शत्रु गतेको लोभलाग्दो ट्रेलर



सिने बजारमा अहिले पनि केही फिल्म हलमा छन्। नायिका तथा निर्मात्री श्वेता खड्काद्वारा प्रस्तुत तथा आकाश अधिकारीद्वारा निर्देशित फिल्म कान्छीले तेस्रो सातामा प्रवेश गरी राम्रो कमाई गरिरहेको छ। यही बेला चर्चाको शिखरमा रहेको छ अर्को फिल्म शत्रु गते।

ख्यातिप्राप्त हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको फिल्म तथा टेलिफिल्म निर्माण कम्पनी मह सञ्चारले १७ वर्षपछि बनाएको फिल्म शत्रु गते र्हेनका लागि दर्शक अहिलेदेखि खुट्टा उचालेर बसिरहेका छन्। शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच यसको ट्रेलर सार्वजनिक गरिएपछि शत्रु गतेको आकर्षण थप बढेको छ। सार्वजनिक गरिएकै दिन यसको ट्रेलरलाई ओएसआर डिजिटलको युट्युब च्यानलमा ३० हजारभन्दा बढीले हेरिसकेका छन्।

अनौपचारिक कार्यक्रमका बीच सार्वजनिक भएको ट्रेलरलाई समेत यसका निर्देशक प्रदीप भट्टराईले लोभलाग्दो बनाएका छन्। ट्रेलरले फिल्ममा के भन्ने कौतूहलतालाई थप उचाईमा पुर्याएको छ। २ गीतका केही अंशसमेत मिसाइएको ट्रेलरमा फिल्मका मुख्य–मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ।

नेपाल समाचारपत्रसँग कुराकानी गर्दै हाँस्यव्यग्य अभिनेता हरिवंश आचार्यले शत्रु गतेबाट आफूहरूले ठूलो सपना नदेखाएको तर सक्दो मेहनत गरेको खुलाए। ‘धेरै वर्षपछि फिल्म बनाएका छम्, रिजल्ट कस्तो आउने हो भन्ने कुरामा डर लागेको छ’, हरिवंशले भने– ‘तर ठूलो सपना देखाएका छैनौं।’ उनका अनुसार फिल्म १ करोड ८५ लाखको लागतमा बनेको छ। तर यसमा कसैले पनि आप्mनो पारिश्रमिक जोडेको छैन। ‘हामी कलाकारदेखि कलाकारसम्म कसैले पनि फिल्मबाट पारिश्रमिक लिएका छैनौं। सबैजना सेयरहोल्डरका रूपमा बसेका छौं’ –हरिवंशले भने।

मह सञ्चारको ब्यानरमा किरण केसीको प्रस्तुति तथा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यशोदा श्रेष्ठ र रमिला आचार्यको निर्माणमा बनेको फिल्मलाई जात्राका निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका छन्। फिल्ममा कथा हरिवंश आचार्य, पटकथा दीपकराज गिरी र प्रदीप भट्टराई, संवाद हरिवंश आचार्य र प्रदीप भट्टराई, गीत अर्जुन भट्टराई र लोकराज अधिकारी, संगीत कालिप्रासद बासकोटा र टंक बुढाथोकी, गायन कालिप्रासद बासकोटा, टंक बुढाथोकी र मीना निरौला, नृत्य कविराज गहतराज र प्रवीण सिंह, द्वन्द्व रोशन श्रेष्ठ, छायांकन दीर्घराज गुरुङ र सम्पादन मित्र डी गुरुङको रहेको छ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, वसुन्धरा भुसाल, नरेन्द्र कंसाकार, राजु भुजु, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, मोहित आचार्य, सुष्मा कार्की, अञ्जु महर्जन, रमेशरञ्जन झा र अनुराग कुँवरलगायतका कलाकारको प्रमुख भूमिका रहेको फिल्म आगामी चैत ९ गते अल नेपाल रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्