बक्यौता नतिरेपछि एयर एसियाको सेवामा रोक



दीपेन्द्र थापा, काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मलेसियाको निजी हवाई सेवा प्रदायक कम्पनी एयर एसिया एक्सको काठमाडौं उडान तथा अवतरण रोक लगाएको छ। विमानस्थलको सेवा प्रयोग गरेवापत शुल्क नतिरेपछि उक्त एयरलाइन्सको सेवा बन्द गर्ने तयारी गरिएको हो।

एयर एसिया एयरलाइन्सले विमानस्थलको बक्यौता नतिरेपछि विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार फागुन २२ गतेदेखि एयरलाइन्सको उडान तथा अवतरण बन्द गर्न लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक रामकुमार क्षेत्रीले बताउनुभयो।

मलेसियाबाट काठमाडौं र काठमाडौंबाट मलेसिया सिधा उडान गर्दै आएको उक्त कम्पनीले अवतरण शुल्क, पार्किङ शुल्क, विमानस्थल विकास शुल्क, कोठा भाडालगायतको करिब ३ वर्ष यताको बक्यौता तिर्न बाँकी रहेको विमानस्थलले जनाएको छ। एयर एसिया एक्सले विमानस्थललाई २६ करोड रुपियाँ बक्यौता तिर्न बाँकी रहेको छ। एयर एसिया एक्सले काठमाडौंमा हप्तामा ४ वटा उडान भर्दै आएको छ। त्रिुभवन विमानस्थललाई कम्पनीले दिएको प्रतिबद्धताअनुसार बक्यौता नतिरेपछि कम्पनीलाई फागुन १६ गतेसम्मको समय सीमा दिएको थियो। तर, सो अवधिमा पनि रकम भुक्तानी नगरेपछि उडान र अवरतरण सेवामा प्रतिबन्ध लगाइएको महाप्रबन्धक क्षेत्रीले बताउनुभयो।

विमानस्थलले एयर एसिया एक्सको नेपाली उडान बन्द गर्न सक्ने चेतावनीका साथ कम्पनीको मुख्यालय कोलालाम्पुरलाई फागुन ४ गते पत्र पठाएको थियो। गत महिना एयर एसिया एक्सले २ करोड ५० लाख रुपियाँ बक्यौता तिरेको थियो।

एयर एसिया एक्ससँगै नेपाल एयरलाइन्सलगायत अन्य हवाई कम्पनीले पनि बक्यौता रकम तिर्न बाँकी रहेको छ। तर, पछिल्लो ती कम्पनीले बिस्तारै बक्यौता रकम घटाउँदै आएको विमानस्थलले जनाएको छ।
विमानस्थलका अनुसार सबैभन्दा धेरै बक्यौता भन्सार विभागको रहेको छ। विभागले विमानस्थललाई ५३ करोड ९६ लाख ९ हजार ७३ रुपियाँ बक्यौता तिर्न बाँकी छ। तर, विभागले भने प्राधिकरण तिर्नुपर्ने रकम करमार्फत् मिलान गर्दै आएको जनाएको छ। तर, उक्त रकम भने साविकको वाणिज्य मन्त्रालयले विमानस्थललाई तिरेको छैन।

विमानस्थलको सेवा उपयोग गरेवापत सरकारी कार्यालय तथा संघसंस्थाहरूको ५५ करोड १२ लाख २१ हजार ८ सय १६ रुपियाँ बराबर बक्यौता तिर्न असुल्न बाँकी छ। नेपाल वायुसेवा निगमले विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि लिएको सेवा र अन्य सेवाको ३१ करोड १३ लाख ४६ हजार ४६ रुपियाँ रहेको छ।

सञ्चालनमा रहेका आन्तरिक र अन्तर्राष्ट्रिय एयरलाइन्सका ७१ कम्पनीको मात्र ५९ करोड ५० लाख १८ हजार १ सय २५ रुपियाँ बक्यौता बाँकी छ। सञ्चालनमा नरहेका एयरलाइन्सको जम्मा बाँकी बक्यौता ११ करोड २२ लाख ५७ हजार ३ सय ६५ रुपियाँ बाँकी छ।

त्यस्तै सञ्चालनमा नरहेका ४२ संघसंस्थाको जम्मा बाँकी बक्यौता २९ करोड ७५ लाख ७५ हजार ५ सय १८ रुपियाँ रहेको छ। सञ्चालनमा रहेको ६१ संघ संस्थाहरूको जम्मा बाँकी बक्यौता रकम भने १० करोड ८८ लाख ५५ हजार ८ सय ५४ रुपियाँ रहेको विमानस्थलले जनाएको छ। आन्तरिक कम्पनीका सौर्य एयरलाइन्स र सिम्रिक एयरलाइन्सको बक्यौता रकम धेरै रहेको छ। सौर्य एयरलाइन्सको ९२ लाख १ हजार ५ सय ४८ रुपियाँ र सिम्रिक एयरलाइन्सको ८३ लाख ८३ हजार २ सय १३ रुपियाँ रहेको छ। ती कम्पनीलाई समयमा बक्यौता रकम नतिरे सेवा बन्द गर्ने सजकताका साथ पत्रचार गरिएको महाप्रबन्धक क्षेत्रीले बताउनुभयो।

सरकारले भने मन्त्रिपरिषद्को निर्णयबाट बक्यौता छुटको निर्णय गरेको अवस्थामा बाहेक अन्य अवस्थामा बक्यौता मिनाहाको प्रावधान छैन। सरकारले कही वर्ष पहिले नेपाल वायुसेवा निगमको २१ करोड रुपियाँ छुट दिने निर्णय गरेको थियो।

विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको ७ दिनभित्र बक्यौता रकम तिरेमा ३ प्रतिशत शुल्क छुट दिने व्यवस्था विमानस्थलले गरेको छ। त्यस्तै ३० दिनभित्र बक्यौता रकम तिरेमा जरिवाना शुल्क तिर्नु पर्दैन भने ३० दिनदेखि ४५ दिन सम्म ५ प्रतिशत जरिवाना लाग्ने गरेको छ। ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिवाना तिर्नुपर्छ। ६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्ने नियमावलीमा व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्