आफूभित्रको झार उखेल



कमल ढकाल

गबजार, काठमाडौं भन्यो भने एकताका पद्मकन्या कलेज बढी चिनिन्थ्यो। बागबजारमा छु भनेर छोराले भन्यो भने बाबुआमाले ठान्थे लौ बिग्रियो छोरो केटीको पछि लाग्यो, भन्ने हुन्थ्यो। त्यो समयका स्लिम र सलक्क पेरका ती केटी र केटालाई समयले भ्यात्त भुँडी निस्केको भ्यागुताजस्तो बनायो। अनुहारमा चमक बोकेका केटीको अनुहार मुजा पर्यो।

त्यतिबेलाका कतिपय केटी त तीन पुस्ताबाट पनि माथि उक्लन लागिसके। चिरबिर–चिरबिर कराउने त्यो समयका केटीलाई तह लगाउने पद्मकन्याकी प्रिन्सिपल अंगुरबाबा जोशीको समयका कुरा गर्न खोजेको। अंगुरबाबाले पढाएका त बूढी हुन लागे भने अंगुरबाबा आफंै बुढ्यौलीमा नहुने कुरै भएन।

मान्छेले आफ्नो खेतको झार मरी–मरी उखेल्छ, तर आफ्नै झार भने उखेल्दैन। मान्छेको झारका रूपमा काम, क्रोध, लोभ, मोह, मद (घमण्ड),मात्सर्य (डाहा) हुन्छ। यही झारलाई मान्छेले उखेल्न नसकेकाले नै मान्छे दुःखी भएको उनको भनाइ थियो। यो झार उखेलेर मान्छेले आफूमा मानवीय गुण, क्षमाशीलता, आत्मासंयम, नचोर्ने, शरीर मन र वर्णमा पवित्रता, इन्द्रीय निग्रह, सत्य, निष्ठा र नरिसाउने फलफूल रोप्यो भने मान्छे सुखी हुने उनको भनाइ थियो।

 

पद्ककन्या क्याम्पसबाट पाँच मिनेटकै दूरीमा रहेको उनको घरमा गइयो। घरभरि कुकुर छन्।

बूढेसकालको साथी कुकुर हुन्छ राजधानीमा आजकाल धेरैको। अंगुरबाबा भने वृद्ध अवस्था त बूढेसकालको श्रीपेज रहेछ भन्छिन्। कागज र कलमको जिन्दगीभरको त्यो साथले उनलाई दिएको ज्ञान हो यो।

नकरात्मक सोच दुःखतिर लैजाने ढोका हो। सकारात्मक सोच सुखतिर लैजाने ढोका। मनलाई विचारबाट कन्ट्रोल गर्दै उनी यो उमेरमा शरीरमा दुःख भएको समयमा पनि ‘साह्रै आनन्दमा छु मु भन्छिन्। डिल्लीबजारमा हुर्केबढेकी अंगुरबाबालाई घरकाले लाटी गोज्याङ्ग्री भन्थे। काम गरेपछि नै मान्छे बाठो हुन्छ भन्ने उदाहरण बन्न सक्छ भन्ने उदाहरण उनी आफैं हुन्।

रजस्वला नभई बिहे गर्नुपर्छ भन्ने समाजकी अंगुरबाबाको बलराम जोशीसँग ११ वर्षकै उमेरमा बिहे भयो। आफूभन्दा ९ महिना मात्र जेठो केटासँग विवाह गर्दा उनी त नयाँ साथी भेटिएको जस्तै गरेर दंग परिन्। उनीहरूका दुई सन्तान पनि भए। छोरा किरण र छोरी ज्योती। श्रीमान्–श्रीमती म्याडम क्युरीको जस्तै वैज्ञानिकको जोडी भएर पढ्ने उनको सपना सेकेन्ड डिभिजन आएपछि खेर गयो। पढांै भने पनि त्रि–चन्द्र कलेजमा केटीलाई भर्ना लिइँदैनथ्यो।

मान्छेले आफ्नो समयलाई सुनौलो बनाउन सक्नुपर्छ। अंगुरबाबाले आफ्ना हरेक समय सुनौलो बनाएकी छिन्।चाहे पद्मकन्यामा प्रिन्सिपल हुँदा होस् वा तारा गाउँ विकास समितिको अध्यक्ष वा नेपाल महिला संघमा सक्रिय हुँदा। संरक्षक बनाउँदै उनले जीवनभर आफूलाई सक्रिय राखिन्।

२०१९ सालको इतिहास केलाउँदा उनी आफूलाई व्यापारी र समाजसेवी पाउँछिन्। नेपाल महिला संघमा हँुदा अंगुरबाबाले ५ सय रुपियाँको कपडाबाट महिलालाई व्यापार सिकाएकी थिइन्। रसियन दूध लाइन राखेर बेच्दा त्यतिबेला नेपाल महिला संघले १ करोड कमायो। त्यही पैसाबाट उनले ५ सय महिलालाई रोजगारी अनि रेस्टुराँ खोलेकी थिइन्। स्कुल फि पनि कतिपयको तिरिन्। १ हजार २ सयलाई प्रोढ शिक्षा चलाएकी अंगुरबाबाले लगभग सयलाई त एसएलसी पास नै गराइन्।

