जिम्बाबेमा नेपाली क्रिकेटरको भाग्य परीक्षा



फिरोज राजोपाध्याय

मार्च ४ अर्थात् फागुन २० गतेदेखि जिम्बाबेमा हुने आईसीसी विश्वकप क्रिकेट क्वालिफायरमा नेपाली क्रिकेटरका लागि भाग्य परीक्षा हुनेछ। नेपाली टोलीले यसका लागि आफू तयार भएको पनि आभास गराइसकेको छ। मंगलबार भएको वार्मअप खेलमो संयुक्त अरब इमिरेट्स (यूएई) लाई ५ विकेटले हराएपछि नेपालले विपक्षी टोलीहरुलाई नेपाललाई हल्कारूपमा नलिन चेतावनी दिइसकेको पनि छ। नेपाल आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा दोस्रो स्थानमा रहेर क्वालिफायरका लागि छनोट भएको हो। नेपाल उपविजेता भएकाले वेस्ट इन्डिज र आयरल्यान्ड जस्ता सशक्त टोलीसँग खेल्नुबाट समेत बचेको छ।

जिम्बाबे जानुअघि नेपाली टोलीका कप्तान पारस खड्काले समेत ठूलो आशा राखेका छैनन्। उनले बताए– ‘हामीलाई छनोट हुन कठिन छ। हामीले राम्रो क्रिकेट खेल्ने हो। तर पनि हामीले सुपर सिक्समा पुग्ने र वानडेको स्ट्याटस लिने लक्ष्य लिएका छौं। टोलीमा नयाँ र पुरानोको मिश्रण छ। आशा गरौं हामी धेरै अगाडि जानेछौं।’

एकदिवसीय अन्तर्राष्ट्रिय (वानडे) मा शीर्ष आठमा रहेको टोलीले क्वालिफायर खेल्नु पर्दैन। यी आठ टोली अटोमेटिक छनोट भइसकेका छन्। यसैले पनि नवौंदेखि १२औं स्थानमा रहेको टोली वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड र अफगानिस्तानले क्वालिफायर खेल्न बाध्य भए। त्यस्तै आईसीसीसँग एसोसिएट रहेका टोली नेपाल, हङकङ, स्कटल्यान्ड, नेदरल्यान्डस्, पपुवा न्युगिनी र यूएईले ती चार टोलीसँगै क्वालिफायर खेल्नेछन्। यसैअन्तर्गत नेपाल समूह ‘बी’ मा परेको छ। नेपालका लागि समूहमा स्कटल्यान्ड र हङकङ आफ्नै स्तरका हुन्। तर, अफगानिस्तान र जिम्बाबे भने नेपालका लागि कठिन प्रतिद्वन्द्वी हुनेछन्। नेपालले पहिलो खेल टेस्ट मान्यता प्राप्त जिम्बाबेसँग खेल्नेछ। मार्च ४ मा हुने सो खेलमा नेपालले जित हात पार्न सकेमा नेपालको सुपर सिक्समा पुग्ने आशा बलियो हुनेछ। त्यसैले पनि नेपालले यो खेल जित्नै पर्ने दबाब छ। नेपालका लागि सबैभन्दा ठूलो तँगारो भनेको अफगानिस्तान हो।

अफगानिस्तानलाई पछिल्ला वर्षहरुमा कुनै पनि स्तरमा जित्न नेपाललाई अवसर जुटेको छैन। हाल अफगानिस्तानले धेरै प्रगति गरेको छ। यसैले पनि अफगानिस्तानले भारतसँग टेस्ट खेल्न लागिरहेको छ। अहिले अफगानिस्तानका बलर रसिद खान सबैभन्दा डरलाग्दो खेलाडी हुन सक्छन् नेपालका लागि। रसिद वानडेमा पहिलो नम्बरमा आएका छन्। इन्डियन प्रिमियर लिगमा समेत उनलाई ९ करोड भारुमा किन्नु पनि उनी नेपालका लागि कति बाधक हुनेछन् भन्ने अनुमान लगाउन सकिन्छ।

यस्तै हङकङले पनि हाल नेपाललाई हराइसकेको छ। हङकङले वानडे खेल्न पाइरहेकाले धेरै अनुभव बटुलिरहेको छ। नेपालका लागि भने लिस्ट ए टोलीसँगै मात्रै बढी खेलिरहेको हुँदा हङकङलाई हराउन टिमवर्कमै जानुपर्छ। एक खेलाडीमै टिक्ने हो भने नेपाल उँभो लाग्न सक्दैन। हालै मात्र पनि हङकङसँग खेलिएको डिभिजन–१ को खेलमा नेपालले हारेको थियो। यसअघि पनि सन् २०१४ मा न्युजिल्यान्डमा भएको विश्वकप क्वालिफायरमा पनि नेपाल हङकङसँग पराजित भएको थियो।

यस्तै स्कटल्यान्डसँग पनि नेपालले जित हात पार्न सकेको छैन। नेपालले स्कटल्यान्डसँग तीन खेल खेल्यो तर तीनै खेलमा नेपालले जित हात पार्न सकेन। तर, तीनैवटा खेलमा नेपाल पराजित भए पनि कहीं न कहीं नेपालले जित यसपटक हासिल गर्न सक्ने अनुमान लगाउन सकिन्छ। किनभने ती तीन खेलमध्ये एक खेलमा नेपाल जित निकट पुगेर पनि हारेको थियो। सन् २०१५ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत खेलमा नेपाल ३ रनले हारेको थियो। स्कटल्यान्डले २ सय ३५ रन बनाएकोमा नेपाल २ सय ३२ रनमै खुम्चिएको थियो।

यो प्रतियोगितापछि के हुन्छ ?

नेपालले यदि शीर्ष दुईमा स्थान हासिल गर्न सकेमा आगामी इंग्ल्यान्डमा हुने विश्वकप २०१९ मा खेल्न पाउनेछ। त्यसो त समूहमा शीर्ष तीनमा रहने टोली सुपर सिक्समा पुग्ने भएकाले पनि नेपालले त्यो मौका प्राप्त गर्ने धेरै सम्भावना छ। नेपालका नयाँ खेलाडीले पुराना अनुभवी खेलाडीले भन्दा राम्रो खेलिरहेकाले पनि हालका खेलहरुले प्रस्ट पारेको छ। यी नयाँ तथा युवा खेलाडीकै जिम्मा छ नेपालको क्रिकेटको भविष्य पनि।

नेपालले सुपर सिक्समा पुगेर वानडे स्ट्याटस पाएमा चार वर्ष ढुक्कसँग खेल्न पाउनेछ। नेपाललाई डिभिजनको चक्करमा पर्नुपर्दैन। अहिले नेपाल कहिले डिभिजन–२ मा झर्ने, कहिले डिभिजन–१ मा उक्लने र फेरि डिभिजन–२ मा झर्ने डरले सताइरहेको छ। यदि वानडे स्ट्याटस पाउने हो भने नेपालले वल्र्ड क्रिकेट लिग, इन्टरकन्टिनेन्टल लिग तथा भारत, अस्ट्रेलिया जस्ता टोलीसँग खेल्न पाउनेछ। तर, नेपालले जिम्बाबेमा खराब प्रदर्शन गरेर अन्तिम दुईमा परेमा भने फेरि डिभिजन–२ को बाटो लिन बाध्य हुनेछ।

प्रतिक्रिया दिनुहोस्