टेबुलटेनिसमा छाएका युवा स्यान्टु



फिरोज राजोपाध्याय

गत साता सम्पन्न हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगितामा स्यान्टु श्रेष्ठ पुरुष सिंगल्सतर्फ उपाधि जितेर नेपाली टेबलटेनिसमा छाइरहेका छन्। नेपाली टेबलटेनिसमा महारथी भन्नेहरु पनि उनका सामु कमजोर बनिरहेको छ। उमेरको हिसाबले समेत स्यान्टु सानै छन्। तर पनि उनको टेबलटेनिसमा एकछत्र राज हुँदै छ। यसको उदाहरण ठमेल ओपन टेबलटेनिस र राखेप च्याम्पियनसिप टेबलटेनिसमा उनले उपाधि जित्नु हो।

गएको पुसमा भएको राखेप च्याम्पियनसिपअन्तर्गत ३९औं हुवावेइ राष्ट्रिय टेबलटेनिसमा स्यान्टुले स्वर्ण जितेका थिए। उनले फाइनलमा विनेस खनियाँलाई ११–५, ११–४, ११–९, ११–९ ले हराएका थिए। यो उनको लगातार दोस्रो उपाधिसमेत हो भने डबल्समा पनि उनले उपाधि जिते। यससँगै उनले आफूलाई नेपाली टेबलटेनिस नयाँ सुपरस्टारका रुपमा उभ्याएका छन्।

नेपाल प्रहरी क्लबसँग आबद्ध स्यान्टुको सफलता गत सातौं राष्ट्रिय खेलकुदबाट श्रीगणेश भएको थियो। उनी १६ वर्षको उमेरमै राष्ट्रिय च्याम्पियन बनेका हुन्। पूर्वाञ्चलमा गत वर्ष सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा उनले टेबलटेनिसअन्तर्गत पुरुष सिंगल्समा स्वर्ण पदक जितेका थिए। उनले त्यतिबेला फाइनल खेलमा एपीएफका शिवसुन्दर गोथेलाई १२–१०, ११–७, ८–११, ११–४, ५–११, ११–९ ले हराएर स्वर्ण पदक हात पार्न सफल भएका थिए।

यसै खेलकुदमा उनले सेमीफाइनल खेलमा तीन पटकका राष्ट्रिय च्याम्पियन प्रहरीकै दीप साउनलाई हराएर सनसनी मच्चाएका थिए। यो खेल जितेपछि नै उमेरले उपाधि जित्न कठिनाइ नहुने मनमा लागेको पनि उनले त्यतिबेला बताएका थिए। नभन्दै उनले फाइनलमा समेत गोथेलाई ४–२ ले हराएर राष्ट्रिय च्याम्पियन बने। यो उनको पहिलो राष्ट्रिय प्रतियोगितासमेत थियो।

यस्तै स्यान्टुले अर्को कीर्तिमान पनि राखेका छन्। योचाहिँ ठमेल ओपनमा राखेका हुन्। उनले एकै दिन पाँच खेल जितेर नेपाली टेबलटेनिसमा नौलो कीर्तिमान रचे। सुपर लिगमा १२ खेलाडी थिए। स्यान्टुले आफ्ना ११ प्रतिद्वन्द्वीलाई हराएर अपराजेयसमेत भएका थिए। उनले एकै दिन पाँच खेलाडीलाई हराउने क्रममा नेपाली सेनाका चन्दन शाहीलाई ३–० ले हराए। त्यस्तै एपीएफका खेलाडीद्वय शिवसुन्दर गोथे र अमरलाल मल्ल, प्रहरीका खेलाडीद्वय प्रदीप रोका र दीप साउनलाई समान ३–१ ले पन्छाएर उनले कीर्तिमान राखे। स्यान्टुले फाइनलमा दीप साउनसँग पहिलो सेट ७–११ ले पछि परे पनि त्यसपछि १३–११, ११–३, ११–९ र ११–९ ले सेट आफ्नो पक्षमा पारेर उनले आफूलाई अब्बल नै ठहराए।

स्यान्टुको लक्ष्य आगामी मार्चमा काठमाडौंमा हुने दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने हो। उनले यसका लागि कडा मेहनत गरेका पनि छन्। यस विषयमा नेपाली प्रशिक्षक र पूर्वटेबलटेनिस खेलाडी धर्ममान वज्राचार्यले स्यान्टुको खेलबाट आफू प्रभावित भएको बताएका छन्। उनले सानो उमेरमै उपाधि जित्नु र राष्ट्रिय च्याम्पियन बन्नु भनेको आगामी दिनमा उनीबाट धेरै आशा गर्न सक्ने बताए। वज्राचार्यले बताए– ‘सागमा स्यान्टुले स्वर्ण जित्न सक्नेछन्। उनको सबै विधामा दख्खल छ। तर अलि फास्ट देखिएन। तापनि विदेशमा प्रशिक्षण गराएर केही उपलब्धि हासिल हुन्छ भन्ने मलाई लाग्छ।’

प्रतिक्रिया दिनुहोस्