मध्यमस्र्याङ्दीको मर्मत पूरा विद्युत् उत्पादन शुरू



काठमाडौं, (नेस)
मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रको बाँध तथा विद्युत् गृह मर्मत कार्य पूरा भएको छ। एक सातादेखि विद्युत् उत्पादन बन्द गरी मर्मत गरिएको उक्त केन्द्रबाट बिहीबार साँझ साढे ६ बजेदेखि ३५ मेगावाट विद्युत् उत्पादन भएको प्राधिकरणले जनाएको छ।

केन्द्रको बाँधको देब्रेतर्फको क्षेत्रमा भएको भूक्षयलाई रोक्न राखिएको संरचनाको मर्मत फागुन १० गते राती ११ बजेबाट विद्युत् उत्पादन बन्द गरी २४सैं घण्टा करिब साढे चार सय मजदुर र प्राविधिकले परिचालन गरी मर्मत शुरू भएको थियो। पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न ‘प्रोटेक्सन वाल’ लगाइको छ। केन्द्रले मर्मतको काम १७ फागुन बिहीबार राती ११ बजेसम्ममा सक्ने गरी भार प्रेषण केन्द्र (एलडीसी) बाट सट डाउन अनुमति पाएको थियो।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्थलगत निरीक्षण गरी तोकिएकै समयमा मर्मतको काम सक्न निर्देशन दिनु भएको थियो। ७० मेगावाट विद्युत् उत्पादन क्षमताको मध्यमस्र्याङ्दी बन्द हुँदा वैकल्पिक व्यवस्थाको रूपमा कुलेखानी चलाएर विद्युत् आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्