जापानबाट सिक्न सकिने पाठ



ढुनबहादुर बुढाथोकी,
 “सङ्घर्ष”
विकास र समृद्धिमा जापान धेरै अगाडि पुगिसकेको मुलुक हो। प्रायः भूकम्प गइरहने मुलकमा दर्ज भए पनि उनीहरूले भूकम्पप्रतिरोधी हिसाबले भवनलगायतका निर्माण कार्य गर्ने भएकाले सानातिना भूकम्पले क्षति पुर्याउने गरेको देखिँदैन। जापानिज परिश्रमीमा कहलिन्छन्। उपयुक्त नीति निर्माण, गुणस्तरीय शिक्षा, भ्रष्टाचारविहीन कर्मचारी र परिश्रम नै यहाँको प्रगतिको कारण हो भन्दा अत्युक्ति नहोला।
कुल ३ लाख ७७ हजार ९ सय ३० वर्ग किलोमिटर भू–भागमा फैलिएको जापान क्षेत्रफलका हिसाबले विश्वको ६१औं ठूलो मुलुक हो। क्षेत्रफलका हिसाबले जर्मन, नर्वे, मलेसिया, फिनल्यान्ड वा पोल्यान्ड समतुल्य मुलुक मानिन्छन्। चारैतिरबाट समुद्रले घेरको जापान साना–ठूला गरी ६ हजार ८ सय ५२ वटा द्विपको समूह पनि हो। जसमा, होकाइडु, होन्सु, सेकेकु, क्योन्सु, ओकिनवा जस्ता चारवटा ठूला द्विपको एकल हिस्सा ९७ प्रतिशत छ। जापान विश्वको धनी मुलुक कहलिए तापनि प्राकृतिक संसाधनमा ठगिएको मुलुक हो। कोइला, तेल, प्राकृतिक ग्यास, फलाम, खनिज जापानमा दुर्लभ छ। समुद्र वा जल जापानको एकमात्र प्राकृतिक साधन मानिन्छ। तर पनि जापानको प्रगति दिन–प्रतिदिन बढिरहेको छ।
जापानमा वर्षभरमा औसत १५ सय पटक र दैनिक औसत ४ पटक भूकम्प जाने गर्छ। ६⁄७ म्याग्निच्युडको भूकम्प जापानको खातिर सामान्य मानिन्छ। नेपालमा जस्तो भूकम्पले तहसनहस गर्न सक्दैन। भौतिक संरचना भूकम्पप्रतिरोधीरूपमा निर्माण गरिएको हुँदा क्षति नभएको हो। यसबाट भूकम्पको कारणले मात्र नभई हामीले निर्माण गरेको संरचनाको कारण जनधनको क्षति हुन जान्छ भन्ने कुरा केही हदसम्म जापानले पुष्टि गरेको छ। तथापि, प्रकृतिले चाह्यो भने मानिसको कुनै जोर चल्दैन भन्ने तथ्य सन् २०११ मार्च ११ मा टप्किएको ९ म्याग्निच्युडको भूकम्पले देखाएको छ। पूरापूर ६ मिनटसम्म आएको भूकम्प र तत्पश्चात् आएको सुनामीका कारण कुल १५ हजार ८ सय ९४ मानिसको ज्यान गएको थियो भने ६ हजार १ सय ५० घाइते हुनुका साथै २ हजार ५ सय ४६ बेपत्ता भएका थिए। जहाँ ३ सय ६० अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको थियो। यति हुँदा पनि यो मुलक व्यवस्थित छ।
जापानमा २ सय अधिक सक्रिय ज्वालामुखी रहेको मुलुक हो र जुनसुकै बेला विस्फोट हुन सक्छ। माउन्ट आसो त्यस्तैमध्ये एक हो। जुन सक्रिएमध्यकै सबैभन्दा ठूलो ज्वालामुखी हो। वैज्ञानिकहरूले जुनसुकै बखत विस्फोट हुन सक्ने औंल्याएका छन्। सन् २०१४ सेप्टेम्बर २७ मा क्युसु द्विपको माउन्ट ओन्टाकेमा ज्वालामुखी विस्कोट हुँदा ६३ जनाको ज्यान गएको थियो।