तारा गाउँ विकास समितिको अध्यक्ष बन्दा उनले पर्यटनमा ध्यान दिइन्। नेवारी आर्किटेक्चर अनुसार हायात होटेल बनाएकी अंगुरबाबाले शेर्पा गोरखा अनि योगा केन्द्र हुने गरी मिनी नेपालको अवधारणा ल्याएकी थिइन्। बेलायतको अक्सफोर्डदेखि नेपालसम्म पढेकी उनका कथा फरक–फरक मान्छेले फरक–फरक सुनेका होलान्। पढेरै आफूलाई परिवर्तन गर्नुपर्छ भन्ने अंगुरबाबाले ५ वटा किताब प्रकाशित गरेकी छन्।

बिहानैको समय अंगुरबाबाका लागि उपयुक्त समय हो मान्छेसँग गफ गर्नका लागि। उमेर र रोगले पनि उनलाई धेरै गफ गर्न दिएको छैन। एक घण्टा बढेर गफ गर्नलाई साह्रै गाह्रो हुन्छ। आफ्ना कुराले अरूले ज्ञान पाऊन् भनेर नै होला अप्ठ्यारोलाई छलेर आफूलाई सजिलो भएझैं गफिन्छिन्।

नयाँ–नयाँ सिर्जना मन पराउने उनी अहिलेकी आधुनिक युवतीले सोच्नेभन्दा बढी सोच्छिन्जस्तो लाग्ने गर्दछ। गार्गी, मैत्रेयीजस्ता विदूषीबाट प्रभावित बनेर नै होला नेपाली महिलालाई पनि त्यस्तै बनाउने सपना पालेकी छिन्। नेपाली महिलालाई वेदको महिलामैत्री व्याख्या गराउनका लागि अहिले उनले नयाँ काम गरेकी छन्। गार्गी कन्या गुरुकुल पहिलो गुरुकुल हो, जहाँ सबै नेपाली महिला वेद पाठ गरेका भेटिन्छन्। बहुआयामिक महिला सशक्तीकरणको प्रोजेक्टका रूपमा उनले यो प्रोजेक्टलाई चलाइरहेकी छन्।

औंलामा घाउ लाग्यो भने त रेस्ट गर्ने अधिकांश भएको यो समाजमा अंगुरबाबा एक असल उदाहरण हुन्। उनलाई ब्रेस्ट क्यान्सर छ, मुटुमा पेसमेकर राखिएको छ, मुख बाङ्गो भएको छ, तैपनि क्यान्सर एक वरदान भनेर लेख्छिन्। रोग लागेपछि मरिहालिन्छ, कसको लागि गर्नु भन्नेहरूको बीचमा उनी बिहानदेखि बेलुकासम्म आफ्नो समयको सदुपयोग गरेर बसेकी छन्। भन्छिन्– ‘मरिएछ भने एकैपटक मरियोस्, काम गर्न छाड्न हुँदैन।

पद, पैसा, पावर, प्रतिष्ठाबाट अलग हुन कोही सक्दैन। मान्छेले त्यसैलाई आनन्द सम्झन्छन्। सुखानुभूतिको उद्देश्य राखेर हिँडेको मान्छेको आनन्द फरक समयमा फरक हुनेरहेछ। यतिबेला चित्तसुद्धीका लागि दान गर्नु जति आनन्द अंगुरबाबालाई केही छैन। जिन्दगीभर मरेर काम गरेकी अंगुरबाबा आफ्नो देश नराम्रो भइरहेको देखेर एकदम दुःखी छन्। मर्ने बेलामा आफ्नो देश राम्रो देख्न पाउने उनको धोको अपूरो नै होला जस्तो लाग्छ। भन्छिन्– ‘नैतिकताको ह्रास यति भयो कि मान्छेले जेमा पनि आफूलाई हेर्न थाल्यो।

मान्छेले आफ्नो खेतको झार मरी–मरी उखेल्छ, तर आफ्नै झार भने उखेल्दैन। मान्छेको झारका रूपमा काम, क्रोध, लोभ, मोह, मद (घमण्ड),मात्सर्य (डाहा) हुन्छ। यही झारलाई मान्छेले उखेल्न नसकेकाले नै मान्छे दुःखी भएको उनको भनाइ थियो। यो झार उखेलेर मान्छेले आफूमा मानवीय गुण, क्षमाशीलता, आत्मासंयम, नचोर्ने, शरीर मन र वर्णमा पवित्रता, इन्द्रीय निग्रह, सत्य, निष्ठा र नरिसाउने फलफूल रोप्यो भने मान्छे सुखी हुने उनको भनाइ थियो। कुराकानीका क्रममा उनमा आध्यात्मिक सोच एकदम बढेको पाइयो। आध्यात्मिकताले दिमागको चैतन्य विकास गर्छ। यसले नै मान्छेलाई आनन्द दिन्छ। उनमा भएको आनन्द यही नै थियो।

 

प्रतिक्रिया दिनुहोस्