नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको नामांकन फर्जी हुन सक्ने



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि प्रस्तावित भएको समाचार फर्जी हुन सक्नेमा नोबेल पुरस्कार समितिले चिन्ता व्यक्त गरेको छ।

नर्वेस्थित उक्त समितिले यस सम्बन्धमा प्रहरीमा उजुरी दिएको छ। समाचारमा राष्ट्रपति ट्रम्पको नाम उनको ‘बलपूर्वक शान्तिको विचारधारा’का लागि एक अज्ञात अमेरिकीले प्रस्तावित गरेका हुन्। नोबेल संस्थानका निर्देशक ओलाभ नियालस्टेडले ट्रम्पको नाम दिएको कुरा झुठो हुन सक्नेमा चिन्ता व्यक्त गरेका थिए। उनले नर्वेको टेलिभिजन एनआरकेलाई ट्रम्पको नामाकरण फर्जी हो भन्ने तथ्यलाई मान्ने आफूहरूसँग ठोस कारण भएको बताएका छन्।

उनले भने– ‘सम्भवतः त्यसरी फर्जी नामांकन गत वर्ष पनि भएको थियो। नोबेल शान्ति पुरस्कारको नामांकन हरेक वर्ष जनवरी ३१ सम्ममा दिनुपर्नेछ र विजेताको घोषणा अक्टोबरको शुरुआतमा गरिनेछ।’

यसका लागि नाम अगाडि बढाउने अधिकार अत्यन्त सीमित व्यक्तिमा हुन्छ। नाम प्रस्ताव गर्न पाउने अधिकार प्राप्त व्यक्तिहरूमा संसद् तथा सरकारका सदस्य, पूर्वनोबेल विजेता र केही विश्वविद्यालय प्रोफेसर पर्छ।

सन् २००९ मा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई नोबेल शान्ति पुरस्कार प्राप्त भएको थियो। उनलाई यो पुरस्कार जनताबीच अन्तर्राष्ट्रिय कूटनीति र सहयोग बलियो बनाउने असाधारण प्रयास गरेकामा प्रदान गरिएको थियो।

सन् २०१२ मा नोबेल शान्ति पुरस्कार युरोपेली संघलाई स्वयंलाई युद्धको महाद्वीपबाट शान्तिको महाद्वीपमा रूपान्तरण गर्न सफल भएकामा प्रदान गरिएको थियो। सन् २०१७ को नोबेल शान्ति पुरस्कार परमाणु हतियार विरोधी समूह ‘इन्टरनेसनल क्याम्पेन टु अबोलिस न्युक्लियर वेपन्स’लाई प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्