भन्सार राजस्व लक्ष्यभन्दा कम



नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्षको सात महिना अवधिमा भन्सार राजस्व संकलन लक्ष्यभन्दा कम देखिएको छ। माघ मसान्ससम्म ४ दशमलव ६५ प्रतिशत कम राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ।

चालू आर्थिक वर्षको सात महिनाको अवधिमा भन्सार राजस्व १ खर्ब ६७ अर्व ७१ लाख ७५ हजार रुपियाँ पुगेको छ। यस अवधिसम्म विभागले १ खर्ब ७५ अर्व ८० करोड रुपियाँ बराबरको भन्सार राजस्व संकलन लक्ष्य लिएको थियो। संकलित राजस्व चालू आर्थिक वर्षको कुल लक्ष्यको ५१ दशमलव ४९ प्रतिशत हो।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा ३ खर्ब २५ अर्ब ७२ करोड ३० लाख ४१ हजार रुपियाँ भन्सारमार्फत् राजस्व संकलनको लक्ष्य लिइएको छ। जुन रकम गत आर्थिक वर्ष २ खर्ब ४६ अर्ब ४ करोड ९० लाख ८८ हजार रुपियाँ रहेको थियो। वार्षिक लक्ष्यमा सात महिना अवधिको भन्सार राजस्व योगदान ५१ दशमलव ४९ प्रतिशत र मासिक लक्ष्यमा ९४ दशमलव ८३ प्रतिशत रहेको छ।

उक्त राजस्व असुली गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा भने १२ दशमलव ७२ प्रतिशतले बढी हो। देशका विभिन्न २३ वटा भन्सार कार्यालयमार्फत् उक्त राजस्व रकम असुली भएको हो। भन्सार राजश्वले मुलुकको कुल राजस्वको ४४ प्रतिशत र कर राजस्वको ५० प्रतिशत प्रतिनिधित्व गर्छ। चालू आर्थिक वर्षको पहिलो महिनामा १३ वटा भन्सार कार्यालयले लक्ष्यभन्दा निकै कम राजस्व असुली गरेका छन्।

विभागको तथ्यांकअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपतिनगर, विराटनगर, राजविराज, वीरगन्ज, भैरहवा, सर्लाही, सिराहा, राजविराज, रसुवालगायत भन्सार कार्यालयले लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरेका छन्। लक्ष्यभन्दा बढी राजस्व संकलन गर्ने भन्सार कार्यालयमा मेची भन्सार कार्यालय, सुनसरी, कृष्णनगर भन्सार कार्यालय, कैलाली, नेपालगन्ज, जलेश्वर, राजापुर, महाकाली भन्सार कार्यालय रहेका छन्।

भन्सार प्रशासनले मूल्य अभिवृद्धि कर, भन्सार शुल्क र अन्तःशुल्क कर शीर्षकमा सो रकम असुली गरेको हो। माघ मसान्तसम्म भन्सार शुल्कमार्फत् ७४ अर्ब १५ करोड ६६ लाख ७७ हजार रुपियाँ संकलनको लक्ष्य राखिएकोमा ७२ अर्ब ५९ करोड ४८ लाख ४३ हजार रुपियाँ संकलन लक्ष्य राखिए पनि ८ अर्ब ७२ करोड १७ लाख १२ हजार रुपियाँमात्र संकलन भएको छ। भन्सार शुल्कमार्फत् संकलित राजस्वको वार्षिक लक्ष्यमा योगदान ५२ दशमलव ८६ प्रतिशत रहेको छ।

चालू आर्थिक वर्षमा भन्सार शुल्कमार्फत् वार्षिक १ खर्ब २७ अर्ब ६७ करोड ५६ लाख रुपियाँ संकलन लक्ष्य राखिएको छ। उक्त लक्ष्य गतवर्षको वार्षिक लक्ष्यभन्दा २० अर्ब २७ करोड रुपियाँले कम हो।

विभागले मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत् सो अवधिमा ७६ अर्व ७४ करोड २० लाख रुपियाँ संकलनको लक्ष्य राखिएकोमा ७१ अर्ब ३९ करोड ३२ लाख ४१ हजार रुपियाँ असुली गरेको छ। जुन रकम मूल्य अभिवृद्धि कर संकलनमा वार्षिक लक्ष्यको ५० दशमलव २४ प्रतिशतबराबर हो। विभागले चालू आर्थिक वर्षमा १ खर्ब ४२ अर्ब ११ करोड ४८ लाख २९ हजार रुपियाँ संकलनको लक्ष्य लिएको छ।

त्यसैगरी अन्तःशुल्क करमार्फत् ४६ अर्ब २८ करोड १० लाख २४ हजार वार्षिक लक्ष्य रहेकोमा माघ मसान्तसम्म २३ अर्ब ७२ करोड ९५ लाख रुपियाँ संकलन भएको छ। अन्तःशुल्कमार्फत् सात महिनामा संकलित राजस्वको योगदान वार्षिक लक्ष्यमा ५१ दशमलव २७ प्रतिशत हो भने माघ महिनासम्मको लक्ष्यमा ५ दशमलव शून्य ५ प्रतिशतले कम हो।

प्रतिक्रिया दिनुहोस्