गोल्डेनगेटलाई उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
गोल्डेनगेट इन्टरनेसनल कलेजले क्यारेबियन कप अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ।

पुल्चोक इन्जिनिएरिङ कलेजको मैदानमा भएको फाइनल खेलमा गोल्डेनगेटले पाटन बहुमुखी क्याम्पसलाई ६ विकेटले पराजित गर्यो। उपाधिसंगैं गोल्डेनगेटले १ लाख नगद पुरस्कार पाएको छ। पाटनले दिएको १ सय ८ रनको लक्ष्य गोल्डेनगेटले १२ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा भेटाएको हो। टोलीको जितमा म्यान अफ द म्याच जितेन्द्रसिंह ठकुरीले ५६ रनको योगदान दिए। बलिङतर्फ पाटनको लागि युवराज जोशीले दुई विकेट लिएका थिए।
यसअघि पहिले ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १ सय ७ रनको योगफल तयार गरेको थियो। टोलीका लागि सुवास धामीले ३४ रन र राजन चौधरीले ३२ रन जोडे। बलिङतर्फ गोल्डेनगेटका दिनेश अधिकारीले २ विकेट लिए।

क्यारेबियन कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा समावेश तीनै विधागत उपाधि गोल्डेनगेटका जितेन्द्रले हात पारे। जितेन्द्र ‘म्यान अफ द सिरिज’, उत्कृष्ट बलर तथा सर्वाधिक स्कोरकर्ता बने। उनले ब्याटिङतर्फ प्रतियोगिताभर २ सय ४१ रन बनाए। त्यसमा एक शतक पनि सामेल छ। बलिङमा उनले कूल ७ विकेट लिए। जितेन्द्रले ‘म्यान अफ द सिरिज’ का लागि १० हजार नगद पुरस्कार पाए भने बाँकी दुईका लागि समान ५–५ हजार नगद पुरस्कार प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्