नेयमार विश्वकपसम्म स्वस्थ हुने



लन्डन, (एजेन्सी)
ब्राजिली स्ट्राइकर नेयमारले यसै शनिबार खुट्टाको शल्यक्रिया गराउने भएका छन्। गत आइतबार फ्रेन्च लिग वानको खेलमा मार्सेलीविरुद्ध जित निकाल्दा नेयमारको मेटाटर्सल चर्केको कारण मैदानबाहिर जानुपरेको थियो। ब्राजिली टिम डाक्टर रोड्रिगो लास्मारले उनी तीन महिना खेलबाट बाहिरिने पक्का गरेकाले पनि नेयमार विश्वकपसम्म स्वस्थ हुने हो होइन संदिग्धसमेत भएको जनाएको छ। तर ब्राजिली टिमले भने विश्वकपका लागि उनी स्वस्थ बन्ने आशा राखेको छ।

रसियामा हुने विश्वकपको मिति नजिकिँदै छ। जुनमा हुने विश्वकप सञ्चालन हुन चार महिना बाँकी छ। यसैले पनि ब्राजिली टिमले नेयमारले विश्वकप खेल्न सक्ने आशा राखेका हो। तर पेरिस सेन्ट जर्मेनका लागि भने नेयमार उपलब्ध हुने छैनन्। उनले आगामी साता हुने च्याम्पियन्स लिगअन्तर्गत रियल मेड्रिडविरुद्धको खेलसँगै अन्य खेलहरु पनि गुमाउने पक्का छ। उनले रियलविरुद्ध नतिजा उल्टाउने आशा गरेका थिए।

पीएसजीका प्रशिक्षक उनाइ एमेरीले रियल मेड्रिडविरुद्ध खेल्न सक्ने झिनो आशा बनाएका थिए। तर नेयमारका बुबाले ६ देखि ८ सातासम्म खेल्न नसक्ने भनेपछि एमेरी निरास भएको एजेन्सीले जनाएको थियो। नेयमारलाई कीर्तिमानी २० करोड पाउन्डमा बार्सिलोनाबाट यसै सिजनमा पेरिसमा आबद्ध गराएका थिए। नेयमारले पेरिसको क्लबका लागि ३० खेलमा २९ गोल गरिसकेका छन्। उनको क्लब फ्रेन्च लिगमा मोनाको भन्दा १४ अंकले अग्रता लिँदै शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्