पूर्वमुख्यमन्त्री जयललिताको प्रतिमा विवादमा



नयाँदिल्ली, (एजेन्सी)
भारतको तमिलनाडु राज्यको सत्तारूढ पार्टीले पूर्वमुख्यमन्त्री जयललिताको पूर्ण कदको प्रतिमा परिवर्तन गर्ने भएको छ। अधिकांश व्यक्तिले सो प्रतिमा जयललिताजस्तो नदेखिएको भनी व्यापक गुनासो बढेपछि सरकारले यो कदम उठाउन लागेको हो। लोकप्रिय नेतृको सत्तरीऔं जन्म जयन्तीको उपलक्ष्यमा शनिबार विशेष कार्यक्रमबीच सो कांस्य मूर्ति अनावरण गरिएको थियो।

जयललिताको सन् २०१६ मा निधन भएको थियो। सामाजिक सञ्जालमा सो मूर्तिको तस्वीर भाइरल भएपछि जनताले निकै आक्रोस व्यक्त गरेका थिए। पार्टीका एकजना अधिकारीले बीबीसी हिन्दीलाई भनेका छन्– ‘म त्यो प्रतिमा देख्नासाथ स्तब्ध भएँ। त्यो हाम्री आमा जस्तै देखिँदैन, त्यो अनुहार उहाँकै होइन।’ तमिलका जनता उनलाई माया र सम्मानका साथ ‘आमा’ भनेर सम्मान गर्ने गर्दछन्। एआईएडीएमके पार्टीले सो प्रतिमा बनाउन कति पैसा खर्च गरेको खुलाएको छैन। जयललिता यस पार्टीका संस्थापक नेता हुन्।

तमिलनाडु सरकारका मन्त्री के पान्दियाराजनले बीबीसी हिन्दीलाई भनेका छन्– ‘अनुहारका केही आकृतिहरु मिलाएर त्यही प्रतिमालाई पुनः स्थापित गरिनेछ।’ यो प्रतिमा तमिलनाडुका मूर्तिकारले नभई छिमेकी राज्य आन्ध्र प्रदेशका कलाकारले बनाएको तथ्य सार्वजनिक भएपछि जनता थप आक्रोसित बनेका हुन्।

आफ्नो नाम नखुलाउने सर्तमा उक्त पार्टीका एक जना अधिकारीले बताएका छन्– ‘हामी प्रतिमा बनाउन राज्यबाहिर जानु नै आवश्यक थिएन। तमिलनाडुमै आठवटा चर्चित मूर्ति निर्माण केन्द्र छन्। भारतका अन्य भागका सबै मानिस यही मूर्ति बनाउन आउँछन्।’

प्रतिक्रिया दिनुहोस्