बालबालिका किच्ने नेताद्वारा समर्पण



नयाँदिल्ली, (एजेन्सी)
उत्तरी राज्य विहारमा नौ जना बालबालिकालाई सवारी साधनले किचेको अभियोग लागेका भारतको सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी)का एकजना स्थानीय नेताले बुधबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

प्रहरीले मनोज बैइठाले चलाएको भ्यानको ठक्करबाट ती बालबालिकाको ज्यान गएको बताएको छ। तर उनले सो अभियोग अस्वीकार गरेका छन्। पार्टीले उनलाई ६ वर्षका लागि निलम्बन गरेको छ।

शनिबारदेखि बैइठा फरार रहेको प्रहरीले जनाएको छ। विद्यार्थीहरुको समूहलाई उनको सवारी साधनले ठक्कर दिँदा कम्तीमा अन्य १० जना घाइते भएका छन्। सो दुर्घटना हुँदा सातदेखि तेह्र वर्षबीचका विद्यार्थीहरु विद्यालयबाट फर्कंदै गरेका थिए।

राजमार्गमा बाटो काट्दै गर्दा तिनीहरु किचिएका थिए। भारतीय सञ्चारमाध्यमले विद्यालयनजिक एक जना ६५ वर्षीया वृद्धालाई किचेपछि उनले सवारी साधनमाथि नियन्त्रण गुमाएको जनाएको छ। सोही दुर्घटनाको सिलसिलामा चोट लागेका बैइठाको हाल अस्पतालमा उपचार भइरहेको छ।

भाजपा शासित सो राज्यको विपक्षी पार्टीले घटनाका बेला उनी मातिएको अवस्थामा रहेको आरोप लगाएको छ। उपमुख्यमन्त्री सुशीलकुमार मोदीले प्रहरीलाई बैइठालाई हदैसम्मको कारबाही गर्न आदेश दिएका छन्।

प्रतिक्रिया दिनुहोस्