कृष्णको कला



रश्मी थापा

देख न चम्पा, पर्ख–पर्ख मायालु, तिम्रो पिक्चर हिटजस्ता पछिल्ला हिट गीतका गायक कृष्ण काफ्ले यस वर्ष फिल्मी गीत गायनमा गायकको अवार्ड जित्ने गायकमध्ये एक हुन्। एक दशकभन्दा बढी समय गीतसंगीतमा बिताएका उनले हालसम्म २ सयभन्दा बढी गीतमा स्वर दिएका छन्।

२०४५ सालमा भारतको मुम्बईमा जन्मिए पनि उनको पुख्र्यौेली घर भने स्याङ्जा हो। बुवाको भारतमा सरकारी जागिर भएकोले उतै जन्मे हुर्केका उनले ४ कक्षासम्मको पढाइ स्याङजामा गरे। पछि बसाइँ सराई गरेर नवलपरासीमा गए। नवलपरासी बसाइँ भए पनि काठमाडौंलाई कर्मथलो बनाएका उनको स्कुल पढ्दादेखि नै गायनमा रुचि थियो।

स्कुल पढ्दा कानमा इएरफोन हालेर झ्याल ढोका बन्द गरेर गीत गाउने उनले आफू आजको स्थानसम्म पुग्छु भन्ने कल्पनासमेत गरेका थिएनन्। ‘गीतसंगीतप्रति मेरो रुचि र लगाव बढ्दै गएपछि साथीहरू पनि स्कुलमा हुने कार्यक्रमहरूमा गीत गाउन अगाडि सार्थे। पछि रेडियो कार्यक्रम, मेला–महोत्सवमा पनि गीत गाउन थालें’, कृष्णले सुनाए– ‘गीतसंगीतमा रुचि भएकाले यसैमा केही गर्छु भन्ने सोच थियो। घरपरिवार, साथी तथा शिक्षकहरूको प्रेरणा र हौसला पनि थियो।

धेरैले ऊर्जा दिएको कारण कलाकारितातिर नै लाग्नुपर्छ भन्ने सोच आएपछि २०६४ सालदेखि गीतसंगीतको अवस्था बुझ्न काठमाडांै अप एन्ड डाउन गरिरहन्थें। त्यो बेला मेरो एसएलसी सकिएको थियो। टेलिभिजनमा देखिन पनि मन थियो।

त्यस क्रममा निर्मल शर्मासँग सम्पर्क भएपछि मैले तितोसत्यमा खेल्ने मौका पाएँ।’ अभिनय कलाकारसमेत रहेका उनले सुनाए। ‘२०६५ सालदेखि काठमाडांै नै बस्न थालें। त्यो बेला मलाई काठमाडांैमा बस्ने खाने व्यवस्था गर्न पनि एउटा घर बनाएसरह नै दुःख थियो। सरकारी जागिर खाएर लाइफ सेटल गरौं भन्ने सोच पनि आयो र सेनामा जागिरका लागि लागे। तर ८ पटकसम्मको परीक्षामा म फेल भए नवांै चोटी बल्ल तालिममा बोलाएको थियो तर द्वन्द्वकाल भएकाले मम्मीले जान दिनुभएन।


सेनामा जागिर भएको भए उनको जीवनले कुन मोड लिन्थ्यो भन्न सकिन्न। तर सेनामा जागिर नभएकै कारण उनको ध्यान फेरि गीतसंगीतमै मोडियो। काठमाडौं बसाइँका क्रममा उनले शुरूमा गायक तथा संगीतकार नरहरि प्रेमीसँग श्रुतीसंगीत विद्यालयमा संगीत सिक्न थाले। संगीत सिक्दै तितो सत्यको विभिन्न भूमिकामा खेल्ने काम पनि गरिरहे। ‘तितो सत्यमा केही नपाए पनि सानो रोलमै भए पनि अभिनय गर्नका लागि म घरदेखि काठमाडांै धाउँथे। मेरो लगाव देखेर दीपक दाइ दीपा दिदीले पछि राम्रो रोल दिनुभयो। दीपक दाइ र दीपा दिदीलाई थाहा थियो त्यस कारण तिहारमा हुने देउसीभैलो कार्यक्रममा लिड रोल नै मलाई दिनुहुन्थ्यो।

यसरी अगाडि बढ्दै जाँदा केही फिल्ममा अभिनय पनि गरें’ –कृष्णले भने। हाम्रो माया जुनी जुनीलाई, ब्रेक फेल, अन्दाजलगायतका फिल्ममा समेत खेलेर कृष्णले अभिनयको रहर पूरा गरे पनि उनको मुख्य कला भने गलामा थियो। ‘अहिले आएर मैले त्यो बेला कुन बाटोमा लाग्ने भन्ने सोच्न नसकेको कारणले पनि म अभिनयतिर लागेको रहेछु भन्ने लाग्छ’ –कृष्ण भन्छन्।

गीतसंगीतमा लागेर पैसा कमाउनुपर्छ भन्ने सोच कृष्णमा थिएन रे। शुरू–शुरूमा गीत रचना गरेर पनि पकेट खर्च निकाल्ने गरेको अनुभव शेयर गर्दै उनले भने– ‘यसमा लागेर टन्न पैसा कमाउनुपर्छ भनेर आएको भए सायद म पहिले नै यो क्षेत्रबाट पलायन भइसक्थें होला। तर आफ्नो मनले चाहेर गरेको विषयमा जे हुन्छ म आफैं भोग्न तयार छु भनेर आइपरेका दुःखलाई पनि हाँसी–हाँसी पचाउने बानी परिसकेको थियो।

