अब प्यूठानमा बिद्युतको महशुल घरबाटै



सलीम अन्सारी, प्युठान ।
नेपाल विद्युत प्राधिकरण प्यूठान शाखाले बिजुलीको महशुल तिर्न महशुल काउण्टर धाउनैपर्ने बाध्यताको अन्त्य गर्दै अनलाईन भुक्तानी प्रणाली शुरु गरेको छ ।

बिजुली महशुल भन्दा बढी रकम खर्च गरेर कतिपय ठाउँमा बिल तिर्न उपभोक्ताहरू जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै प्राधिकरणले गत मंगलवारदेखि प्यूठानमा मोबाइल तथा वेबबाट बिद्युत महशुल भुक्तानी सेवा शुरु गरेको हो ।

डिजिटल वालेट इसेवा, सिटी एक्स्प्रेस, इनभेष्टमेण्ट बैंक, प्रभु बैंक लगायतबाट विजुलीको महशुल घरबाटै अनलाइन भुक्तानी गर्न सकिने नेपाल विद्युत प्राधिकरण प्यूठान शाखाका प्रमुख रमेश बन्जाडेले जानकारी दिनुभयो ।

दुई दशक अघिदेखि प्यूठानमा विद्युत बितरण कार्य गर्दै आएको विद्युत प्राधिकरणका करिव १९ हजार ५०० ग्राहक रहेका छन् । प्राधिकरणले महशुल भुक्तानीका लागि जुम्रि र खलंगामा स्थायी काउण्टर र बाहने, भिंग्री, मच्छीमा अस्थायी काउण्टर राखेको नेपाल विद्युत प्राधिकरणका मिटर रिडर राममणि रिजालले जानकारी दिनुभयो ।

विद्युत महशुल भुक्तानीका लागि ग्राहकले महशुल भन्दा कैयौ गुणा बढि रकम खर्च गर्नुपर्ने बाध्यता अनलाइन भुक्तानीका कारण अन्त्य भएको बताइएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रत्येक ग्राहकले आफ्नै मोबाइल, बैंक खाता र नजिकै रहेका सेवाप्रदायकका काउन्टरबाट भुक्तानी गर्नसक्ने व्यवस्था भएबाट प्राधिकरणको काउन्टरसम्म सयौ रुपैया खर्च गरेर पुग्नुपर्ने समुक्ती मिल्ने विश्वास गरिएको छ ।

विद्युत महसुल भुक्तानीको लागि स्वीकृत पाएको ईसेवा प्यूठानका कार्यालय प्रमुख प्रदिपकुमार श्रेष्ठका अनुसार प्राधिकरणको ग्राहकसँग भएको बैंक खाता, ईसेवा खाता वा दुवै नभएमा नजिकै भएको ईसेवा एजेन्टको बाट निशुल्क भुक्तानी गर्नसक्ने छन्।
ग्राहकले ग्राहकको कोड नम्वर लिएपछि सोही आधारमा ग्राहकको महशुल कम्प्युटर सिष्टमले देखाउने र सोही आधारमा भुक्तानी गर्न सकिने इसेवा प्यूठानका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

उनका अनुसार ईसेवामा हुने विद्युत महसुल बटममा क्ल्लिक गरेपछि त्यसमा ग्राहक नम्बर थिच्नेवित्तिकै ग्राहकको नाम, तिर्नपर्ने बक्यौता आउने र त्यही अनुसार ईसेवा अथवा बैंक खाताबाट प्राधिकरणको खातामा पैसा जाने छ ।

प्रतिक्रिया दिनुहोस्