भिडियोमा सुमनकुमारको मुटु चोरी लाने माया



गाायक सुमनकुमार श्रेष्ठले प्रकाशोन्मुख अडियो एल्बम बिहानी–३ को नयाँ गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्। बिहानी–३ कै पहाडतिर लेकहरूमा लालीगुराँस फुलाऊँ नेपाली, तराईतिर फाँटहरूमा धानको बाला झुलाऊँ नेपाली बोलको गीतबाट चर्चा कमाएपछि मुटु चोरी लाने मायालाई बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका हुन्। थोरै तर अर्थपूर्ण र सार्थक गीत गाउँदै आएका गायक श्रेष्ठले बिहानी र बिहानी–२ नामका दुई एकल अडियो गीति एल्बम बजामा ल्याएपछि यही नामको तेस्रो संस्करणका लागि तयार पारिएको नयाँ गीत सार्वजनिक गरेका हुन्। ख्यातिप्राप्त संगीतकार दीपक जंगमका कुशल चेला गायक सुमनकुमारले आफ्नो भिन्न शैली प्रस्तुत गर्दै गाएको यो गीतमा शब्द रचना डा. राजुबाबु श्रेष्ठको रहेको छ। संगीत भने राजु सिंहले भरेका छन्। विन्ध्यवासिनी म्युजिक कम्पनी प्रालि अडियो उत्पादक र वितरक रहेको एल्बमको यो गीत एरेन्जमेन्ट फणीन्द्र राईको रहेको छ भने रेकर्डिङ र मिक्सिङ किशोर थापाले गरेका छन्।

गीतको म्युजिक भिडियोलाई निर्देशक निकेश खड्काले कथानक शैली दिएका छन्। यसको म्युजिक भिडियोमा मोडल आकाश श्रेष्ठ र नायिका स्वस्तीमा खड्काले अभिनय गरेका छन्। राजीव समीरको कोरियोग्राफी रहेको भिडियोका छायांकन धीरजजंग शाह र सम्पादन प्रकाश तुलाधरले गरेका छन्। भिडियो सार्वजनिक भएको केही दिनमै यसलाई विन्ध्यवासिनी म्युजिकको युट्युब च्यानलमा करिब ७ हजारले हेरिसकेका छन्।

प्रकाशोन्मुख एल्बम बिहानी ३ गायक सुमनकुमारको चौंथो एल्बम हुनेछ। यो मन कोमल, ए आवाज, खाएको कसमजस्ता सुगम संगीतका गीतबाट चम्किएका गायक सुमनकुमार श्रेष्ठले बिहानी–३ कै राष्ट्रिय भावनाले ओतप्रोत तथा जातीय सद्भाव र क्षेत्रीय सद्भाव कायम गर्दै आम नेपालीले एक ढिक्का भएर बाँच्नुपर्ने सन्देश बोकेको गीत पहाडतिर लेकहरूमा लालीगुराँस फुलाऊँ नेपाली गाएर थप चर्चा र लोकप्रियता पाएका थिए।

दुई दशक लामो सांगीतिक यात्राका दौरानमा सुगम संगीतको क्षेत्रमा श्रेष्ठ सावित गायक सुमनकुमारले बिहानी–३ रोमान्टिक, राष्ट्रिय, सेन्टिमेन्टल, सेमी क्लासिकल र क्लासिकल गीतको सम्मिश्रणका रूपमा आउने जानकारी गराए। २०५३ सालमा हाल ठूलो पर्दाका फिल्म निर्माण गर्दै आएका निर्माता सुशील पोखरेलद्वारा निर्मित मास्टरजीको सपना नामक टेलिसिरियलको शीर्ष गीत गाएर सांगीतिक करियर शुरू गरेका सुमनकुमारले त्यसको छ वर्षपछि ०५९ सालमा आएर एकल एल्बम आगमन बजारमा ल्याएका थिए। त्यही बेला सुमनले नयाँ बानेश्वरस्थित हालको सांसद् भवन तथा तत्कालीन वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुमन सांस्कृतिक साँझ नामक भव्य एकल सांगीतिक कार्यक्रममा आफ्ना प्रस्तुति दिएर सबैलाई चकित बनाएका थिए। ९ वर्ष लामो अन्तरालपछि ०६८ सालमा आएर बिहानी नामक एल्बम ल्याएपछि यी गायक सांगीतिक बजारमा छाउन पुगेका थिए। डियर कल्याणको एकल गीत र सचिन सिंहको एकल संगीतमा तयार भएको बिहानीपछि सुमनकुमार गायन क्षेत्रमा स्थापित हुन पुगे। यो एल्बमको यो मन कोमल सुपर डुपर हिट हुन पुग्यो भने अर्को गीत ए आवाज पनि खूबै चल्यो। एल्बम कान्तिपुर, इमेज र विन्ध्यवासिनी म्युजिक अवार्डमा सो वर्षकै सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो। यसै क्रममा उनले खाएको कसम गीतबाट गायकका रूपमा इमेज अवार्ड पनि हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्