सिरिया नरसंहारको विरोधमा शान्ति र्याली



नेपाल समाचारपत्र
भक्तपुर
मन्टस्वरी, किन्डर गार्टेन, चाइल्ड केयर सेन्टरलगायतका प्रि–स्कुलको छाता संगठन अपेनले सिरियामा जारी नरसंहार तथा बालकालिकामाथि भइरहेको हिंसा रोक्न अन्तर्राष्ट्रिय जगतलाई अपिल गरेको छ। राजधानीमा बृहत् शान्ति र्याली तथा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरी अपेनले बालबालिका शान्ति क्षेत्र भएको भन्दै सिरियामा बालकालिकामाथिको नरसंहारको विरोध गरेको हो।

सिरियामाजारी नरसंहार तत्काल रोक्न, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्द्वारा पारित युद्धविरामको प्रस्तावलाई तत्काल लागू गर्न र बालबालिकामाथिको अत्याचार, बालअधिकारको हनन्, निर्दोष बालबालिकामाथि भइरहेको बर्बरतापूर्ण हत्याको शृंखलाको विरोध स्वरुपशान्ति र्याली तथा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको अपेन काठमाडौंका जिल्ला सचिव हरीश डीसीले जानकारी दिए।

र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै अपेनका केन्द्रीय अध्यक्ष बद्रीप्रसाद दाहालले शक्ति राष्ट्रहरूको उन्माद, ज्यादती र राष्ट्रसंघको प्रभावहीनताका कारण निर्दाेष नागरिक तथा बालबालिकाहरूले अकालमै ज्यान गुमाइरहेको भन्दै समग्र विश्व जगत्को ध्यान यसमा जानुपर्नेमा जोड दिए। साथै अध्यक्ष दाहालले सिरियालगायत विश्वका कुनै पनि ठाउँमा यस्ता गतिविधि हुन नहुने तथा अपेन बालबालिकाकै क्षेत्रमा काम गर्ने संस्था भएकाले बालबालिका तथा समग्र मानवताविरोधी गतिविधिको अपेनले खुलेरै विरोध गर्ने र यस्ता अभियान जारी रहने स्पष्ट पारे।

बालबालिका शान्ति क्षेत्र हुन्, बालबालिका माथि हुने हिंसा अन्त्य गरौं, विश्वमा शान्ति कायम गरौं भन्ने प्लेकार्ड ब्यानर बोकिएका सन्देशसहितको र्याली भृकुटीमण्डपबाट शुरू भई माइतीघर मण्डलामा दीप प्रज्वलन गर्दै सम्पन्न भएको कार्यक्रममा काठमाडौं उपत्यकाका झण्डै ५ सय बढी मन्टेस्वरी, किन्डर गार्टेन, चाइल्ड केयर सेन्टर तथा प्रि–स्कुलका सयौं शिक्षक कर्मचारीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्