गायक बन्छु भनेर बाहिरबाट काठमाडौं त आइन्छ तर बाहिरबाट हेरेकोजस्तो सजिलो पक्कै पनि छैन। तर केही गर्नको लागि आफूमै केही क्षमता हुनुपर्दोरहेछ। यो कुरा मैले आफूलाई अगाडि लैजाँदै गर्दा सिक्दै गएँ। म गायनमा लाग्ने बेलामा आफूले अलिकति लगानी गरेर गीत गाए पनि बाँकी पैसा कम्पनीले हालेर गीत निकालिदिन्थ्यो। त्यो बेला आधुनिक गीतका सीडी क्यासेट बिक्री हुन्थ्यो। तर मैले अलिकति पनि लगानी गर्न सकिन। किनभने म जिरो लेभलदेखि संगीतमा लागेको थिएँ।’

उनले थपे– ‘बढेको छोरो जागिर खाएर अथवा विदेश गएर कमाउनुपर्ने छोराले यो बाटो किन समातेको होला भन्ने सोच राख्नुहुन्थ्यो। त्यस कारण मैले लगानी गर्नको लागि शुरूमा घरबाट पनि सपोर्ट पाइनँ। आफैंले ५÷७ वर्ष मेहनत गर्दा पनि खासै प्रगति भएन।

त्यस बेला म टाढा–टाढासम्म हिँडेर गएको छु, कहिले साइकल चलाएर हिँडेको छु। दुःख गर्ने क्रममा मामाको होलसेलबाट कपडा पनि बेचेको छु। त्यो बेला आफ्नो व्यवस्था नभइन्जेलसम्म कहिले सानीमाकोमा कहिले मामाकोमा बस्थें। सपनालाई कसरी हुन्छ आफैंले पूरा गर्नुपर्छ आफ्नो लागि आफैंले गर्नुपर्छ भन्ने सोच आउँथ्यो।’ उनको संघर्षको कथा बाँकी नै थियो।

‘बीचमा म फस्ट्रेड भएँ र विदेशतिर जाउ कि भन्ने सोच पनि आयो। तर कुनै पनि क्षेत्रमा प्रगति गर्नका लागि जिरो लेभलदेखि नै शुरू गर्नुपर्ने हुन्छ। मैले गीतसंगीतकै लागि यत्रो समय यहाँ दुःख गरिसकें, पढ्छु भनेर काठमाडांै आएको म पढाइलाई पनि इन्टरभन्दा अगाडि बढाउन नसकेको कारण यसमा लाग्छु भनेर लागिरहें।’

आफ्नै रचनाको आँसुमा डुबाउन्न भन्थेउ बोलको गीतबाट गीत रेकर्डिङ शुरू गरेका उनले दयाराम दाहालको फिल्म दबाबमा समावेश तिम्रो पावरफुल बैसको झड्काले बोलको गीतबाट सिने गायनमा प्रवेश गरेका थिए। त्यसपछि लभ यु बाबा, छक्कापञ्जा, मंगलमलगायतका डेढ दर्जन फिल्मी गीतमा स्वर दिएका छन्। ‘यस क्रममा विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म लभ यु बाबा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा दर्ता हुँदा मैले यसको टाइटल गीतबाट पाश्र्वगायकको सर्टीफिकेट पाएँ। यसमा जोडिनु नै ठूलो कुरा थियो। त्यसैले मलाई निकै ठूलो उपलब्धि पाएको महसुस भएको थियो’ –कृष्णले खुसी र सन्तुष्टि व्यक्त गरे।

यस वर्ष फिल्म छक्कापञ्जाको देख न चम्पा बोलको गीतबाट कामना फिल्म अवाडर्सलगायत विभिन्न्न अवार्ड चुमिसकेका उनले २०७२ सालमा माया बस्यो जुनेली रातैमा बोलको गीतबाट म्युजिक खबर अवार्डमा उत्कृष्ट पप गायनको अवार्ड जितेका थिए। सँग–सँगै आफ्नो गीत लगातार हिट भइरहँदा कृष्ण भने मख्ख छन्। ‘अहिले मेरो गीत नसुन्ने कमै हुनुहुन्छ होला।

तर गीत सुने पनि यो गीत कसले गाएको हो भन्ने कमलाई थाहा छ। कृष्ण काफ्लेले गाएको भनेर ब्रान्ड बन्न बाँकी नै छ। तर मेरो स्टेज तताउने गीतहरू भएकाले देशदेखि विदेशसम्मका कार्यक्रम आयोजकहरूको नजरमा पर्छ। त्यस क्रममा मैले युरोप तथा गल्फ कन्ट्रिमा कार्यक्रम गरेको छु। नेपालकै पूर्वदेखि पश्चिमसम्मका महोत्सवमा गीत गाएको छु।

मलाई माया दर्शाउने दर्शकहरू देख्दा मलाई अझ राम्रो काम गर्ने इनर्जी आउँछ’, कृष्ण भन्छन्– ‘कलाकारलाई गीत गाएर हिट भएर मात्र पनि फाइदा छैन। मुख्य कुरा त कार्यक्रम पाउनु हो। विशेष गरी अहिलेको समयमा गायक र कलाकारहरू बाँच्ने भनेकै स्टेज कार्यक्रमबाट हो। अहिले यस्तै कार्यक्रमहरूबाट नै जीवन चलाइरहेको छु।’

कुनै बेला अभिनय गर्ने रहर पालेका उनमा यस्तो रहर अभैm जीवितै छ। भन्छन्– ‘म आप्mनै गीतको लिपसिङमा देखिँदा पनि धेरैले तपाईं आफैं खेल्नुपर्छ भन्नुहुन्छ। जसका कारण ५÷६ ओटा भिडियो खेलेर अहिले पनि रहर पूरा गर्दैछु।’

प्रतिक्रिया दिनुहोस्