किसानलाई गाडीभन्दा घोडाको भर



ह्रथुम, छथर गाउँपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएका छन् । अब हरेक वडाका गाउँ–गाउँसम्म सडक पुगेको छ । एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न सवारी साधनको अभाव छ, तर सडकको अभाव भने छैन ।

गाउँलेले आफैँ लगानी गरेर भए पनि सडक खनेका छन् । जिल्लामा अहिले पनि गाडी चढेरै धेरै वडा कार्यालयसम्म पुग्न सकिन्छ । उत्पादन गरेको कृषि उपज बजारसम्म पु¥याउन छथर गाउँपालिका–१, आङ्दिमका राजकुमार पन्त घोडा प्रयोग गर्नुहुन्छ । व्यावसायिक गाई फार्म सञ्चालन गरी दैनिक दूध बिक्री गर्दै आउनुभएका उहाँले आवश्यक पर्ने सामान आयात र दूध ढुवानीका लागि घोडाको प्रयोग गर्नुहुन्छ ।

पन्तले अहिले तीनवटा घोडा पाल्नुभएको छ । ढुवानीका लागि घोडा पालेको उहाँ बताउनुहुन्छ । सडकको पहुँच भए पनि गाडीभन्दा घोडा नै भरपर्दो भएको उहाँको भनाइ छ । “गाडीभन्दा घोडा सस्तो र भरपर्दो छ,” उहाँले भन्नुभयोे ।

पन्तले घोडामार्फत सामान र दूध ढुवानी गरेरै मासिक रु ४५ हजारभन्दा बढी आम्दानी गरिरहनुभएको छ । छथर गाउँपालिकामा पन्तजस्तै अरु धेरैले उत्पादन गरेको दूध ढुवानी गर्न घोडाको प्रयोग हुँदैआएको छ । किसानले ढुवानीका लागि सवारी साधनभन्दा भरपर्दो भएकाले घोडा खरिद गरेका हुन् । उनीहरुले दूध ढुवानीकै लागि सहकारी संस्थामार्फत घोडा खरिद गरेका छन् ।

“कच्ची सडक छन्, घोडा नै सबैभन्दा उत्तम छ”, पन्तले भन्नुभयो ।

घोडा प्रभावकारी साधन बनेको मार्गदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष टीकाराम बस्नेत बताउनुहुन्छ । सो सहकारीले गतवर्ष दूध ढुवानीकै लागि घोडा खरिद गरेको थियो । “सवारी साधन पर्याप्त छैनन्”, उहाँले भन्नुभयो, “वर्षात्का बेला त सवारी साधन नै चल्दैनन् ।” हैरानी खेप्दै आएका किसानका लागि घोडा नै उत्तम विकल्प छ ।

सुदापका काजीमान आँखेवा पनि दूध ढुवानी घोडामार्फत नै गर्नुहुन्छ । उक्त क्षेत्रका प्रायः किसानले व्यावसायिक रुपमा गाई–भैँसीपालन गर्दै आएका छन् । दूध ढुवानीका लागि उनीहरुले घोडा पाल्ने गरेका छन् । मच्छिन्द्र पशुपालन सहकारी संस्थाका अध्यक्षसमेत रहेका आँखेवा स्थानीय कृषि उत्पादन शुक्रबारे बजारसम्म ढुवानी गर्न घोडाको प्रयोग गर्दैआउनुभएको छ ।

जिल्ला दुग्ध उत्पादन संघका अध्यक्ष बुद्धिमान खुलालले वैदेशिक रोजगारबाट फर्किएका युवा गाई फार्म सञ्चालनमा लागेका बताउनुभयो । अहिलेसम्म छजनाले गाई फार्म दर्ता गरेका् जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।”
रासस

प्रतिक्रिया दिनुहोस्