अनुदारवादी देउवा



सरकारको नेतृत्व गरेर ३ वटा चुनाव गराएको नेपाली कांग्रेस अन्ततः प्रमुख प्रतिपक्षी बन्न पुगेको छ । दुई ठूला वाम घटकबीच पार्टी एकता गर्ने भन्दै निर्वाचनमा तालमेल भएपछि कांग्रेसले २००७ सालपछि सबैभन्दा नराम्रोसँग पराजय व्यहोर्नुपरेको छ । पार्टी र सरकारको नेतृत्व गर्ने व्यक्ति एउटै भएको कारण पनि जनतामाझ पार्टी अलोकप्रिय भएको विश्लेषण गर्न थालिएको छ । पार्टीभित्रको गुट–उपगुटका कारण कांग्रेसले सजिलै जित्ने स्थानमा समेत पराजय भोग्नुपरेको तीतो यथार्थ हुँदाहुँदै पनि सो पार्टीमा फेरि गुट–उपगुटले प्रश्रय पाउने सम्भावना देखिएको छ ।

नेपाली कांग्रेसको आजबाट शुरु हुने संसदीय दलको नेता चयनमा समेत यस्तै अवस्था देखिने स्पष्ट भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेताका साथै संसदीय दलको नेता हुने घोषणा गरेपछि उहाँविरुद्ध पूर्वमहामन्त्री तथा गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहले पनि संसदीय दलको नेताका लागि उम्मेदवारी दिने घोषणा गरेपछि सो पार्टीमा गुटले काम गरेको भन्दै टिप्पणी गर्न थालिएको छ । पार्टी सभापति देउवाका कारण पार्टी यो अवस्थामा पुगेको भन्दै युवा पुस्ताले तीव्र प्रहार गरेका कारण संसदीय दलमा देउवालाई सजिलो अवस्था नरहेको भन्दै टिप्पणी हुन थालेको छ ।

पार्टी सभापति जस्तो व्यक्तिले जनतामा सकारात्मक सन्देश दिनका लागि पनि सकेसम्म आफैं निर्विरोध हुने नसके अरू कसैलाई संसदीय दलको नेताका रूपमा स्वीकार गर्नुपर्ने थियो तर त्यो हुन नसक्नुलाई अर्को बिडम्वनाको रूपमा लिनुपर्नेछ । मुलुकको बागडोर ४ पटक सम्हाल्नुभएका देउवाले संसदीय दलको नेतामा लोभ देखाउनु पक्कै सुहाउँदो कुरा होइन । उहाँले पार्टीभित्र मात्र होइन मुलुकका लागि नै उदाहरण बन्नुपर्ने व्यक्तिले संसदीय दलको नेतामा चुनाव लडेर विजय प्राप्त गर्नुलाई ठूलो मान्न सकिन्न । यस्ता विषयमा मुलुकले पत्याएका व्यक्तिका लागि यो शोभनीय विषय पटक्कै होइन । कांग्रेसभित्रका युवा पुस्ताले पार्टीको नेतृत्व हस्तान्तरण गर्नू भन्दै चर्को दबाब दिइरहेका बेला देउवाले संसदीय दलको नेताका लागि लोभ देखाउनुले समेत उहाँको नैतिक चरित्रमाथिसमेत प्रश्न खडा गरिदिएको छ । युवा पुस्ताले पनि अब कांग्रेसलाई साँच्चिकै कांग्रेस बनाउने हो भने सार्वजनिक स्थानमा भाषण गरेर नेतृत्व हस्तान्तरणको कुरा गर्ने तर पार्टीको बैठकमा नेताका बारेमा एक शब्द पनि नबोल्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी छ । यसतर्फ कांग्रेसीजनको ध्यान जान्छ कि ?

प्रतिक्रिया दिनुहोस्