राप्त गरे।

यसै गरी पुरुषतर्फको उपाधि भिडन्तमा आर्मीले हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–० को सेटमा पाखा लगाएको थियो। एकपक्षीय खेलमा आर्मीले २५–१४, २५–२१, २५–१४ को जित निकाल्यो। भारतीय खेलाडी चल्न नसक्दा हेल्प नेपालले आर्मीलाई उपाधि सुम्पिन बाध्य भयो। आर्मीको जितमा मानबहादुर श्रेष्ठले स्पाइकबाट १७ तथा सर्भिसमा तीन अंक जोडे। यसैगरी धनबहादुर भट्टले स्पाइकबाट १३ अंक बटुले। तेस्रो स्थानको खेलमा एपीएफले पुलिसलाई ३–० को सेटमा पराजित गर्यो। आर्मीले १ लाख ५० हजार, हेल्प नेपालले १ लाख रे एपीएफले ६० हजार नगद पुरस्कार हात पारेका थिए।

प्रतियोगितामा महिलातर्फ न्यु डायमन्डकी प्रतिभा माली र पुरुषमा आर्मीका मानबहादुर श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए। उनीहरु दुवैले १५⁄१५ हजार रुपियाँ पुरस्कार प्राप्त गरे। महिलातर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, पुलिसकी मनिषा चौधरी उत्कृष्ट ब्लकर, एपीएफकी हिरा केसी उत्कृष्ट सर्भर, न्यु डायमन्डकी सलिना श्रेष्ठ बेस्ट लिब्रो र कृपा अधिकारी उत्कृष्ट सेटर तथा एपीएफका ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक चुनिए। यसैगरी पुरुषमा हेल्प नेपालका ललितकुमार उत्कृष्ट स्पाइकर, आर्मीका दुर्गा महतो उत्कृष्ट सेटर, धनबहादुर भट्ट बेस्ट सर्भर, ईश्वर थापा उत्कृष्ट लिब्रो र कपिलकिशोर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए। विधागत उत्कृष्ट सबैले जनही पाँच–पाँच हजार रुपियाँ हासिल गरे।

प्रतिक्रिया दिनुहोस्