कुप्रथा न्यूनीकरणको बाटो पहिल्याऊ



नेपालका कतिपय स्थानमा अझै पनि बालविवाह, छाउपडी प्रथाजस्था कुप्रथा हट्न सकेका छैनन् । त्यसै गरी बोक्सीको आरोपमा कुटपिटका घटना पनि न्यूनीकरण हुन सकेको देखिँदैन । केही दिनअगाडि मात्र रौतहटको यमुनामाई गाउँपालिका–५ की ५० वर्षीया कान्तिदेवी ठाकुर हजामका दम्पती बोक्सीको आरोपमा छिमेकीबाट कुटिए । उनीहरुको गौर अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइएको छ । समाजमा यस्ता अन्धविश्वासी कुप्रथाहरुले सदियौंदेखि जरा गाडेर बसेको हुनाले सहजै यसलाई उन्मूलन गर्न नसकिए पनि न्यूनीकरण भने अवश्य गर्न सकिन्छ । यसका लागि जनचेतना जगाउनु नै पहिलो आवश्यकता हो ।

यतिखेर राजनीतिक हिसाबले मुलुकले धेरै कोल्टे फेरिसकेको छ । यसै सिलसिलामा समाजमा रहेका कुप्रथाहरुमा पनि न्यूनीकरण ल्याउनु जरुरी छ । यसका लागि स्थानीय जनप्रतिनिधिहरुले नै बढी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यस्ता कुप्रथाहरु जनचेतना एवं शिक्षाको कमी भएका स्थानहरुमा बढी देखिएका छन् । त्यसैले त्यहाँका स्कुले बालबालिकादेखि अभिभावकलाई समेत जनचेतना जगाउने खालका योजना अघि सार्नुपर्छ ।

यसै सिलसिलामा होलीको पूर्वसन्ध्यामा बुधबार दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेसहितको टोलीले जिल्ला सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयमा पुगेर उदाहरणीय कार्य गरेको छ । जिल्ला बालकल्याण समितिका अध्यक्षसमेत रहेका प्रजिअ न्यौपाने, जिल्ला प्रहरी प्रमुख, महिला विकास अधिकृतसहितको टोलीले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई बालविवाह एवं छाउपडी प्रथा न्यूनीकरणबारे विद्यालयमै पुगेर कार्यक्रमको आयोजना गरी जानकारी गराएको थियो ।

बालविवाह र छाउपडीका बारेमा धेरै कुरा थाहा पाएपछि बल्ल छात्रछात्राले खुलेर कुरा गरेका थिए । १५ देखि १९ वर्ष उमेर समूहका ५० भन्दा बढी सहभागी किशोरकिशोरीले ‘बालविवाह गर्दैनौं, छाउपडी बार्दैनौं’ भनेर प्रतिबद्धता जनाएका थिए । जिल्लाका अन्य विद्यालयमा पनि यस्ता कार्यक्रमको तय गरिएको बताइएको छ । यस्ता जनचेतनामूलक कार्यक्रमले समाजमा विद्यमान कुरीतिहरु न्यूनीकरण हुने अपेक्षा गर्न सकिन्छ ।

दैलेखमा जस्तै अन्य जिल्लामा पनि विद्यालयमा पुगेर छाउपडी, बोक्सी, भूतप्रेत आदिबारे जानकारी दिने र यो अन्धविश्वास हो भन्ने कुरामा विश्वस्त गराउन जरुरी छ । बरु स्थानीय जनप्रतिधिले समेत यसका लागि योजना बनाएर हरेक विद्यालयमा जनचेतनामूलक कार्यक्रमको अभियान नै चलाउनुपर्छ । यस्ता कार्यक्रममा अभिभावकहरुको समेत सहभागिता गराउनुपर्छ । अझ भन्ने हो भने, बालविवाह र छाउपडी प्रथाको विषयलाई किशोरकिशोरीले पढ्ने पाठ्यपुस्तकमा समेत अनिवार्यरुपमा समावेश गराउनुपर्छ । जबसम्म मुलुकमा बोक्सी प्रथा र छाउपडीजस्ता कुप्रथा कायम रहन्छन् तबसम्म मुलक अगाडि बढ्न सक्दैन । त्यसैले अबको प्रदेश सरकारले आफ्नो प्रदेशमा कायम रहेका कुप्रथा न्यूनीकरणका लागि बाटो पहिल्याउनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्