जापानको पहिचान दिने अरू थुप्रै चिजबिज, घटना तथा परिघटनाहरू छन्। चीन, ताइवान र कोरिया प्रायद्विपमाथि पकड जमाएको नजिर छ। रुस जस्तो भीमकाय मुलुकलाई युद्धमा परास्त गरेको शान छ। युरोपीले कुनै मुलुकलाई एसियाली मुलुकले परास्त गरेको यो पहिलो परिघटना थियो। सबैभन्दा धेरै नोबेल पुरस्कार प्राप्त गर्ने इतिहास रचेको छ। हालसम्म जापानले विभिन्न विधामा जापानका वैज्ञानिक तथा विद्धान्हरूले २६ पटक नोभेल पुरस्कार प्राप्त गरिसकेका छन्। दोस्रो विश्वयुद्धमा अमेरिकासँग पराजय बेहोरे तापनि कुनै वैरभाव वा रिसराग नराखी उसैसँग हातेमालो गरेर पछिल्लो ७३ वर्षमा लोभलाग्दो तरक्की गरेको छ।
मानव संसाधनक कुनै पनि मुलुकको तरिक्कीको मूल आधार मानिन्छ। जापानको तरक्कीका मूल चुरो मेहिनती, लगनशील र सिर्जनशील मानव संसाधन नै हो। जापानी कार्यस्थललाई मन्दिर र कार्यलाई पूजा ठान्दछन्। हदभन्दा बढी काम गर्न जापानिज पछि पर्दैनन्। मेहिनत र तीक्ष्णताका कारण प्राकृतिक सम्पदाका अभावकाका बाबजुद पनि जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्न सकेको हो। काममा अधिक खटिने हुँदा छोटो यात्राको मेट्रोमा समेत अक्सर सुत्छन्। नेपाल–भारतमा कार्यस्थलमा सुत्नुलाई अन्यथा लिइन्छ, ठगको संज्ञा दिइन्छ। तर, जापानमा कार्यस्थलमा २०⁄३० मिनेट सुत्नु आम कुरा मानिन्छ। कार्यस्थलमा थोरबहुत सुतेर फ्रेस हुन छुट छ। स्मरण रहोस्, जापानको कुल १२ करोड ७० लाख जनसंख्यामध्ये सक्रिय श्रमशक्ति ६.५० करोड रहेको छ।
कुनै मुलुकको जनता जनार्दन के–कति सम्पन्न छन्, जीवनको स्तर कस्तो छ ? भन्ने कुरा मानव विकास सूचकांकले उजागर गर्दछ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) द्वारा प्रकाशित प्रतिवेदन–२०१७ मा कुल १ सय ८८ मुलुकमध्ये जापान १७औं स्थानमा रहेको छ। जहाँ कुल १ अंकमध्ये ०.९३ अंक प्राप्त गरेको छ। जहाँ ०.८८७ भन्दा अधिक स्कोर प्राप्त गर्ने मुलुकलाई उच्च मानव विकास भएको समूहमा राखिएको छ। प्रस्तुत तथ्यांकबाट जापानको मानव विकास अवस्था अब्बल रहेको पुष्टि हुन्छ। मानव विकासको अवस्था राम्रो हुनु भनेको, शिक्षा, स्वास्थ्य, आवास, रोजगारीको अवस्था राम्रो हुनु हो।
त्यसो त हरेक एक महिनाले औसत २.१ भन्दा कम सन्तान पैदा गर्दा जनसंख्याको आकारमा नकारात्मक प्रभाव पर्ने अध्ययनले देखाएको छ। तर, जापानिज महिला काममा व्यस्त हँुदा बच्चा पैदा गर्ने लगाव राख्दैनन्। जापानमा एक महिलाले औसत १.४ प्रतिशत मात्र बच्चा पैदा गर्दछन्। यो प्रजनन दर आफैंमा कम हो। यहाँसम्म कि जापानमा बच्चाभन्दा पाल्तु जनावरको संख्या अधिक रहेको छ। यसैले जापानको जनसंख्या सन् २०१२ मा १२ करोड ८० लाख रहेको २०१३ मा १२ करोड ७० लाखमा झरेकोमा हालसम्म जहाँको त्यहीं छ। यसैले प्रजनन दर १.८ प्रतिशत पुर्याउन जापानले विशेष प्रोत्साहनको व्यवस्था अगाडि सारेको छ।
