बार्सिलोना पल्माससँग रोकियो



लन्डन, (एजेन्सी)
लस पल्माससँग बराबरीमा रोकिएपछि स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलोनाको दोस्रो स्थानमा रहेको एटलेटिको मेड्रिडसँग अंक भिन्नता साँघुरिएको छ।

बिहीबार राति भएको खेलमा शीर्ष स्थानको बार्सिलोना लस पल्माससँग १–१ गोलको बराबरीमा रोकिएको हो। खेलमा शुरुआती अग्रता भने बार्सिलोनाले लिएको थियो। लियोनल मेसीले २१औं मिनेटमा फ्रिकिकमा वालकै बीचबाट सानदार गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर उनको यो सिजनको २३औं गोलले बार्सिलोनालाई स्पष्ट तीन अंक दिलाउन सकेन।

जोनाथान कलेरीले दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गरेपछि रेलेगेसन क्षेत्रको पल्मासले घरेलु मैदानमा बार्सिलोनासँग अंक खोसेको थियो। बार्सिलोनाका लुकास डिग्नेले पेनाल्टी एरियामा बल हातले छोएपछि पल्मासले पेनाल्टी हान्ने अवसर पाएको थियो। २६ खेलबाट ६६ अंकका साथ शीर्ष स्थानमा रहेको बार्सिलोना दोस्रो स्थानको एट्लेटिको भन्दा ५ अंकले अगाडि छ। यी दुई टोलीबीच आइतबार भिडन्त हुँदै छ।

सिटीको सहज जित
इंग्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबारको खेलमा लिगको शीर्ष टोली म्यानचेस्टर सिटीले सहज जित आत्मसात गरेको छ। प्रिमियर लिगको उपाधि यात्रालाई थप बलियो बनाउने क्रममा सिटीले आर्सेनललाई ३–० गोल अन्तरले पराजित गरेको हो। आर्सेनललाई उसैको मैदानमा पराजित गर्न सिटीले तीनै गोल पहिलो हाफमा गरेको थियो। जितपछि २८ खेलबाट ७५ अंक जोडेको सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडमाथि १६ अंकको अग्रता बनाएको छ।

१५औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। यसैगरी डेभिड सिल्भाले २८औं मिनेटमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे। यस्तै लिरोए सानेले ३३औं मिनेटमा गोल गर्दै पहिलो हाफको अन्त्यसम्म सिटीलाई ३–० को सहज अवस्थामा पुर्याए।

प्रतिक्रिया दिनुहोस्