बाँदर डुल्ने पाखोमा कफी खेती



दुर्गाप्रसाद शर्मा, पर्वत । वाँदरले अन्नवाली सखाप पारेपछि फलेवास नगरपालिकाका कृषक कफी खेती गरेर आत्मानिर्भर हुन थालेका छन् । वाँदरले मकै , गहुँ , कोदो , आलु जस्ता खेती नष्ट गर्ने भएपनि कफी खेतीमा खासै असर नगर्ने कारण कफी खेती फस्टाएको हो । फलेवास नगरपालिका ९, भँगाराका किसानले चार वर्षदेखि व्यावसायिक रूपमा कफी खेती गर्दै आएका छन । अन्नबाली बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक कफी खेती सुरु गरेका हुन् ।

‘धान र मकैमा वाँदरले वढि क्षती पार्न थालेपछि कफी लगाउन थालेका हौँ,’ फलेवास ९ का चन्द्रवहादुर थापाले भने,’ वाँदरको उपद्रोले अरु खेती गरेर गेडो भित्राउन समस्या छ ।’ उनका अनुसार एक सय १६ जना कृषकले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन् । कफी खेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको पनि उनले वताए । अन्य परम्परागत खेती भन्दा कफीको उत्पादन राम्रो भएको कृषकहरुको अनुभव छ । ‘मैले झन्डै १५ रोपनी क्षेत्रफलमा कफी रोपेको छु । उनले भने,’ यस वर्षदेखि केही बोटमा फलसमेत लागेको छ ।’

यो गाउँका एक सय १६ जना कृषकहरुको सयभन्दा बढी संख्यामा कफीका बोट छन् । चेरी र प्राचमेण्ट कफिको माग वढ्दो रहेकाले उत्पादीत वस्तुको वजारीकरणमा समस्या छैन । ओसिलो जमिन र मलिलो माटो भएका कारण तीन वर्ष अगाडी रोपेका विरुवाले गाउँको पाटो हरियाली देखिन्छ । ‘ कफी खेती गाउँभरि नै विस्तार गर्ने योजना छ,’ कफी व्यवसाय समूहका अध्यक्ष टिकाराम भुसालेले भने,‘ गाउँभरि कफी फलाउन सके यो जिल्लाकै धनी गाउँ वन्ने देखेका छौ ।’ अध्यक्ष भुसालका अनुसार कफीको मूल्य राम्रो पाइने र बिक्रीको समस्या पनि नभएकाले कृषकले अन्य पेसा छाडेर यसतर्फ लाग्ने वढेका छन् ।

गुड नेवर्स ईण्टरनेशनल मार्फत यहाँ कफी खेतीको अभियान चलेको हो । कृषकहरुलाई विरुवा संस्थाले नै दिएको हो । वेला वेलामा प्रशिक्षण, औषधी र गोडेमेलका लागि चाहिने उपकरण पनि संस्थाले दिने गरेको कार्यक्रम अधिकृत रमेशप्रसाद रिजालले वताए ।

कफी संकलनका लागि दुईकोठे भवन निर्माण सुरु गरिएको छ । करिब १५ लाख रुपैयाँ लागतका भूकम्प प्रतिरोधी संकलन केन्द्र निर्माण कार्य सुरु भएको रिजालले जानकारी दिए । कृषकले उत्पादन गरेको कफी संकलन गरेर बिक्री गर्न बजार पठाइने रिजालले बताए । सबै कृषकले लगाएको कफी खेतीले पूर्ण रुपमा उत्पादन दिन थालेपछि वार्षिक एक करोडभन्दा बढी आम्दानी लिन सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्