नेपाल भर्सेस जिम्बावेः बलियो जिम्बावेसँग उदीयमान नेपाल, कसले मार्ला बाजी?



काठमाडौं । पछिल्लो समय नेपाली क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को समूह चरणका पछिल्ला २ खेलमा सनसनीपूर्ण नजिता निकाल्दै नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छानियो।

डिभिजन–२ सकिएको तीन सातापछि विश्वकप छनोटको पहिलो खेलमा नेपालले आइतबार घरेलु टिम जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले जिम्बावेको सिनियर टिमसँग एकदिवसीय खेलमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। अर्कोतर्फ नेपालका लागि भोलि जिम्बावेमा पहिलो अौपचारिक खेल हुनेछ।

प्रतियोगिताअघि भएको वार्मअप खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो। वर्षाले प्रभावित खेल २९ ओभरमा घटाइएको थियो। पहिले ब्याटिङ गरेको युएईलाई १ सय ७१ रनमा रोक्ने क्रममा नेपालका लागि तीब्र गतिका बलर ललित भण्डारीले ४ विकेट लिँदा करण केसीले ३ र ललित राजवंशीले २ विकेट हात पारेका थिए। खेलमा नेपालले पहिलो रोजाइका स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीलाई आराम दिएको थियो।

स्थान– क्विन्स स्पोट्स क्लब, बुलावायो, जिम्बावे
प्रतिस्पर्धा–  एकदिवसीय विश्वकप छनोट, म्याच ३
मिति– फागुन २० गते आइतबार, दिउँसो : १:१५ बजे

५ विकेटको क्षतिमा ४ बल बाँकी छदा लक्ष्य पारेको नेपालका लगि शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले समान ४१–४१ रन जोड्दा कप्तान पारस खड्काले २८ र आरिफ शेखले १५ बलमा नटआउट २३ रन जोडेका थिए।

राम्रो जित हात पारेपनि नेपालको समस्या ओपनिङमा देखियो। ओपनरद्वय ज्ञानेन्द्र मल्ल १२ र दिलीप नाथ ४ रनमा आउट भएका थिए।

वार्म अप खेलमा सहज जित निकालेपनि नेपालका लागि पहिलो खेल कठिन छ। घरेलु टिम जिम्बावे प्रतियोगिताको दाबेदार मध्येको एक टिम हो। सन् १९८३ देखि लगातार विश्वकप खेल्दै आएको जिम्बावेको यसपटक पनि लक्ष्य विश्वकप खेल्नु नै हो।

नेपालको हङकङ विरुद्धको दोस्रो खेल भने वर्षाका कारणले रद्द भएको थियो। जिम्बावेले पनि आयरल्यान्ड विरुद्धको पहिलो खेल वर्षाका कारण खेल्न पाएन। दोस्रो खेलमा भने  जिम्बावेले पपुवा न्युगिनीमाथि ५ विकेटको सहज जित निकालेको थियो। जहाँ दुई ब्याट्सम्याले रिटायर्ड आउट लिएका थिए।

अफगानिस्तानसँग खेलिएको पछिल्लो एकदिवसीय सिरिज जिम्बावेले ४–१ ले गुमाएको थियो। सिरिज गुमाएपनि जिम्बावेका केहि ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेका थिए। ब्रेन्डन टेलर, सिकन्दर राजा र क्रियाग इर्भिनले अफगानिस्तान विरुद्ध राम्रो ब्याटिङ गरेका थिए। बलिङतर्फ तीव्र गतिका दायाँ हाते बलर टेन्डाइ चतरा र लेग स्पिनर तथा कप्तान ग्रेम क्रेमर पनि राम्रो फर्ममा दिए।

अफगानिस्तान विरुद्धको सिरिज गुमाएपनि जिम्बावेले नेपाल भन्दा बलियो टिम हो। त्यसैले जिम्बावे पहिलो खेलमा राम्रो सुरुवात गर्नेमा आत्मविश्वासी छ। आइसिसीले ‘नयाँ अफगानिस्तान’को संज्ञा दिएको नेपाल पनि प्रतियोगितामा स्तब्धपूर्ण नतिजा निकाल्न सक्षम टिम हो। कप्तान पारस खड्काले आइसिसीलाई दिएको अन्तर्वार्तामा आश्चर्यजनक नतिजा निकाल्ने बताएका थिए। त्यो आश्चर्यजनक नजिता जिम्बावे विरुद्धको खेल पनि हुन सक्नेछ।

क्विन्स स्पोट्स क्लबको तथ्यांक

पहिलो इनिङको औसत रन–  २३५ रन
दोस्रो इनिङको औसत रन– २०६ रन
उच्चतम रन– ३९७/५
न्यूनतम रन– ११८/१०
उच्चतम लक्ष्य पार – ३२९/९
न्यूनतम लक्ष्य डिफेन्डेड– २११/६

नेपाली टिम 

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी।

जिम्बावे टिम 

ग्रिम क्रेमर (कप्तान), टेन्डाइ चातारा, टेन्डाइ चिसोरो, क्रियाग इर्भिन, केल जर्भिस, हामिल्टन मासाकाड्जा, सोलोमन मिरे, पिटर मूर, सिकन्दर राजा, ब्रेन्डर टेलर (विकेटकिपर), ब्रियन भिटोरी, म्याकलम बलर, सिन विलियन्स, चेपास जुआओ।

विश्वकप छनोटमा नेपालको खेल
फागुन २० गते – जिम्बावेविरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २४ गते– स्कटल्यान्डविरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २६ गते–  अफगानिस्तानविरुद्ध – बुलावायो एथ्लेटिक क्लब
फागुन २८ गते – हङकङविरुद्ध – क्विन्स स्पोर्ट्स क्लब

प्रतिक्रिया दिनुहोस्