बहाना होली चाहना अर्कै



रङहरूको पर्व अर्थात् फागु पूर्णिमा याने होली। आ–आफ्नै शैली र ढंगमा खेलिने⁄मनाइने यो पर्वले मुलुकका बहुसंख्यक जाति, वर्ग र समुदायलाई समेट्ने गर्छ। हुन त अहिले फागु पूर्णिमा बदलिएर आधुनिक होली बनेको छ। यसले शहरबजार छपक्कै छोप्ने गरेको छ। अनेकथरि रंग, पानी र इनामेल मिश्रण गरिएका अनुहार शहरबजारमा यसपटक पनि बाक्लै देखिए।

झनै बाक्लै थिए, तिघ्रा र पिँडुला प्रदर्शन गर्दै सडकमा उत्रिएका अर्धनग्नहरू। जानै लागेको जाडोलाई च्यालेन्ज गर्दै नाम मात्रैको हाफपेन्टमा तिघ्रा र पिँडुला प्रदर्शनमा उत्रिएकाहरु विदेशी पो हुन् कि भन्ने धरहरालाई लाग्यो। जिउडाल राम्रो नियालेपछि पो थाहा भयो, उनीहरु त स्वदेशकै हावापानीमै हुर्केकाहरु रहेछन्। अनुहार नचिनिने गरी अनेकथरि रंग पोतेपछि तिघ्रा र पिँडुला प्रर्दशन गर्न उनलाई के को लाज र ?

हिउँदयाम शुरू भएपछि लामो समयसम्म अर्धनग्न जिउडाल शहर बजारमा नदेखिएकाले होला, होलीको बहाना गर्दै चोक बजारमा निस्किएकाहरुको ध्यानचित्त भने अर्धनग्नहरूतिरै थियो। खुला फर्माइस्, खुला अवसर, कसैले केही भन्न नसक्ने होलीको एकदिने स्वतन्त्रता। जताजता अर्धनग्नहरू उतैउतै उनीहरू। त्यति मात्रै कहाँ हो र, आफूलाई अहिलेसम्म पनि चल्तापुर्जा युवा सम्झिने बयस्कहरुको नजरसमेत उतै देखिन्थ्यो। घरमा नानीका आमालाई यो र त्यो बहाना बनाएर वसन्तपुर र अन्य जमघटतिर देखिएका बयस्क तन्नेरीको ग्याङले राम्रै दृश्यपान गर्यो। आफ्ना छोरीचेली पनि सडकमा छन् कि भन्नेचाहिँ उनीहरुले राम्रैसँग बिर्सिया जस्तो धरहरालाई लाग्यो।

प्रतिक्रिया दिनुहोस्