गुणस्तरीय शिक्षा, प्रगति, तरक्की र उन्नतिको कसी हो। उक्त कुरा जापानीले राम्रोसँग बुझेका छन्। गुणस्तरीय शैक्षिक प्रणालीलाई जापानी तरक्कीको चाबी ठान्दछन्। शैक्षिक प्रणाललाई निकै गम्भीरतापूर्वक लिन्छन्। साना बालबालिकालाई गुणस्तरीय शिक्षा दिनुपर्छ, नैतिकवान, चरित्रवान, मिहनति र सिर्जनशील बनाउनुपर्छ भन्ने कुरा जापानीले राम्रोसँग बुझेका छन्। त्यसैले जापानमा ९ वर्षसम्मको उमेर समूहलाई विद्यालय जानु अनिवार्य हुन्छ। भलै हाइस्कुल स्तरको शिक्षा भने बाध्यात्मक छैन। स्कुल तथा विश्वविद्यालयमा के–कति वर्ष पढ्ने समायावधि निर्धारण गरिएको हुन्छ। जहाँ इलेमिन्टरी स्तरको पढाइ ६ वर्ष, जुनियर हाइस्कुल स्तरको पढाइ ३ वर्ष, हाइस्कुल स्तरको पढाइ ३ वर्ष र युनिभर्सिटी स्तरको पढाइ ४ वर्षको अवधि निर्धाण गरिएको छ। पठनपाठनका लागि पब्लिक र प्राइभेट दुवै खाले शैक्षिक संस्थालाई अनुमति प्राप्त छ।
बालबालिको पढाइको सन्दर्भमा केही चाखलाग्दा कुरा छन्। जापानमा १० वर्षको उमेरसम्मको बालबालिकाले नेपाल वा भारतमा जस्तो कुनै परीक्षामा सामेल हुनु पर्दैन। १० वर्षसम्मको उमेर ब्रेन ट्रेनिङ, ब्रेन टिजर र ब्रेन पजलिङ जस्ता सिकाइमा लगाई मस्तिष्को विकास गराइन्छ। नेपाल वा भारतमा विद्यालय सफा गर्ने कार्यालय सहायक, पीएन वा कुचीकारको प्रबन्ध गरिएको हुन्छ। तर, जापानमा त्यसो गरिँदैन, कक्षाकोठा, शौचालय, परिसरको सफाइ शिक्षक र विद्यार्थी मिलेर गर्दछन्। बरु कुनै विद्यार्थी ५ दिनसम्म लगातार बिलम्ब गरी विद्यालयमा आएमा सजायस्वरूप कक्षाकोठा सफा गर्न लगाइन्छ। विद्यार्थीमा मेहिनत गर्ने बानी विकास हुन्छ भन्ने जापानिज मान्यताअनुरूप सरसफाइमा सामेल गरेको बताइन्छ।
नेपाल वा भारतमा विद्यार्थी लगभग छाडा जस्तै हुन्छन्। तर, जापानी विद्यार्थीमा कडा परहेज रहेको छ। जापानी विद्यालयमा अध्ययन गर्ने विद्याथीलाई मोबाइल फोन बोक्न, कपाललाई स्टाइलिस बनाउन, छात्रलाई दाह्री पाल्न, महिलालाई नङपालिस लगाउन, विपरीत लिंगीय रोमान्टिक सम्बन्ध कायम गर्न विलकुलै छुट रहँदैन। विद्यार्थी अनुशासित हुन्छन्, पढाइमा ध्यान केन्द्रित गर्दछन् र समय खेर फाल्दैनन् भन्ने मान्यताअनुसार यस्तो बार–बन्देज गरेको बताइन्छ। त्यस्तै शिक्षकले पनि निश्चित नीति नियम पालन गर्नुपर्छ। खासमा शिक्षक समयमै विद्यालय आइपुग्नुपर्छ। प्रत्येक विद्यार्थी तोकिएको सफा पोशाकमा विद्यालय आउनुपर्छ। युनिफर्ममा नआउने विद्यार्थीले कक्षमा प्रवेश गर्न दिइँदैन।
विद्यालयमा जस्तै विश्वविद्यालयमा पनि गुणस्तरीय शिक्षालाई निकै महत्त्व दिइन्छ। यसै पनि जापान गुणस्तरीय शिक्षा उपलब्ध रहेको मुलुक कहलाउँछन्। करिब २५ वर्षको उमेरमा विश्वविद्यालयको शिक्षा पूरा गरी कामकाजको शुरुआत गर्दछन्। यस हिसाबले जापानिज २५ देखि ३५ वर्षको उमेर समूहमा म्यानेजर हुन्छन्। जापानमा बिहान ९ बजे म्यानेजर कार्यालय आइपुग्छन् र साँझ ७ बजेसम्म रहन्छन्। उनीहरू वर्षमा दुई पटकसम्म बोनस प्राप्त गर्छन्। ५५ वर्षपश्चात् प्योकजसहित बाहिरिनुपर्छ भन्ने मान्यता राख्दछन्। प्रतिकूल भौगोलिक बनावट र प्राकृतिक स्रोत–साधनको अभावमा पनि जापानले गरेको प्रगति नेपाल जस्तो विकासका खातिर छटपटाइरहेको मुलुकका लागि अनुकरणीय हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्