१० करोड घोटालामा बैंकका शाखाप्रमुख पक्राउ



सरोज यादव, विराटनगर
राष्ट्रिय वाणिज्य बैंक सुक्खा बन्दरगाह शाखाका प्रमुख विष्णुप्रसाद निरौलालाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रिय वाणिज्य बैंकको विराटनगर भन्सार शाखामा १० करोड रुपियाँ घोटाला प्रकरणमा अनुसन्धानका लागि निरौलालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले निरौलालाई रानीस्थित क्षेत्रीय कार्यालयबाट पक्राउ गरेको मोरङका प्रहरी प्रमुख एसपी अरूणकुमार बीसीले जानकारी दिनुभयो।

‘घोटाला प्रकरणमा थप अनुसन्धान गर्न बैंकका प्रमुख निरौलालाई नियन्त्रणमा लिएको बताउँदै एसपी बीसीले थप अनुसन्धानपछि मात्र अरू कुरा भन्न सकिने जानकारी दिनुभयो। प्रहरीले यसअघि राष्ट्रिय वाणिज्य बैंक सुक्खा बन्दरगाह शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउतलाई १० करोड रुपियाँ हिनामिना गरेको अभियोगमा पक्राउ गरी बैकिङ कसूरअन्तर्गत मुद्दा चलाएको छ।

प्रहरीले राउतलाई पक्राउ गरेसँगै विराटनगर भन्सारका क्लियरिङ एजेन्ट सुरेश बोहरा र उनका प्रतिनिधि ललित बोहराका नाममा पक्राउ पुर्जीसमेत जारी गरेको छ। बोहोरा दुवैजना अहिले फरार छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

काउन्टरमा बोहरा दाजुभाइले राजस्ववापत् बुझाएका एकाउन्ट पे–चेकहरू क्लियरिङ हुन नसकेपछि घोटाला भएको खुलेको हो। मोरङ र सुनसरीका ठूला उद्योगका कच्चा पदार्थ एवं ठूला व्यावसायिक घरानाका व्यापारिक मालसामानको भन्सार क्लियरिङ गर्दै आएका बोहरा दाजुभाइले पटक–पटक र विभिन्न एकाउन्ट पे–चेकमार्फत् मालवस्तु छुटाएको तर खातामा रकम नभएका कारण ती चेकहरू क्लियरिङ हुन नसकेको हो। बोहरा दाजुभाइले केही रकम बुझाए पनि हाल ९ करोड ६१ लाख ५५ हजार रुपियाँ क्लियरिङ हुन सकेको छैन।

भन्सारको काउन्टरमा रहेका बैंकका कर्मचारीलाई खाजा खर्च भन्दै घूस दिँदै बोहरा दाजुभाइले खातामा रकम नभएको एकाउन्ट पे–चेकबाट काम चलाएका थिए।

प्रतिक्रिया दिनुहोस्